८ असार, सुर्खेत । नेकपा एमालेको प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यक्रममा सुर्खेतको वीरेन्द्रनगरमा जारी थियो । वीरेन्द्रनगरस्थित शुभ होटेलमा आयोजित कार्यक्रममा पार्टीका तीन उपाध्यक्ष र महासचिव सहितको टोली सहभागी भएको थियो ।
उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ र महासचिव शंकर पोखरेल कार्यक्रममा सहभागी भएका थिए । उनीहरू सोही समीक्षा कार्यक्रममा लागि आइतबार बेलुका नै सुर्खेत पुगेका थिए ।
सोमबार र मङ्गलवार दुई दिन पार्टीको जिल्ला र प्रदेश स्तरीय पदाधिकारी भेला बोलाइएको छ । सोमबार पहिलो दिन १० जिल्लाका ५–५ जना पदाधिकारी, प्रदेश कमिटीका ७ जना र २५ जना केन्द्रीय सदस्यसहित करिब ८० जना बढी नेताहरूको सहभागिता रहेको थियो ।
त्यसैक्रममा सोमबार बेलुकी ५ बजे उपाध्यक्ष पौडेलको मोबाइलमा घण्टी बज्यो । उनले फोन उठाए र लगत्तै हलबाहिर निस्किए ।
बाहिर जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) ठाकुरप्रसाद पोखरेलसहितको टोली उभिएको थियो । त्यहाँ पौडेल र उनीहरूबीच केहीबेर संवाद भयो ।

त्यहाँ रहेका एमाले नेताकार्यकर्ताले त्यसलाई असामान्य लिएनन् । ‘उहाँ देशको पूर्व उपप्रधान तथा अर्थ मन्त्री भइसकेको मान्छे । त्यसैले एसपीको टोली सामान्य भेटघाटका लागि आएको होला भन्ने हामीलाई लाग्यो,’ एमाले सुर्खेतका उपाध्यक्ष मोहनसिंह बडुवालले भने ।
त्यसपछि पौडेल हलभित्र पसे । महासचिव शंकर पोखरेलसँग केहीबेर कानेखुसी गरे । र, टेबलको डायरी बोकेर हलबाट महासचिव पोखरेलसहित बाहिर निस्किए ।
त्यहाँ त्यति गतिविधि चलिरहँदा हलमा जाजरकोटका नेताहरूले आफ्ना सल्लाह, सुझाव र गुनासा सुनाइरहेका थिए । तर, हलमा भएका कसैलाई पनि उपाध्यक्ष पौडेल पक्राउ पर्दैछन् भन्ने भनकसम्म पाएका थिएनन् ।
हलबाहिर फेरि महासचिव पोखरेल र पौडेलबीच पाँच मिनेट जति एक्लाएक्लै संवाद भयो । ‘उहाँहरू कुरा गरिरहँदा प्रहरी टोली त्यही प्रतीक्षा गरिरह्यो,’ एकजना प्रत्यक्षदर्शी नेताले भने, ‘त्यसपछि महासचिव पोखरेल हलमा पस्नुभयो, उपाध्यक्ष विष्णु कमरेड होटेलको कोठामा गएर झोला बोकेर आएर । चेक आउट गरेर निस्किनुभयो ।’
त्यसपछि उनी प्रहरीको भ्यानमा बसेपछि त्यहाँबाट हिँडाएको ती नेताले बताए । उनकाअनुसार त्यति बेलासम्म कसैले कुनै भनकसम्म पाएनन् ।
शीर्ष नेताहरूबीच खासखुस चलेपनि हलमा भएका अन्य नेताहरूलाई यसबारे कुनै पनि जानकारी दिइएन । ‘हामीले त उहाँ केही काम परेर प्रहरी भेटघाटका लागी जानुभएको होला नै भन्ने ठानेका थियौँ’, एक नेताले भने, ‘हामीले सुइँको समेत पाएनौं ।’

प्रहरी स्रोतका अनुसार, सोमबार दिउँसो मात्रै सम्पत्ति शुद्धीकरण विभागले पौडेललाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र पठाएको थियो । पत्र पाएलगतै प्रहरी र गुप्तचरको एउटा टोली शुभ होटेलमा पुगेको थियो ।
उक्त टोलीले होटेलको वस्तुस्थिति बुझेर पठायो । त्यसलगतै पोखरेलको कमान्डमा खटिएको १० जनाको टोली पौडेललाई पक्राउ गर्न खटिएको थियो ।
कार्यक्रम प्रभावित हुनसक्ने भएकाले पौडेलले पनि चुपचाप गिरफ्तारी दिएको हुनसक्ने एमाले कर्णाली प्रदेशकी सह–सचिव पद्मा खड्काले बताइन् । ‘हामी पनि कार्यक्रमस्थलमै थियौँ । त्यहाँ जिल्लाका नेताहरूले आफ्ना भनाइ राखिरहनु भएको थियो । उपाध्यक्ष कमरेड चुपचाप पक्राउ परिसक्नु भएछ । हामीले त पछि समाचार पढेपछि थाहा पायौँ’, उनले भनिन् ।
प्रतिक्रिया 4