+
+
Shares

पाँच दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमवासीलाई सरकारको निर्देशन

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले पाँच दिनभित्र सरकारले दिने भनेको २५ हजार रुपैयाँ लिएर होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १५:२२

९ असार, काठमाडौं । सरकारले सबै होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई सरकारले दिने भनेको सेवा–सुविधा लिएर पाँच दिनभित्र बसेको स्थान खाली गर्न निर्देशन दिएको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले पाँच दिनभित्र सरकारले दिने भनेको २५ हजार रुपैयाँ लिएर होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको हो ।

‘सरकारले सुरुमा एकमुष्ट २५ हजारका दरले पैसा दिने, त्यसपछि मासिक १५ हजार दिने भनिसकेको छ,’ सूचना अधिकारी टोपबहादुर बानियाँले भने, ‘अब खाता खोलेर पाँच दिनभित्र उक्त रकम लिएर जान भन्ने निर्देशन भएको छ । यो मन्त्रीस्तरमा निर्णय भएर हामीले यसको व्यवस्थापन हेर्नेछौँ ।’

यस्तै त्यो विषयको सूचना सबै होल्डिङ सेन्टरहरूमा समेत टाँसिएको छ ।

यदि २५ हजार रुपैयाँ लिएर पनि जाने विकल्प नभएकाको हकमा अर्को निर्णय हुने उनले बताए । ‘सुरुमा अब यो प्रक्रियाबाट कतिजना जानुहुन्छ हेरौँ । त्यसपछि जाने उपाय नभएकाको लागि के गर्ने भन्नेबारे फेरी छलफल र अर्को निर्णय हुन्छ,’ उनले थपे ।

हालसम्म सबै होल्डिङ सेन्टरमा ३८८ घरपरिवार रहेका छन् । उनीहरूको स्क्रिनिङको काम सकिएको बानियाँले बताए । होल्डिङ सेन्टरमा नबसेका सुकुमवासीहरूको हकमा पनि रंगशालामा स्क्रीनिङको काम जारी रहेको छ ।

सुकुमवासी बस्ती भत्काएपछि सुकुमवासीको रूपमा आफ्नो नाम दर्ता गराउन आउनेको संख्या दुई हजार ६०८ जना रहेको थियो । त्यसमध्ये ३८८ जना होल्डिङ सेन्टरमा रहेका छन् भने बाँकी बाहिर आफैँ व्यवस्थापन गरेर बसेका छन् ।

‘हामीले दिने भनेको सुविधा बाहिर रहेको वा होल्डिङ सेन्टरभित्र रहेका सबै वास्तविक सुकुमवासीलाई हो । अब होल्डिङ सेन्टरमा रहेकाहरू पनि सरकारको सुविधा लिएर स्व–व्यवस्थापन गर्नुहुन्छ भन्ने अपेक्षा छ,’ बाँनियाले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?