९ असार, काठमाडौं । कञ्चनपुरका दुई खाद्य उद्योगलाई सरकारी टोलीले सिलबन्दी गरेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीले गरेको बजार अनुगमन क्रममा अनुमतिविना र अस्वच्छ ढंगले सञ्चालन भएको पाइएपछि ती उद्योगमा ताला लगाइएको हो ।
अनुगमन क्रममा झन्डै ६० हजार रुपैयाँ बराबरको गुणस्तरहीन पेय पदार्थ र अखाद्य वस्तुसमेत बरामद गरी नष्ट गरिएको छ ।
कार्यालयका अनुसार दोधारा चाँदनी-८ स्थित लक्ष्मी जुस एन्ड खड्का बेभरेज इन्डस्ट्रिज र भीमदत्त-१२ स्थित तिलक फुड्सलाई सिलबन्दी गरी उत्पादनमा रोक लगाइएको छ ।
यी दुवै उद्योगले खाद्य अनुज्ञापत्र (अनुमति) नलिई प्लास्टिक पाउचमा ‘फ्लेभर्ड ड्रिंक’ उत्पादन गरिरहेको भेटिएको थियो । लक्ष्मी जुसबाट २१ हजार ५ सय र तिलक फुड्सबाट ३७ हजार ५ सय रुपैयाँ बराबरको कुल ११ हजार ८ सय प्याकेट पेय पदार्थ नष्ट गरिएको छ ।
अखबारमा केक बनाउने बेकरीलाई कारबाही
यस्तै दोधारा चाँदनी-८ मा रहेको कल्पना बेकरी उद्योगले स्वास्थ्यका लागि हानिकारक मानिने पत्रपत्रिका (न्युजप्रिन्ट) मा राखेर केक तयार गर्ने गरेको पाइएको छ ।
अनुगमन टोलीले त्यहाँ तयार पारिएको १२ किलो केक तत्कालै नष्ट गरिदिएको छ । उक्त बेकरीलाई सरसफाइमा सुधार गर्न र उत्पादकको दायित्व पूरा गर्न कडा निर्देशन दिइएको छ ।
त्यस्तै दोधारा चाँदनी-९ स्थित शितल ग्रुपले पिउने पानीका लागि पुराना र कुच्चिएका जार प्रयोग गरेको पाइएको छ । विभागले उक्त उद्योगलाई सरसफाइमा ध्यान दिन र मापदण्ड पालना गर्न सचेत गराएको छ ।
प्रतिक्रिया 4