यो ब्लग स्थानीय जातको गाई खोज्दाको सन्दर्भमा आधारित छ। पशुपालनको कुरा गर्दा अधिकांश मानिसलाई ‘उन्नत जात’ को पशुपालनमा रुचि हुन्छ; जस्तो कि गाई भन्नेबित्तिकै जर्सी वा होलिस्टिन जस्ता जातको, जसको दूध धेरै होस्। तर, माटोलाई जीवन्त बनाउने हाम्रो जस्तो वातावरणीय (पारिस्थितिक) खेतीका लागि भने यो कथा बिल्कुलै फरक छ।
बिरुवाले माटोबाट आफैं खाना खाँदैन, यसलाई चम्चा चाहिन्छ। त्यो भनेको जीवन्त माटोमा पाइने सूक्ष्म जीव। कथित उन्नत र विकासे भनिएका जर्सी गाई लगायतको मलमूत्रमा माटोमा यस्ता जीव विकास गर्ने क्षमता कम हुन्छ।
अर्कोतर्फ, माटोमा युरिया, डीएपी लगायत रसायन प्रयोग गर्दा पनि माटोमा भएका यी साना जीवहरू मासिने हुन्छन्, अर्थात् माटो मृत बन्दै जान्छ। माटोलाई जिउँदो राख्न, पुनर्जीवन दिन लोकल गाईको मलमूत्र एक अचूक माध्यम हो। यसको प्रयोगले माटोमा ती सूक्ष्म जीव- जसले माटोलाई जिउँदो राख्दै बिरुवालाई खाना खुवाउन मद्दत गर्छन्, विकास गराउँछ र यो प्रक्रिया सदा-सदाका लागि सुरक्षित समेत गर्दछ। यसै कारण हामीले पाल्नका लागि स्थानीय जातको गाई नै रोजेका हौं।
अब लागौं गाईको खोजीतिर।
एक महिनादेखि ‘छहारी’ मा (हाम्रो फार्मको नाम) बसेकी मार्गरिता शहर गई। मार्गरिता फर्केसँगै छहारीमा कनीकनी अङ्ग्रेजी बोल्नुपर्ने बाध्यता सकिएको छ। कटारीबाट आउने ‘गोल्डेन गुगल’ मा उसलाई पठाएर काउछे चोकमा एक-एक कप चिया खाँदै गर्दा प्रदीपजीले आजको काम शुरु गरे, ‘यता स्थानीय गाई कता पाइन्छ ?’
मानौं, प्रश्न पूर्वअनुमानित जस्तो सबैले एकसाथ उत्तर दिए, ‘कहाँबाट पाउनु ? यता त पाइँदैन नि !’ सबैले लोकल गाईको साटो गाउँमै पाइने र दूध पनि धेरै दिने ‘जर्सी’ ल्याउन सुझाए। तर हामीलाई लोकल नै चाहियो।
‘कता पाइएला त ?’ भाइ उत्तर आएतिर अर्को प्रश्न फाल्छन्।
खाँदै गरेको चियाको गिलास टेबुलमा राख्दै एक व्यक्ति बोल्छन्, ‘खै, अब अहिले त कसैले पाल्दैनन्। तैपनि जानुस् न रतनपुर, चन्दनपुरतिर पाउन सकिन्छ।’
अब के चाहियो ? केटाहरू फिलिली पूर्व लागियो।
एक बसस्टपमा भेटिएका वृद्ध किसानको गोठमा उबेला गाईहरू कति हो कति ! असीभन्दा माथि नै हिउँद खपेका आफ्ना भृकुटी खुम्च्याउँदै उनी सम्झन्छन्- ‘गोठमा धेरै गाई थिए, बाको पालामा त झन् धेरै !’
उनका बाआमाले परलोक सुधारे, साथै आफ्नै दाजुभाइ पनि आ-आफ्नो मेलोमेसोमा लागे। घरखेत बाँडियो, गाईगोठ/वस्तु भाग लागे। बाले जमानामा ल्याएर रोपेका बोटबिरुवा पनि गोटागन्ती बाँडिए। अंश बाँडिंदा उनको भागमा २० गाई परे। यसरी खुम्चिएको उनको गाईवस्तु मिहिनेती श्रीमती र सन्तानहरूको हात बढेसँगै फेरि बढ्दै गयो।
हातको लौरो भुइँमा ठोक्दै उनी भन्छन्, ‘५० घटी त कहिल्यै भएनन्। कमला खोलाको बगरमा हाम्रो मात्रै सेता-काला गाईवस्तु परबाट हेर्दा समेत कमिलाको ताँती जस्तै लहरमा रहरलाग्दा देखिन्थे।’
यो जमानाको कुरा ! खेतीपातीसँगै सन्तानहरू बढ्दै, पढ्दै गए र धेरै सन्तानले थातथलो समेत छाड्दै गए। अहिले उनको घरमा गाई हुने टाढाकै कुरा, गोठ समेत मासिएको छ।
खेती गरेपछि पशुवस्तु चाहिन्छ नै। अझ हामी जस्तो रसायन र विषादी नराखी खेती गर्नेलाई पशुवस्तु नै नहुनु त झनै लाजै मर्नु हो। अन्ततः हाम्रो गोठमा गाई आउने भयो।
प्रदीपजी र म गाई किन्ने हेतु दोबाटो, चौबाटो, चिया पसल र गाई देखिएका घर सबैसँग सोध्दै र बोल्दै अगाडि लाग्यौं। एक त बाइकमा उनाउना (अपरिचित) केटाहरू गाई खोज्न हिंड्ने कुरा नमिल्दो।
अर्को, नदेखेका, नचिनेका केटाहरूले गाई लैजाने कुरा विश्वास गर्न नसकिने। सबैभन्दा नमिल्दो चाहिं मदन भण्डारी मूलबाटोमा को गाई बेच्न बस्ला ? तैपनि हाम्रो प्रयास जारी छ।
चन्दनपुर कटेपछि एक जना गाई खेद्दै गरेकी महिला देखिइन्। क्या गज्जब, ढुङ्गो खोज्दा देउता मिल्यो ! हामीले बाइक रोकेर उनीसामु गएर आफूलाई लोकल गाई चाहिएको छ, ‘बेच्नुहुन्छ ?’ भनेर सोध्दा उनले नबेच्ने भन्दै यो गाउँमा कसैले गाई नबेच्ने, बरु जर्सी भने कसै-कसैले बेच्छन् भन्ने सूचना दिइन्। उक्त ‘फ्री’को सूचनाका लागि ‘फ्री’कै नमस्ते गर्दै हामी अगाडि लाग्यौं।
बिहानै गाईबारे कुरा हुँदा कैलाली बस्ने गणेशजीले भने, ‘यता आऊ अनि लिएर जाऊ। सडकभरि गाईगोरु छन्, बाटोभरि, बजारभरि, जताततै छन्। त्यहाँ तिमीलाई खाँचो छ, यता हामीलाई सास्ती छ।’ हामी एकै तालमा हाँस्यौं। एक समयमा नेपालगन्जका मेयर धवलशमशेरको पालामा शायद नेपालगन्जका छाडा गाईगोरु सुर्खेतका वनमा लगेर छाडिएको थियो।
गणेशजी र मैले त्यो बेला यी छाडा गाईको बारेमा कुरा गरेका थियौं। यदि पारा मिल्दथ्यो भने यो असल नै हुनेथियो। हामीलाई गाई चाहिएको थियो, उता गाई यत्रतत्र, सर्वत्र ! खैर, यो अहिले सम्भव छैन। हामीलाई गाई खोज्नु नै छ। आज हामी जसरी पनि गाई खोजेर आउने विश्वासका साथ बाइकको कान बटार्दै अगाडि दौडाउँछौं।
करिब-करिब दश ठाउँ सोधेर हैरान हामीलाई एक जना मनकारी किसानले स्थानीय भेटेरिनरीवाला साथीको सम्पर्क नम्बर दिए। ‘गाउँभरिका पशुवस्तुका नाडी छामेका यी पशु डाक्टरले त पक्कै हाम्रा गाँठो फुकाउलान्’ लागेर मैले हतारिंदै-हतासिंदै उनको नम्बर लगाएँ। उनले ‘जर्सी गाई छ’ भने।
मैले हामीलाई जर्सी होइन, स्थानीय जातको गाई चाहिएको बताएपछि उनले पनि फोनमै धार्नीको टाउको हल्लाए। म निराश भएको बुझेका उनले ‘आफू गाउँ डुल्दा कतै भेटिए सम्पर्क गर्ने’ भन्दै फोन राखे। घाम उकालो लाग्दै छ। गर्मी त छ नै, यतिका बेलासम्म गाई नभेटिंदा मन खिन्न हुन थाल्यो।
कमला खोलाको पुल तरेपछि फेरि अर्को सानो पुल अगाडि मूल सडकको माथिल्लो भागमा सानासाना, सेताकाला, कुचाको मुख काटे जस्ता एकनासे पन्ध्र-बीस गाई देख्दा भने आफ्नै हराएको गाई भेटे जस्तो भयो। अन्दाजी ६५/७० का जस्ता देखिने मानिसछेउमै गएर ‘बा, गाई बेच्नुहुन्छ ?’ भन्दा पहिले त बाले हामीले लगाएको सेतो जुत्ता, लुगा हुँदै जुल्फीसम्म हेरे। अनि आफ्ना गाई हेर्दै भने, ‘नदिने, हुँदैन।’
यतिका बेलासम्म यतिका गाई नदेखेका हामीले सजिलै मान्ने कुरै थिएन। अतः प्रदीपजी उचावसहित बोले, ‘बुबा ! दिनू न, हामीलाई तीन गाई भए पुग्छ। एउटा दुहुना, अरू जे-जस्तो भए पनि हुन्छ।’
‘नाइँ, हुँदैन। तीन गाई छोरीलाई दिनु छ। अरू त आफैंलाई चाहिन्छ।’
बाले यति भनेपछि त्यहाँ बसिरहन मिलेन। आफूले माया गरेकी प्रेमिकाको विवाहको कुरा गर्न जाँदा परिवारले नमान्दाको हालत लिएर अररो हुँदै बाइकमा विराज भयौं।
आफू किसान हुँदै गएपछि किसानका दुःख छामिंदै छ। बाको किसानीलाई सघाउँदा यस्तो घत पर्दैन थियो। हामी छोराछोरी उही ‘बोक भारी, खा ढिंडो’ जस्ता ! बाँकी बा र बाको धर्मपत्नी जिन्दावाद। तैपनि थोरै भए पनि छिपछिपे यादहरू भने छन्।
उबेला हरेकजसो गाउँमा गाईभैंसी खोजिदिने मान्छे हुन्थे। तिनैमध्ये एक जना पाका उमेरका बा थिए। उनी पशुवस्तु खोजिदिने मात्र होइन, तिनको खेलोफड्को समेत गर्दथे। एकपटक उनको गोठमा देख्दै खाइलाग्दा एक हल गोरु आएछन्। ट्याक्टर नभएको ऊ जमानामा बलिया गोरु किन्नु, पाल्नु र जोत्नु सानको विषय हुन्थ्यो।
यसरी गाउँमा बलिया हल मिलेका गोरु आएपछि तिनलाई लिनेको ताँती नै हुनेभयो। यस्तैमा गाउँका एक किसान गए र गोरु किन्ने इच्छा गरेको बताए। व्यापारी बाले भने, ‘आँखा चाहिं हेर, मालको मोल देउ, अनि लैजाऊ नानी।’ गोरुको दाम भयो, दिनेको चित्त बुझ्यो, लिनेको मन खायो।
बगाल छोडाउने बेला व्यापारीले फेरि भने, ‘गोरु चित्त बुझेको छ नि ? आँखा चाहिं हेरेर लैजाऊ है नानी, फेरि पछि मन दुखाउला, ‘हुँदैन’ भनौला, फिर्ता त हुँदैन नि !’
व्यापारीले घरीघरी धम्क्याउँदा गोरु लैजाने किसानले आफ्नै शानमा घात गरेको मानेर सबै पैसा दिएर तुरुन्तै गोरु फुकाएर हिंडे। व्यापारीले बडो सावधानीका साथ पहिले एउटा गोरु अगाडि लगाए अनि अर्को। हिउँदको महिना, बेंसीमा कमाइ लागिसकेको थियो। गाउँमा भने पानी नपरेर खनजोत गर्ने बेला भएकै थिएन।
गोरु किनेपछि पनि किसानले लामो समय जोतेनन्। फागुनमा पानी लगाएर खेत जोत्न लैजाँदा किसान जिल खाए। एउटा गोरुले एउटा आँखा नदेख्ने हुँदा हललाई नै मेलो नआउँदो रै’छ। उनी आलीमा बसेर व्यापारीको भनाइ सम्झिरहे- ‘आँखा चाहिं हेरेर लैजाऊ है नानी, फेरि पछि मन दुखाउला, ‘हुँदैन’ भनौला, फिर्ता त हुँदैन नि !’
००० ०००
अलि अगाडि गएपछि गाईगोरुको बगाल भेटियो। गाईसाथै गोठाला पनि। तर यहाँ पनि उस्तै, उनले गाई दिएनन्। बरु उनले एउटा उपाय दिए। यसपछि हामीले एक जना बालाई भेट्यौं। धेरै जजमानी भएका यी बाको गाउँमा धार्मिक कार्य बढेसँगै गाई बढ्ने रै’छ। हरेक महिनाजसो एक-दुई जना बाटो लाग्दा एक-दुई गाई आउने पक्का हुँदा, उनी कुनै बेच्ने, कुनै कसैलाई पाल्न पनि दिने रै’छन्। यसैगरी उनले पाल्न दिएको गाई बेच्न खोजेपछि हामी उनलाई दुई भाइको माझमा बसाएर फिलिली अर्को बस्तीतिर हानियौं। बाले परागको रागसँगै आफ्नो वंश, धर्म, इमानबारे हामीलाई जानकारी दिंदै गए र हामी गाईगोठमा पुग्यौं।
तीन वर्षअगाडि पाल्न दिएको बाच्छो हुर्किएर कोरली भयो, बाली लाग्यो। अनि पहिलो बेतको दूध र बाछो गाई पाल्नेको भयो; यो दोस्रो बेत ब्याएपछि बोट नै पाल्न दिने बाजेको। स्थानीय गाई ठूलो हुने कुरै भएन। तर ब्याएको सात दिनमा पनि गाईको फाँचो छैन। बाच्छो पनि सानो छ।
‘दुहुनु गाई फार्ममा लैजाने, एक ढुङ्ग्रो दूध दुहुने अनि हातबाट चुहाउँदै खाने’ प्रदीप भाइको आत्म-आशामा धोका दियो। बाटैमा रहेका अरू दुई गाई पनि हेरेर पहिलो लैनो गाईको मोलमोलाइ गरेर छुट्टियौं।
तातो घाम टुप्पीमाथि छ। बिहानै खाएको चिया र खाजाले पालो खोज्दै छ। छहारीमा गएर खाना बनाउने जाँगर छैन। बीच बाटोमै झ्याप हान्ने सोचसहित ‘होटल शान्त’ पसियो। बिहानभरि गाई सबैतिर खोजियो। कमला खोलापारि साथीको घर छ।
साथीको ममी-बाबा खेतीपाती नै गर्ने हुँदा त्यता पो छ कि भन्ने ख्याल आयो। फोन लगाएर औपचारिकता टुङ्ग्याउँदै ‘स्थानीय जातको गाई चाहिएको’ कुरा राखें। साथीका बाले हाँस्दै भने, ‘बाबु ! सबै पाइएला, तर अहिले स्थानीय जातको गाई पाल्न र स्थानीय जातका केटाकेटी घरबार गर्न पाउन मुस्किल छ।’
दुवैको व्यवस्था आफैं गर्नुपर्छ भन्ने जवाफ आयो। प्रत्युत्तरमा रुन्चे हाँसो फाल्दै मैले फोन काटें।
पक्का हुने गरी गाई नभेटिएको हुँदा खाना खाए पनि मन शान्त छैन। हेटौंडा हुँदै सिन्धुली जाँदा बागमती, मरिण खोलाको बगरभरि नै गाईगोरु, राँगाभैंसी चरेको देखेको दृश्य पनि सम्झना आयो। प्रदीपजी र म उतै लाग्यौं।
बिहान पूर्वतिर जस्तै यता पनि भेटेजति सबैलाई सोध्दै अगाडि जाँदा धेरैजसोको उत्तर ‘होइन/छैन’ नै आउँदा हामी भने निराश थियौं। सिन्धुली माडी बजारबाट मदनभण्डारी राजमार्ग हुँदै भित्र लागेपछि हाम्रो पूर्ववत् कार्य शुरु भयो।
कमला खोला जस्तै मरिण खोलाभरि पनि कुनै समय असङ्ख्य गाईहरू हुन्थे। अहिले पनि छन् तर योभन्दा धेरै। ‘एक साल अनौठो रोग आयो, जसले भएभरका सबै गाईवस्तु लिएर गयो। त्यही सालबाट गाउँका गाईगोरु घटे’ भन्छन् ६५ वर्षीय किसान। एकसाथ धेरै घाटा भयो; एकातिर गोठ रित्तो, अर्कोतर्फ कमाइ लगाउने बेलामा जोत्ने गोरु नभएपछि किसान त झनै मारमा परे। देशभर यतिका गाईगोरु मरे, पिरैपिरमा किसानहरू जिउँदै मरे, सरकारले वास्तै गरेन !
छापमा पुगेर वरिपरि सोध्दा ‘पारि गाउँमा गाई पाउन सकिन्छ’ भन्ने कुरा आयो। माथि सडकबाट हेर्दाखेरि तल मरिण खोलामा गाई-गाई छ। तर बाटोभरि कोही ‘छन्’ भन्दैनन्। हामीलाई पनि पारि जान मन भयो। दिनभरि गाईको खोजी गर्दागर्दै अब हामीलाई को गाई पाल्ने, को नपाल्ने पनि मतलब हुन छाडिसकेको छ।
पुल कटेर गाउँ पुगेपछि एउटा प्रतीक्षालयमा धेरै बाहरू बसेर गफिंदै छन्। हामी आएको देखेर सबैका आँखाहरू हामीलाई हेर्न थाल्छन्। हामी अबेर नगरी एक सासमा भन्छौं, ‘हामीलाई स्थानीय गाई चाहिएको छ, वरपर कतै बेच्ने छ ?’
यत्तिकैमा त्यहाँ बसेकामध्ये एक बा जुरुक्क उठ्छन् र भन्छन्, ‘मसँग छ। ब्याएको ७ दिन भएको छ। अब काम गरिखान नसक्ने भएँ बा, मालको मोल दिएर लगिदेऊ न !’
बाले दिने भएपछि गाई हेर्न बाको गोठतिर लाग्यौं। आमालाई लोटाउन गोबर चाहिने, बालाई खान दूध चाहिने भएर बाले रहरले ल्याएको गाई पाल्न नसकेर बेच्न परेको रै’छ। स्थानीय, सानो, ठिक्कको गाई देख्नेबित्तिकै हामी दुवै खुसी भयौं। ‘ल बा, गाई हामीलाई है !’ भन्दै बिदा मागेर हामी अर्को गाई खोज्न फेरि अर्को गाउँ पसियो।
पहिलेभन्दा धेरै नै कम भए पनि अझैसम्म गाउँबाट स्थानीय गाई सकिएको भने छैन। स्थानीय बजारछेउ दूध सङ्कलन गर्दै आएका एक जना किसान भन्छन्, ‘यस क्षेत्रका माझी तथा दनुवारहरू अझै पनि उस्तै स्थानीय जातका गाई पाल्छन्। उनीहरूलाई दूधभन्दा मलको आवश्यकता हो।
गोठभरि गाईगोरु पाले पनि बेच्न भने बेच्दैनन्। तर अब छोराछोरी गाउँमा नबस्ने, बसे पनि घरधन्दामा नसघाउने भएकाले गाई पाल्ने किसान तथा गाईको सङ्ख्या दुवै घट्दै आएको छ।’ बाँकी अरूको घरमा त धेरैजसोले पाल्न नै छाडे; जतिले पालेका छन्, जर्सीलगायत अलि धेरै दूध आउने पालेका छन्।
प्रतिक्रिया 4