१० असार, काठमाडौं । नेपालको अर्थतन्त्रमा निजी शिक्षाको योगदान वार्षिक १ खर्ब ६० अर्ब रुपैयाँ बराबर रहेको देखिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले नेपाल शिक्षण संस्था सर्वेक्षण २०८१ को नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार नेपालको अर्थतन्त्रमा सरकारी स्वामित्वबाहेकका शिक्षण संस्थाले करिब १ खर्ब ६० अर्ब रुपैयाँ बराबरको कुल मूल्य अभिवृद्धि गरेको देखिएको छ ।
कार्यालयले १ साउन २०८० देखि २०८१ असार मसान्तलाई सन्दर्भ अवधि मानेर नेपाल शिक्षण संस्था सर्वेक्षण २०८१ सञ्चालन गरेको थियो । तथ्यांक संकलनको काम वैशाख–असार २०८२ मा गरिएको थियो । कार्यालयले पूर्ण गणना र नमूना सर्वेक्षण विधि तथा द्वितीय स्रोतका रुपमा सर्वेक्षण सूची प्रयोग गरी तथ्यांक संकलनको काम गरेको उपप्रमुख तथ्यांक अधिकारी ढुन्डीराज लामिछानेले जानकारी दिए ।
तथ्यांक अनुसार नेपालको निजी शिक्षण संस्थामा कुल लगानी ३ खर्ब ९ अर्ब २१ करोड रुपैयाँ बराबर पुगेको छ । सन्दर्भ वर्षमा निजी शिक्षण संस्थाहरुको कुल उत्पादन (सेवा दिए वापत संकलन गरेको कुल रकम) १ खर्ब ९५ अर्ब रुपैयाँ बराबर रहेको छ । सो उत्पादन गर्न मध्यवर्ती उपभोग (कर्मचारीको तलव तथा स्थिर सम्पत्ति बाहेक) ३५ अर्ब ४० करोड रुपैयाँ बराबर लागत रहेको देखिएको छ ।
एक वर्षमा निजी शिक्षण संस्थाको कुल सञ्चालन खर्च १ खर्ब १४ अर्ब रुपैयाँ बराबर रहेको छ । यी संस्थाले कर्मचारीको तलव, ज्याला र अन्य सुविधामा ७५ अर्ब रुपैयाँ हाराहारी खर्च गर्ने गरेको तथ्यांकले देखाएको छ । कार्यालयका अनुसार सरकारीबाहेक निजी, सामुदायिक, गुठीलगायतबाट सञ्चालित विद्यालय, क्याम्पस र प्राविधिक–व्यवसायिक प्रशिक्षण केन्द्रको तथ्यांक सर्वेक्षणमा समेटिएको छ ।
प्रादेशिक रुपमा हेर्दा सबैभन्दा ठूलो लगानी बागमती प्रदेशमा भएको देखिन्छ । यस प्रदेशमा निजी शिक्षण संस्थामा १ खर्ब २८ अर्ब ८४ करोड रुपैयाँ बराबरको लगानी भएको छ । यस प्रदेशले अर्थतन्त्रमा एक वर्षमा ७० अर्ब ९४ करोड रुपैयाँ बराबरको योगदान गरेको देखिन्छ ।
निजी शिक्षामा सबैभन्दा कम लगानी कर्णाली प्रदेशमा भएको छ । यस प्रदेशमा ५ अर्ब ४२ करोड रुपैयाँ मात्र लगानी भएको छ । अर्थतन्त्रमा यस प्रदेशमा रहेका शिक्षण संस्थाको योगदान ३ अर्ब ४ करोड रुपैयाँ बराबर छ । देशभरि १० हजार ४११ निजी शिक्षण संस्था रहेकोमा सबैभन्दा धेरै बागमतीमा २ हजार ९०३ र सबैभन्दा कम कर्णालीमा ३७५ संस्था छन् ।
निजी शिक्षामा कुन प्रदेशमा कति लगानी ?
कोशी : ४२ अर्ब ५१ करोड
मधेश : ३४ अर्ब ५२ करोड
बागमती : १ खर्ब २८ अर्ब ८४ करोड
गण्डकी : ३५ अर्ब ४३ करोड
लुम्बिनी : ४३ अर्ब ९९ करोड
कर्णाली : ५ अर्ब ४२ करोड
सुदूरपश्चिम : १८ अर्ब ४७ करोड
विद्यार्थीलाई औसत मासिक ३,३०० रुपैयाँ शुल्क
नेपालका निजी शिक्षण संस्थाको औसत मासिक शूल्क ३ हजार ३ सय रुपैयाँ रहेको छ । सर्वेक्षण अनुसार निजी शिक्षण संस्थाको औसत मासिक शुल्क बागमती प्रदेशमा सबैभन्दा महँगो ५ हजार १ सय रुपैयाँ छ । सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २ हजार मासिक छ ।
मासिक शिक्षण शुल्कलाई तहगत रुपमा हेर्दा माध्यामिक तह र उच्च शिक्षामा बढी शुल्क लाग्ने गरेको देखिन्छ । शिक्षण संस्थाको वार्षिक खर्चको हिसावमा हेर्दा उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थामा प्रतिशिक्षण संस्थाको वार्षिक खर्च २ करोड, माध्यामिक तहको औसत १ करोड ८८ लाख, व्यवसायिक शिक्षा सञ्चालन गर्ने संस्थाको औसत १ करोड १७ लाख खर्च रहेको देखिन्छ ।
कुल संस्थाहरूको तलव, भत्तालगायतमा वार्षिक खर्च औसत १ करोड २२ लाख रहेको छ । प्रदेशगत रुपमा यस्तो खर्च बागमतीमा २ करोड १२ लाख, गण्डकीमा १ करोड ३० लाख, लुम्बिनीमा १ करोड ४ लाख, कोशीमा ८९ लाख, मधेशमा ७० लाख, कर्णालीमा ६४ लाख र सुदूरपश्चिममा ६३ लाख छ । नेपालका निजी शिक्षण संस्थाले कर्मचारीको तलव भत्तामा वार्षिक ७५ अर्ब रुपैयाँ खर्च गर्ने गरेको तथ्यांकले देखाएको छ ।
२८ हजार २३५ भवन, २ लाख कक्षाकोठा
नेपालका निजी शिक्षण संस्थामा २८ हजार २३५ भवन र झन्डै २ लाख कक्षाकोठा रहेको पाइएको छ । सर्वेक्षण अनुसार देशभरी रहेका १० हजार ४११ शिक्षण संस्थामा औसत २.७ वटा भवन र १७.७ कक्षाकोठा रहेको पाइएको छ ।
यसमध्ये अपांगतामैत्री कक्षाकोठाको संख्या ९ हजार १५ (५ प्रतिशत) र एसी सहितका कक्षा कोठा ७ हजार ३६६ (४ प्रतिशत) रहेको तथ्यांकले देखाएको छ । शिक्षण संस्थामा विद्यार्थीका लागि प्रयोग हुने सवारी साधनको संख्या १६ हजार ३७९ रहेको देखिएको छ ।
देशभरि निजी शिक्षण संस्थामा साढे ३७ लाख विद्यार्थीले अध्ययन गरिरहेको देखिन्छ । यसमध्ये १० लाख ८० हजार विद्यार्थीले विद्यालयको यातायात सेवा प्रयोग गरेको पाइएको छ । ४६ हजार २ सय विद्यार्थी विद्यालयको छात्राबासमा आवासीय रुपमा बस्ने गरेको पाइएको छ । ४७ हजार ९ सय विद्यार्थी डे बोर्डसमा रही अध्ययन गर्ने गरेको तथ्यांकले देखाएको छ ।
निजी शिक्षण संस्थामा साढे ३७ लाख विद्यार्थी
देशभरी निजी शिक्षण संस्थामा साढे ३७ लाख विद्यार्थी रहेको देखिएको छ । यसमध्ये पूर्वप्राथमिक तहमा ९ लाख ३२ हजार, आधारभूत शिक्षा (कक्षा १–८ सम्म) १८ लाख ६४ हजार र माध्यामिक तहमा ४ लाख ९१ हजार विद्यार्थी अध्ययनरत रहेको तथ्यांकले देखाएको छ । उच्च शिक्षामा ४ लाख ६६ हजार र प्राविधिक तथा व्यवसायिक शिक्षाको प्रिडिप्लोमा तथा डिप्लोमा तहमा जम्मा ३५ हजार ६८८ विद्यार्थी रहेको कार्यालयले जनाएको छ ।
उच्च शिक्षा अध्ययन गर्ने ४ लाख ६६ हजार विद्यार्थीमध्ये २ लाख १४ हजार ९९७ जना अर्थात् करिब ४६ प्रतिशत विद्यार्थी बागमती प्रदेशमा रहेको तथ्यांक छ । संकायगत रुपमा हेर्दा निजी शिक्षण संस्थामा सबैभन्दा धेरै उच्च शिक्षा लिने व्यवस्थापन तथा वाणिज्य संकायमा २ लाख ३६ हजार ५८१ जना विद्यार्थी छन् ।
शिक्षा संकायमा १ लाख १२ हजार ७७६, मानविकी तथा सामाजिक शास्त्रमा ४१ हजार ९, विज्ञान तथा प्रविधि अध्ययन संकायमा ३६ हजार १५९ र इन्जिनियरिङमा २१ हजार ७३९ विद्यार्थी रहेको देखिन्छ।
देशभरि १० हजार ४११ निजी शिक्षण संस्था, कुन प्रदेशमा कति ?
देशभरि १० हजार ४११ निजी शिक्षण संस्था रहेको देखिएको छ । यो संख्या सरकारीबाहेकका निजी, सामुदायिक, गुठीलगायतबाट सञ्चालित विद्यालय, क्याम्पस र प्राविधिक–व्यवसायिक प्रशिक्षण केन्द्रको हो । सर्वेक्षण अनुसार सबैभन्दा धेरै शिक्षण संस्था बागमती प्रदेशमा सञ्चालनमा रहेका छन् । देशभरिका कुल संस्थामध्ये बागमतीमा २ हजार ९०३ अर्थात् २८ प्रतिशत छ ।
कोशीमा १ हजार ९१७, मधेशमा १ हजार ८ सय ९१, लुम्बिनीमा १ हजार ५ सय ५६, सुदूरपश्चिममा ९०७, गण्डकीमा ८६२ र कर्णालीमा सबैभन्दा कम ३७५ शिक्षण संस्था रहेको सर्वेक्षणबाट देखिएको छ ।
तथ्यांक अनुसार यस्ता शिक्षण संस्थामध्ये सबैभन्दा धेरै पूर्वप्राथमिक तथा आधारभूत तहका शिक्षण संस्था सञ्चालनमा छन् । यस्ता संस्थाको संख्या ४ हजार ५२२ (४३ प्रतिशत) रहेको देखिएको छ । माध्यामिक तह ४१ प्रतिशत (४ हजार ३१९) र उच्च शिक्षा प्रदान गर्ने संस्था १२ प्रतिशत (१२ सय ६८) रहेको सर्वेक्षणबाट देखिएको छ । प्राविधिक तथा व्यवसायिक शिक्षा प्रदान गर्ने शिक्षण संस्था सबैभन्दा कम ३ प्रतिशत अर्थात् ३०१ वटा रहेको छ ।
३ लाख ११ हजार रोजगारी, २ लाख बढी शिक्षक
नेपालका निजी शिक्षण संस्थामा ३ लाख भन्दा बढी व्यक्तिले रोजगारी पाएको देखिएको छ । सर्वेक्षण अनुसार ३ लाख ११ हजार ५१६ जना व्यक्ति संलग्न रहेको देखिएको छ । यो सरकारी शिक्षण संस्थाबाहेकको संख्या हो । यसमध्ये ३ लाख २१ जना तलव/ज्याला पाउने कर्मचारी रहेको देखिएको छ । तलव–ज्याला पाउनेमध्ये २ लाख २१ हजार ५०४ जना शिक्षक र ७८ हजार ५१७ जना गैरशिक्षक कर्मचारी रहेको तथ्यांकबाट देखिएको छ ।
शिक्षण संस्थामा कार्यरत जनशक्तिमध्ये ८१ प्रतिशत पूर्णकालीन र १९ प्रतिशत पार्टटाइमका छन् । गैरशिक्षकतर्फ ९६ प्रतिशत पूर्णकालीन र ४ प्रतिशत पार्टटाइमका कर्मचारी रहेको सर्वेक्षणबाट देखिएको छ । कर्मचारीमध्ये १ लाख ४५ हजार पुरुष र १ लाख ५४ हजार महिला रहेको देखिएको छ । यसरी हेर्दा निजी शिक्षण संस्थामा काम गर्ने कर्मचारीमा महिलाको संख्या अधिक रहेको छ ।
प्रदेशगत रुपमा हेर्दा निजी शिक्षण संस्थाबाट सबैभन्दा बढी बागमती प्रदेशमा १ लाख १७ हजार २२९ जनालाई रोजगारी सिर्जना भएको देखिन्छ । जुन पूर्ण रोजगारीको एक तिहाइभन्दा बढी हो । कोशी प्रदेशमा ४८ हजार ७१०, मधेशमा ४० हजार ३३३, लुम्बिनीमा ४३ हजार १२०, गण्डकीमा २४ हजार ५५८, सुदूरपश्चिमा १८ हजार ७५८ र कर्णालीमा ७ हजार ३१२ रोजगारी सिर्जना शिक्षण संस्थाले गरेका छन् । लैंगिक हिसावले हेर्दा मधेश बाहेक सबै प्रदेशमा महिला कर्मचारी संख्या पुरुषकोभन्दा अधिक छ ।
प्रतिक्रिया 4