+

गर्भको सुरुवातदेखि सुत्केरी अवस्थासम्म : जिज्ञासा, मिथक र वैज्ञानिक तथ्य

२०८३ असार  १० गते १७:३९ २०८३ असार १० गते १७:३९

गर्भावस्था र सुत्केरी अवस्था केवल बच्चाको स्वास्थ्यसँग मात्र सम्बन्धित यात्रा होइन, यो आमाको समग्र स्वास्थ्यसँग पनि उत्तिकै जोडिएको विषय हो ।

गर्भको सुरुवातदेखि सुत्केरी अवस्थासम्म : जिज्ञासा, मिथक र वैज्ञानिक तथ्य

गर्भावस्था कुनै पनि महिलाको जीवनको अत्यन्त संवेदनशील र महत्त्वपूर्ण चरण हो । विशेषगरी पहिलो पटक गर्भवती हुने महिलामा उत्साहसँगै अनेकौं जिज्ञासा, डर र अन्योल पनि देखिन्छन् ।

गर्भ बसेदेखि बच्चा जन्मिएर सुत्केरी अवस्थासम्म महिलाको मनमा स्वास्थ्य, खानपान, औषधि, शारीरिक परिवर्तन तथा शिशुको विकासबारे अनगिन्ती प्रश्न खेलिरहेका हुन्छन् ।

कतिपय अवस्थामा चिकित्सकसँग खुलेर प्रश्न सोध्न हिच्किचाहट हुने भएकाले महिलाहरू परिवार, साथीभाइ वा सामाजिक सञ्जालबाट प्राप्त अपूर्ण जानकारीमा भर पर्न बाध्य हुन्छन् ।

प्रजनन तथा आईभीएफ विशेषज्ञ डा. रश्मी श्रीशका अनुसार गर्भावस्थाको सुरुवाती चरणमा महिलाले सबैभन्दा बढी चिन्ता गर्भ सुरक्षित छ कि छैन, बच्चाको मुटुको धड्कन आएको छ कि छैन, बच्चाको वृद्धि सामान्य छ कि छैन भन्ने विषयमा गर्ने गर्छन् । पहिलो तीन महिनामा बच्चाको गतिविधि महसुस नहुने भएकाले महिलामा अन्योल अझ बढी हुने चिकित्सकहरूको अनुभव छ ।

‘पहिलो गर्भावस्थामा अधिकांश महिलाले आफ्नो शरीरमा भइरहेको परिवर्तन नै सामान्य हो कि असामान्य भन्ने अन्योलमा हुन्छन्,’ डा. श्रीश भन्छिन्, ‘बच्चाको मुटुको धड्कन आएको छ कि छैन, बच्चा ठीकसँग बढिरहेको छ कि छैन, गर्भ तुहिने त होइन भन्ने चिन्ता उनीहरूमा धेरै हुन्छ ।’

पहिलो तीन महिनाका सामान्य समस्या

गर्भावस्थाको पहिलो त्रैमासिकमा शरीरमा हर्मोनको स्तर तीव्र रूपमा परिवर्तन हुने भएकाले वाकवाकी लाग्ने, बान्ता हुने, खाना खान मन नलाग्ने, कब्जियत हुने, बारम्बार पिसाब लाग्ने, अत्यधिक थकान महसुस हुने, स्तन दुख्ने जस्ता समस्या देखिनु सामान्य मानिन्छ । तर धेरै महिलाले यी लक्षणलाई असामान्य ठानेर चिन्ता गर्ने गर्छन् ।

डा. श्रीशका अनुसार यी परिवर्तनहरू अधिकांश अवस्थामा प्राकृतिक हुन् र बच्चाको विकास प्रक्रियासँग सम्बन्धित हुन्छन् । ‘गर्भावस्थामा देखिने धेरै परिवर्तनहरू शरीरले गर्भलाई स्वीकार गर्दै जाँदा देखिने स्वाभाविक प्रक्रिया हुन् । तर अत्यधिक बान्ता भएर पानीसमेत खान नसक्ने अवस्था आएमा तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ’ उनी भन्छिन् ।

खानपानबारे किन हुन्छ धेरै भ्रम ?

गर्भावस्थामा महिलाहरूले सबैभन्दा धेरै प्रश्न खानेकुराबारे नै गर्ने गर्छन् । कुन खानेकुरा खान मिल्छ, कुन खान हुँदैन, यसले बच्चालाई असर गर्छ कि गर्दैन भन्ने चिन्ता उनीहरूमा धेरै हुन्छ ।

डा. श्रीशका अनुसार सामान्यतया घरमा पकाइने दाल, भात, तरकारी, माछा, मासु, अण्डा, फलफूल लगायत अधिकांश पोषणयुक्त खानेकुरा खान सकिन्छ । तर राम्रोसँग नपकाइएका मासुजन्य परिकार, अत्यधिक प्रशोधित जंक फुड तथा स्वास्थ्य जोखिम बढाउने खानेकुराबाट भने बच्नुपर्छ ।

प्रजनन तथा आईभीएफ विशेषज्ञ डा. रश्मी श्रीश ।

 

‘हामीकहाँ गर्भवती महिलालाई यो खानु हुँदैन, त्यो खानु हुँदैन भनेर अनावश्यक बन्देज लगाउने चलन छ,’ उनी भन्छिन्, ‘तर सन्तुलित र पोषणयुक्त घरायसी खाना नै गर्भावस्थाको सबैभन्दा राम्रो आहार हो ।’

उनका अनुसार वाकवाकीको समस्या कम गर्न बिहान उठ्नेबित्तिकै खाली पेट नरहने, टोस्ट, बिस्कुट वा हल्का सुक्खा खानेकुरा खाने, अदुवा वा ल्वाङको प्रयोग गर्नु तथा थोरै–थोरै मात्रामा पटक–पटक खाना खानु उपयोगी हुन सक्छ ।

गर्भावस्था र मुख स्वास्थ्यको गहिरो सम्बन्ध

गर्भावस्थामा प्रायः महिलाले ध्यान नदिने तर अत्यन्त महत्वपूर्ण पक्ष हो मुख स्वास्थ्य । हर्मोनमा हुने परिवर्तन, खानपानको ढाँचा बदलिनु, बारम्बार स्न्याक्स खाने बानी तथा वाकवाकीका कारण मुख र गिजाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्छ ।

दन्त तथा मुख स्वास्थ्य विशेषज्ञ डा. नियुक्ती अर्जेलका अनुसार गर्भावस्था र मुख स्वास्थ्यबीचको सम्बन्ध धेरैले सोचेजस्तो सामान्य छैन । ‘गर्भावस्थामा इस्ट्रोजन र प्रोजेस्टेरोनजस्ता हर्मोनहरूमा ठूलो परिवर्तन हुन्छ । त्यसले गिजा सुन्निने, रगत आउने तथा संक्रमण बढ्ने सम्भावना बढाउँछ,’ उनी भन्छिन् । ‘त्यसमा पनि बारम्बार बान्ता हुँदा पेटको एसिड मुखमा आउने भएकाले दाँतको बाहिरी सतह कमजोर बन्ने, संवेदनशील हुने र खिइने जोखिम बढ्छ ।’

डा. अर्जेलका अनुसार धेरै महिलाले टुथपेस्टको गन्धले वाकवाकी बढ्ने भएकाले ब्रस गर्न छाड्ने गर्छन्, जुन गलत अभ्यास हो । ‘दिनमा कम्तीमा दुई पटक ब्रस गर्नु गर्भावस्थामा पनि अनिवार्य छ’ उनी भन्छिन्, ‘यदि टुथपेस्टको स्वाद वा गन्धले समस्या भयो भने अर्को स्वादको टुथपेस्ट प्रयोग गर्न सकिन्छ । आवश्यक परे केही समय पानीले मात्र ब्रस गर्न सकिन्छ, तर ब्रस गर्ने बानी छोड्नु हुँदैन ।’

गिजाको रोगले गर्भावस्थामा कस्तो असर गर्छ ?

मुख स्वास्थ्यलाई बेवास्ता गर्दा त्यसको असर दाँत र गिजामा मात्र सीमित नहुन सक्छ । पछिल्ला अनुसन्धानहरूले गिजाको दीर्घकालीन संक्रमण र गर्भावस्थाका जटिलताबीच सम्बन्ध रहेको देखाएका छन् ।

डा. अर्जेलका अनुसार गिजाको संक्रमणबाट उत्पन्न हुने ब्याक्टेरिया र रसायनहरू रक्तप्रवाहमार्फत शरीरका अन्य भागमा पुग्न सक्छन् ।

‘गिजाको दीर्घकालीन संक्रमणले समयअगावै प्रसूति, कम तौलको शिशु जन्मिने तथा मधुमेह नियन्त्रणमा समेत असर गर्न सक्ने अध्ययनहरूले देखाएका छन्,’ उनी भन्छिन् । ‘त्यसैले गर्भावस्था योजना बनाउनु अघि नै दन्त परीक्षण गराउनु राम्रो हुन्छ ।’

गर्भावस्थामा दाँतको उपचार गर्न मिल्छ कि मिल्दैन ?

धेरै महिलामा गर्भावस्थामा दाँतको उपचार गराउन हुँदैन भन्ने भ्रम पाइन्छ । तर अधिकांश दन्त उपचार सुरक्षित रूपमा गर्न सकिने डा. अर्जेलको भनाइ छ । सुरक्षित एनेस्थेसिया र चिकित्सकीय निगरानीमा आवश्यक उपचार गर्न सकिने उनी बताउँछिन् ।

‘स्केलिङ, फिलिङ, गिजाको उपचारजस्ता धेरै उपचार गर्भावस्थामा सुरक्षित हुन्छन् ’ डा. अर्जेल भन्छिन्, ‘पहिलो त्रैमासिकमा वाकवाकीका कारण केही प्रक्रिया दोस्रो त्रैमासिकसम्म सार्न सकिए पनि संक्रमण वा पीडा बढिरहेको अवस्थामा उपचार रोक्नु हुँदैन ।’

 

औषधि सेवनबारे डर कति जायज ?

गर्भावस्थामा धेरै महिलाले औषधि सेवन गर्न डराउँछन् । कतिपयले चिकित्सकले दिएको औषधि पनि खान हिच्किचाउँछन् भने कतिपयले परिवार वा साथीभाइको सल्लाहका कारण औषधि खान छाड्छन् ।

डा. रश्मीका अनुसार गर्भवतीका लागि सुरक्षित मानिएका धेरै औषधिहरू उपलब्ध छन् । ‘कुन औषधि कुन समयमा, कति मात्रा र कति दिन खाइएको हो भन्ने आधारमा मात्रै त्यसको प्रभाव मूल्यांकन गर्न सकिन्छ । त्यसैले कुनै औषधि सेवन गरेको जानकारी पाएपछि हतारमा गर्भपतन गर्ने निर्णय गर्नु गलत हुने उनको भनाइ छ ।

तर गर्भावस्थामा कुनै पनि औषधि चिकित्सकको सल्लाहबिना सेवन गर्नु जोखिमपूर्ण हुने उनले जानकारी दिइन् ।

बढ्दो चुनौती : मधुमेह, उच्च रक्तचाप र थाइराइड

पछिल्ला वर्षहरूमा गर्भावस्थामा मधुमेह, उच्च रक्तचाप तथा थाइराइड समस्या देखिने क्रम बढिरहेको चिकित्सकहरू बताउँछन् । बदलिँदो जीवनशैली, असन्तुलित खानपान र शारीरिक गतिविधिको कमीलाई यसको प्रमुख कारण मानिन्छ।

डा. रश्मीका अनुसार यस्ता समस्या समयमै पहिचान गर्न सकेमा अधिकांश अवस्थामा सफल व्यवस्थापन गर्न सकिन्छ । ‘नियमित स्वास्थ्य परीक्षण, सन्तुलित आहार, सुरक्षित व्यायाम र चिकित्सकीय निगरानीले आमा र बच्चा दुवैलाई जटिलताबाट बचाउन मद्दत गर्छ,’ उनी भन्छिन् ।

सुत्केरी भएपछि दाँत माझ्न हुँदैन भन्ने भ्रम

नेपाली समाजमा अझै पनि सुत्केरी महिलाले केही दिन दाँत माझ्नु हुँदैन भन्ने विश्वास पाइन्छ । डा. अर्जेल भने यसलाई पूर्णरूपमा भ्रम मान्छिन् । ‘गिजाबाट रगत आउँछ भनेर दाँत नमाझ्नु समाधान होइन’ उनी भन्छिन् । ‘बरु दाँत नमाझ्दा मुखभित्र ब्याक्टेरिया बढ्छ, संक्रमण गम्भीर बन्छ र दीर्घकालमा दाँत हल्लिने तथा झर्ने अवस्था आउन सक्छ ।’

उनका अनुसार सुत्केरी महिलाले पनि दिनमा दुई पटक ब्रस गर्न, नियमित कुल्ला गर्न र आवश्यक परे दन्त परीक्षण गराउनुपर्छ । ‘मैले धेरै यस्ता महिला देखेकी छु, जसले गर्भावस्था र सुत्केरी अवस्थामा मुख स्वास्थ्यलाई बेवास्ता गर्दा कम उमेरमै दाँत गुमाएका छन्,’ उनी भन्छिन्।

सुत्केरीसँग जोडिएका अन्य मिथक

सुत्केरी भएपछि नुहाउन हुँदैन, महिनौंसम्म आराम मात्रै गर्नुपर्छ, अत्यधिक चिल्लो र गुलियो खाना खानुपर्छ, धेरै जलेबी वा चाकु खाए मात्र दूध आउँछ भन्ने जस्ता विश्वासहरू अझै समाजमा प्रचलित छन् ।

डा. रश्मीका अनुसार यस्ता अधिकांश मान्यताको कुनै वैज्ञानिक आधार छैन ।

‘सुत्केरी महिलाले व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ । नुहाउन नहुने कुनै कारण छैन’ उनी भन्छिन् । ‘बरु पर्याप्त पानी, प्रोटिनयुक्त सन्तुलित आहार र शरीरले सक्ने हल्का व्यायामले स्वास्थ्य सुधारमा मद्दत गर्छ ।’

गर्भधारणको योजना बनाउँदा के गर्ने ?

विशेषज्ञहरूका अनुसार गर्भधारणको योजना बनाउँदा स्त्रीरोग विशेषज्ञसँग मात्र होइन, आवश्यक परे दन्त चिकित्सक, मधुमेह विशेषज्ञ, मुटुरोग विशेषज्ञ तथा अन्य सम्बन्धित विशेषज्ञसँग पनि परामर्श लिनु उपयुक्त हुन्छ ।

डा. अर्जेलका अनुसार विशेषगरी दाँत र गिजाको स्वास्थ्य राम्रो बनाएर गर्भधारण गर्दा गर्भावस्थाका धेरै सम्भावित जटिलता कम गर्न सकिन्छ ।

त्यसैगरी डा. रश्मी प्रि–कन्सेप्सन काउन्सिलिङलाई अहिलेको आवश्यकता मान्छिन् । ‘गर्भ बसिसकेपछि मात्र होइन, गर्भधारणको योजना बनाउँदा नै स्वास्थ्य परीक्षण गराउनु भविष्यका धेरै समस्या रोक्ने प्रभावकारी उपाय हो’ उनी भन्छिन्।

ध्यान दिनुपर्ने कुरा

गर्भावस्था र सुत्केरी अवस्था केवल बच्चाको स्वास्थ्यसँग मात्र सम्बन्धित यात्रा होइन, यो आमाको समग्र स्वास्थ्यसँग पनि उत्तिकै जोडिएको विषय हो । नियमित चिकित्सकीय परामर्श, वैज्ञानिक जानकारीमा आधारित निर्णय, सन्तुलित खानपान, मुख स्वास्थ्यको उचित हेरचाह तथा समाजमा व्याप्त मिथकहरूबाट मुक्त भएर अघि बढ्न सके गर्भावस्था अझ सुरक्षित र सहज बन्न सक्छ ।

स्वस्थ आमा नै स्वस्थ शिशुको आधार भएकाले गर्भावस्थादेखि सुत्केरी अवस्थासम्म महिलाको सम्पूर्ण स्वास्थ्यलाई समान प्राथमिकता दिनु आवश्यक छ । यही कारण गर्भावस्थामा स्त्रीरोग विशेषज्ञसँगै मुख स्वास्थ्य विशेषज्ञको परामर्शलाई पनि नियमित स्वास्थ्य हेरचाहको अभिन्न अंग बनाउनुपर्नेमा दुवै विशेषज्ञ जोड दिन्छन् ।

गर्भावस्था दन्त स्वास्थ्य मातृशिशु स्वास्थ्य
लेखक
सुमित्रा लुइटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय