१० असार, काठमाडौं । चीनबाट रेयर अर्थसँग सम्बन्धित सामग्रीहरू गैरकानूनी रूपमा बाहिर लैजान खोजेको आरोपमा चिनियाँ अधिकारीहरूले दुई जना जापानी नागरिकलाई नियन्त्रणमा लिएका छन्।
जापानी मुख्य क्याबिनेट सचिव मिनोरु किहाराले बुधबार दिएको जानकारी अनुसार प्रतिबन्धित वस्तुहरूको आयात–निर्यात सम्बन्धी चिनियाँ कानुन उल्लङ्घन गरेको आरोपमा एक जनालाई गत मे १८ मा र अर्का व्यक्तिलाई त्यसको एक हप्ता पछि नियन्त्रणमा लिइएको हो।
टोकियोले गोपनीयताको कारण देखाउँदै थप विवरण नदिई ती नागरिकहरू पक्राउ परेको कुरा पुष्टि गरेको छ।
पक्राउ परेकाहरू मध्ये एक जना जापानी इलेक्ट्रिक मेसिनरी कम्पनीको चिनियाँ सहायक कम्पनीका कर्मचारी हुन्। उनलाई गत महिना उत्तर–पूर्वी सहर डालियानबाट नियन्त्रणमा लिइएको प्रतिवेदनमा उल्लेख छ।
क्याबिनेट सचिव किहाराले जापानी सरकारले सम्बन्धित व्यक्ति तथा पक्षहरूसँग सञ्चार गरिरहेको र विदेशमा रहेका आफ्ना नागरिकको सुरक्षाका दृष्टिकोणले उचित कदम चाल्ने बताएका छन्।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पनि दुई जापानी नागरिकलाई चिनियाँ कानुन अनुसार नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्। चीनले यस मामिलाको सान्दर्भिक विवरण जापानी पक्षलाई गराइसकेको उनले बताएका छन्।
प्रवक्ता जियाकुनले जापानी पक्षले चीनमा रहेका आफ्ना नागरिक र कम्पनीहरूलाई चिनियाँ कानुन र नियमहरूको पालना गर्न सिकाउनु र सचेत गराउनुपर्ने कुरामा जोड दिएका छन्।
क्योडो न्युजका अनुसार चिनियाँ भन्सार अधिकारीहरूले यस मामिलालाई गम्भीर रूपमा लिएका छन्, यद्यपि पक्राउ परेका व्यक्तिहरूमाथि जासुसीको आशङ्का भने गरिएको छैन।
प्रतिक्रिया 4