११ असार, रोल्पा । रोल्पाका १० स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक बजेट सार्वजनिक गरेका छन् ।
बुधबार रातिसम्म सार्वजनिक भएका बजेटमध्ये सबैभन्दा ठूलो आकारको बजेट रोल्पा नगरपालिकाको र कम आकारको बजेट माडी गाउँपालिकाको छ ।
रोल्पाका अधिकांश स्थानीय तहले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै बजेट सार्वजनिक गरेका छन् ।
रोल्पा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८० करोड २५ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । नगर उपप्रमुख गीता आचार्यले बजेट प्रस्तुत गर्दै स्थानीय जनताको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर बजेट तयार गरिएको बताइन् ।
त्यसैगरी, रुन्टीगढी गाउँपालिकाले ७१ करोड ४२ लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष सरिता केसीका अनुसार बजेट विकास निर्माण र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर तयार गरिएको हो ।
सुनिलस्मृति गाउँपालिकाले ५८ करोड ५७ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका उपाध्यक्ष मिना थापाले बजेट सार्वजनिक गर्दै स्थानीय आवश्यकताअनुसार कार्यक्रम समेटिएको जानकारी दिइन् ।
त्रिवेणी गाउँपालिकाले ५२ करोड ४४ लाख ३४ हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष लेखमणि खड्काले बजेट जनमुखी र विकासमुखी रहेको बताए ।
लुङ्ग्री गाउँपालिकाले ४८ करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष दिलकुमारी गुरुङका अनुसार बजेटले आधारभूत सेवा र पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ ।
गंगादेव गाउँपालिकाले ४७ करोड ३२ लाख २२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष अमृताकुमारी केसीले आवश्यकता र प्राथमिकताका आधारमा बजेट निर्माण गरिएको बताइन् ।
परिवर्तन गाउँपालिकाले ४६ करोड ६३ लाख ७७ हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिका प्रवक्ता हरिप्रसाद बुढा मगरले बजेटले सबै क्षेत्रलाई समेट्ने प्रयास गरेको बताए ।
थबाङ गाउँपालिकाले ४३ करोड ५२ लाख ९५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष शर्मिला बुढा मगरले विकास र सेवा प्रवाहलाई केन्द्रमा राखेर बजेट निर्माण गरिएको बताइन् ।
सुनछहरी गाउँपालिकाले ४१ करोड ६३ लाख ७२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष ननकला घर्तीका अनुसार बजेटले कृषि, शिक्षा र पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिएको छ ।
सबैभन्दा कम बजेट माडी गाउँपालिकाले ल्याएको छ । माडी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३९ करोड २४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष जयपुरी घर्तीले बजेट विकास निर्माण र जनसेवा केन्द्रित रहेको बताइन् ।

प्रतिक्रिया 4