म यहीं जन्में। रानीपोखरीस्थित संस्कृत माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा सिध्याएँ र सम्पूर्ण उच्च शिक्षा नेपालमै पूरा गरें। यहीं पढें, यहीं हुर्कें, अनि यहींबाट टेकेर संसारका थुप्रै देशमा सिक्न र सिकाउन पुगें। धेरैलाई यो असम्भव लाग्न सक्छ, विदेशिएर डिग्री नबोकी पनि के विश्वमञ्चमा उभिन सकिन्छ र? सकिंदो रहेछ। मेरै जीवनयात्रा यसको साक्षी हो।
मैले विदेश गएर अध्ययन गरिनँ, तर यहींको शिक्षाले मलाई विदेशका कक्षाकोठामा पढाउन र विश्वका ठूला-ठूला मञ्चमा आफ्ना कुरा राख्न सक्ने बनायो। यो अनुभवले मलाई एउटा कुरामा अडिग बनाएको छ, विदेशमा पढेर काम गर्ने मानिस स्वदेशमै खटिने मानिसभन्दा सधैं माथिल्लो दर्जाको हुन्छ भन्ने मान्यता पूर्ण सत्य होइन। श्रेष्ठता पासपोर्टमा लाग्ने भिसाले होइन, मानिसको सीप, दृष्टिकोण र समर्पणले निर्धारण गर्छ।
यसो भन्दैमा विदेशमा खारिएर फर्केकाहरूको योगदान कम आँक्न खोजेको होइन। बरु, विदेशबाट फर्केर नेपालको प्राज्ञिक धरातल माथि उठाउन आफ्नो सर्वस्व होमिरहेका कैयौं प्राध्यापकको निष्ठा मैले नजिकैबाट नियालेको छु। मेरो भनाइ यति मात्र हो, बाहिरको अनुभव आफैंमा योग्यताको प्रमाणपत्र होइन, र स्वदेशमै बसेर आर्जिएको ज्ञानलाई दोस्रो दर्जाको ठान्नु अन्याय हो।
यहींनेर एउटा सिद्धान्त स्पष्ट हुनु जरुरी छ। कुनै पनि संस्थाको नेतृत्व त्यही व्यक्तिले पाउनुपर्छ जसले त्यस संस्थाप्रति पहिले योगदान गरिसकेको छ र त्यो योगदान काम गरेरै प्रमाणित गरिसकेको छ। नेतृत्व अग्रिम दाबी गर्ने कुरा होइन, आर्जित गर्ने कुरा हो।
तल्लो तहमा, संस्थाकै उपलब्ध सेवा-सुविधामा बसेर सेवा गर्न तयार हुने र गरेर देखाउने व्यक्ति नै भोलि शीर्ष जिम्मेवारीको हकदार बन्छ, यो क्रम उल्टाएर, योगदानको कुनै लेखाजोखा विनै सिधै टाउकोमा बस्न खोज्नु संस्थाकै मर्यादामाथिको प्रश्न हो।
यो कसीले एउटा मनोवृत्ति छर्लङ्ग पारिदिन्छ। ‘विदेशमा पाए जस्तै सेवा-सुविधा पाए फर्कन्छु, नत्र फर्किन्नँ’ भन्नु र ‘मलाई सिधै उच्च पदमा बसाऊ’ भन्नु- मूलतः एउटै अहङ्कारका दुई रूप हुन्। दुवैमा शर्त आफ्नो छ, समर्पण संस्थाप्रति छैन। झन् गम्भीर त, जसलाई पद पाइएन भने संस्था बने पनि नबने पनि मतलब हुँदैन, त्यस्तो उदासीनता बोक्नेले संस्थाको भविष्य होइन, आफ्नो आसन खोजेको ठहर्छ। यसैले नेतृत्वको कसी सिधा छ, पहिले योगदान, अनि जिम्मेवारी; पहिले प्रमाण, अनि भरोसा।
अर्को यथार्थ झनै गहिरो छ। नेपाल र नेपाल जस्ता मुलुकमा प्रणालीभन्दा व्यक्ति ठूलो हुन्छ, यहाँ संस्था आफैं चल्दैन, व्यक्तिले चलाउनुपर्छ। विश्वका बहुप्रतिष्ठित विश्वविद्यालयमा बनिबनाउ प्रणालीले आफैं काम गर्छ, त्यहाँ बसेर सिकेको वा काम गरेको अभ्यास बोकेर यहाँ आउँदा, यहाँको भूगोल, बेथिति र मनोविज्ञानसँग नभिजेको व्यक्तिले प्रायः प्रणाली आफैं बनाउनुपर्छ भन्ने नै बुझ्दैन। त्यो जिम्मेवारी नउठाएपछि उसको ज्ञान र इरादा एकातिर हुन्छ, संस्थाको परिणाम अर्कातिर, अनि क्रमशः सबै कुरा अव्यवस्थित बन्दै जान्छ। यसका उदाहरण हामीले नेपालमै प्रशस्त देखिसकेका छौं।
यसको अर्थ फर्केकालाई पन्छाउनु पटक्कै होइन, उनको प्रमाणित बलियो पक्ष अनुसारको भूमिका दिनु हो। अन्तर्राष्ट्रिय सम्बन्धमा खारिएकालाई अन्तर्राष्ट्रिय सम्बन्ध विभागको, अनुसन्धानमा निपुणलाई अनुसन्धान विभागको जिम्मेवारी दिंदा उनको सीप, सम्पर्क र ज्ञान भरपूर सदुपयोग हुन्छ। काम गरेर खारिंदै जाँदा नेतृत्वको बाटो आफैं खुल्छ। नेपालको सन्दर्भ राम्ररी नबुझ्दा नबुझ्दै सोझै शीर्षमा अड्याइदिनुले न उनको भलो गर्छ, न संस्थाको। सही ठाउँमा सही मानिस, सुधारको पहिलो शर्त यही हो।
देश-विदेशका सुखसयल भोग्ने उमेरमै सबै सुविधा त्यागेर स्वदेश फर्केकालाई राज्यले कम आँक्ने अनि बाहिरै रमाइरहेकालाई आकाशमा पुर्याउने प्रवृत्ति नै यो देशमा प्रतिभा फर्कन नचाहनुको मूल कारण हो। यो असन्तुलन नसच्चिएसम्म जतिसुकै आह्वान गरे पनि घर फर्कने ओइरो लाग्दैन। अहिले स्वदेश फर्केर सेवा गर्दै नेपालको सुधारिएको छवि विश्व-मानचित्रमा कोर्ने उत्कट चाहना बोकेका कैयौं व्यक्तित्व छन्, तिनलाई आफ्नै पुर्ख्यौली घरपरिवारसँग रमाउँदै काम गर्ने वातावरण दिन सक्नु नै आजको नेतृत्वको कसी हो।
त्यसैले आउने विश्वविद्यालय नेतृत्व कुनै राजनीतिक आबद्धता नभएको, हिजो, आज र भोलि पनि, नेपाल र विदेश दुवैको नाडी बुझेको र दूरदृष्टि भएको हुनुपर्छ। यस्तो नेतृत्व, जसले युवालाई ‘स्वदेशमै बस्ने वातावरण पनि छ नि’ भनेर छाती ठोकेर भन्न सकोस्, जसले फर्केर आउनेको मूल्य हरेक तहमा बुझोस् र तिनलाई उनको खुबी अनुसारको ठाउँमा गोडमेल गर्न जानोस्।
हिजो स्वदेश फर्केकालाई सम्मान र जिम्मेवारी, अनि भोलि फर्कन चाहनेका लागि आकर्षण र भरोसा, यही नै आजको उच्च शिक्षा सुधारको आधारस्तम्भ हुनुपर्छ। तर सम्मान र जिम्मेवारी दुवै योगदानले कमाइने कुरा हुन्, उपहार झैं बाँडिने होइनन्। म आफैं यहीं पढेर, यहीं बसेर विश्वसँग जोडिएको एउटा उदाहरण हुँ, म जस्ता हजारौं हुन सक्छन्। शर्त एउटै हो, ‘यो देश बन्छ, बनाउन सकिन्छ’ भन्ने विश्वासले हेर्न जान्नुपर्छ। त्यो विश्वास नेतृत्वले जगाउन सक्यो भने, फर्कने पनि फर्कन्छन्, बस्ने पनि बस्छन्।
प्रतिक्रिया 4