११ असार, काठमाडौं । भक्तपुर अस्पतालमा पहिलो पटक घुँडाको जोर्नी प्रत्यारोपणको शल्यक्रिया गरिएको छ । नेपालका सीमित अस्पतालमा मात्रै उपलब्ध यो सेवा बागमती प्रदेश अन्तर्गत रहेको भक्तपुर अस्तपताले सुरु गरेको हो ।
भक्तपुरकी ५८ वर्षीया महिलाको यही असार ९ गते मंगलबार सफतापूर्वक शल्यक्रिया गरिएको अर्थोपेडिक सर्जन डा. मधु पाण्डेले जानकारी दिए । डा.पाण्डेको नेतृत्वमा डा. शैलेन्द्र महर्जन, डा. बिनित ढकाल तथा डा. रोशन ग्वाछालगाउतको टिम शल्यक्रियामा सहभागी थियो ।
घुँडा दुख्ने समस्या भएर अस्पताल आएकी ती महिलामा ओस्टियोआर्थराइटिसको समस्या हो । यसलाई घुँडा खिइएको भन्ने गरिन्छ ।
डा. पाण्डेका अनुसार उनको उपचारमा जोर्नी प्रत्यारोपण मात्रै विकल्प थियो । शल्यक्रिया पछि अहिले बिरामीले फिजियोथेरापी सेवा लिइरहेकी छिन् । केही दिनपछि डिस्चार्ज गरिने डा.पाण्डेले जानकारी दिए ।

नयाँ सेवा विस्तार गर्ने अस्पतालको रणनीति अनुसार जोर्नी प्रत्यारोपण सेवा सुरु गरेको र नेपालकै सबैभन्दा सहुलियत दरमा जोर्नी प्रत्यारोपण शल्यक्रिया गरिएको उनले बताए ।
अब सेवालाई निरन्तरता दिइने र बिरामी तयार भएमा सातामा ३-४ वटा सम्म शल्यक्रिया गर्न सकिने डा.पाण्डेले जानकारी दिए । नेपालका सरकारी अस्पतालमा सीमित मात्रै रहेको यो सेवा भक्तपुर अस्पतालमा सुरु हुँदा यससम्बन्धी बिरामीलाई सहज हुने उनको भनाइ छ ।
सरकारी अस्पतालमा यो सेवा सीमित हुँदा बिरामीहरूले महंगा निजी अस्पताल तथा भारतमा समेत गएर उपचार गराउने गरेका छन् ।
के हो ओस्टियोआर्थराइटिस् ?
उमेर बढ्दै गएसँगै व्यक्तिहरूलाई जोर्नी दुख्ने समस्या हुन्छ । जोर्नीहरूमा निरन्तर दुखाइ हुनुको मुख्य कारण हड्डी खिइनु हो । चिकित्सकीय भाषामा यसलाई ‘ओस्टियोआर्थराइटिस’ भनिन्छ ।
हाम्रा जोर्नीहरूमा कुरकुरे हड्डी हुन्छ । यसलाई बाहिरबाट कार्टिलेजको तहले सुरक्षा गरिरहेको हुन्छ । कार्टिलेज हड्डीहरू बीच रहने नरम, कुशन जस्तो पदार्थ हो । यसलाई हड्डीहरूको प्याड वा कुशनको रूपमा बुझ्न सकिन्छ ।
कार्टिलेजको तह खिइँदै गएपछि जोर्नी चलाउँदा हड्डी रगडिने र दुख्ने समस्या हुन्छ । ओस्टियोआर्थराइटिस भएपछि फिजियोथेरापी तथा अन्य विभिन्न तरिकाबाट दुखाइ कम गर्ने उपाय अपनाइन्छ । यसको अन्तिम विकल्प भनेको जोर्नी प्रत्यारोपण मानिन्छ ।
प्रतिक्रिया 4