११ असार, काठमाडौं । मेटा कम्पनीले आफ्नो ‘फेसबुक क्रिएटर स्टुडियो’ प्लेटफर्मलाई नयाँ रूपमा फिर्ता ल्याएको छ। कम्पनीले क्रिएटरहरूलाई आकर्षित गर्न यो कदम चालेको हो। नयाँ फेसबुक क्रिएटर स्टुडियोलाई एआई सुविधासहित रिडिजाइन गरिएको छ।
यो प्लेटफर्मले क्रिएटरहरूको कामलाई छिटो बनाउन र फेसबुकमा उनीहरूको उपस्थिति बलियो बनाउन नयाँ अवसरहरू देखाउनेछ।
मेटाका अनुसार फेसबुक क्रिएटरहरूले आफ्नो कामका लागि एउटा छुट्टै स्पेस खोजिरहेका थिए। त्यसैले कम्पनीले फेसबुकमा छिटो र थोरै मिहिनेतमा लक्ष्य पूरा गर्न सघाउने गरी यो एआई एप पुनः ल्याएको हो।
यो नयाँ क्रिएटर स्टुडियोको मुख्य केन्द्र यसमा रहेको ‘एआई क्रिएटर असिस्टेन्ट’ टुल हो। यो एउटा च्याटबोट हो। क्रिएटरहरूले यस बोटलाई आफ्ना सामग्रीसँग सम्बन्धित प्रश्नहरू सोधेर विशेष सल्लाह लिन सक्नेछन्।
यो सिस्टमले भिडियो वा पोस्टको प्रदर्शनका आधारमा व्यक्तिगत नोटहरू सेयर गर्नेछ। यसले तय गरिएका लक्ष्यहरूको प्रगति ट्र्याक गर्नेछ। यसका साथै फेसबुकका अन्य एपहरूमा कुन कुराले राम्रो काम गरिरहेको छ भन्ने हेरेर नयाँ आइडिया पनि दिनेछ।

क्रिएटरहरूको आफ्नै प्रस्तुति डेटाका आधारमा उपलब्ध हुने यस्ता जानकारीहरू निकै उपयोगी हुन सक्छन्। यसका साथै मेटाले एआईबाट चल्ने कमेन्ट रिप्लाई सिफारिस फिचर पनि थपेको छ। क्रिएटरहरूले ‘ड्राफ्ट रिप्लाइज’ मा ट्याप गरेर यसको प्रयोग गर्न सक्छन्। यो नयाँ विकल्पले क्रिएटरकै शैली र आवाजमा तुरुन्तै कमेन्टको रिप्लाई ड्राफ्ट गरिदिनेछ।

यसले समय बचाउनुका साथै फ्यानहरूसँगको सम्बन्ध बनाउन र पैसा कमाउन सघाउने मेटाको भनाइ छ। तर एआईले लेखेको रिप्लाई कत्तिको वास्तविक हुन्छ भन्ने प्रश्न पनि छ। धेरै कमेन्ट आउने क्रिएटरका लागि यो अटोमेसन उपयोगी भए पनि सामाजिक सञ्जालमा फ्यानसँगको वास्तविक सम्बन्धका लागि बोटमा मात्र भर पर्नु सही नहुन पनि सक्छ।
यसअघि मेटाले जनवरी २०२३ मा आफ्नो पहिलो क्रिएटर स्टुडियो प्लेटफर्म बन्द गर्ने घोषणा गरेको थियो। त्यतिबेला कम्पनीले क्रिएटरहरूलाई ‘बिजनेस सुइट’ प्रयोग गर्न सल्लाह दिएको थियो। तर अहिले क्रिएटरहरूका लागि विशेष टुल, मोनेटाइजेसन र ब्रान्ड पार्टनरसिपमा बढी ध्यान दिन कम्पनीले यसलाई ब्युँताएको हो।
गत डिसेम्बरमा मेटाले आफ्नो ‘पार्टनरसिप एड्स हब’ लाई पनि अपडेट गरेको थियो। अहिले मेटाले आफ्ना शीर्ष प्रयोगकर्ताहरूलाई एपमा लगातार पोस्ट गरिरहन प्रोत्साहन दिन र उनीहरूको इन्गेजमेन्ट बढाउन यो नयाँ प्रयास गरिरहेको छ।
प्रतिक्रिया 4