११ असार,काठमाडौं । नेपालको पुरुष भलिबल लिग नेपाल भलिबल लिग (एनभीएल) को ६ फ्रेन्चाईज टिमको घोषणा भएको छ ।
आयोजक केडिया ग्रुपले बिहीबार एक कार्यक्रम आयोजना गर्दै पहिलो पटक आयोजना हुन लागेको एनभीएलमा प्रतिस्पर्धा गर्ने ६ फ्रेन्चाईज टिमको नाम, टिम मालिक र लोगो सार्वजनिक गरेको हो ।
पहिलो संस्करणमा अन्नपूर्ण स्पाईकर किङ्स, कर्णाली शिवराज, काठमाडौं रेड्स, खप्तड फाल्कन्स, मधेश वारियर्स र सगरमाथा स्मासर्सले प्रतिस्पर्धा गर्नेछन् ।
६ फ्रेन्चाइज टिमले विभिन्न ६ शहरको प्रतिनिधित्व गर्नेगर्छन् ।
अन्नपूर्ण स्पाइकर किंग्सको स्वामित्व सुमिरा स्पोर्ट्स भेन्चरले लिएको छ भने मिना त्रिपाठी लिम्बु, सुबोध त्रिपाठी, कर्ण थापा यस टिमको प्रमोटर छन् ।
क्वेस्ट फर्मासेटिकल्सको क्यु स्पोर्ट्स म्यानेजमेन्टको स्वामित्वमा रहेको काठमाडौं रेड्सको टिम प्रमोटरमा उमेश लाल श्रेष्ठ, सुबिन श्रेष्ठ, उत्तम कुमार श्रेष्ठ, पृथ्वी राज भण्डारी र कुमार अनुराग छन् ।
लक्षरा फिल्म्सको स्वामित्वमा रहेको कर्णाली शिवराजको प्रमोटरमा कृष्ण विक, अशोक भट्ट र सन्तोक विक छन् ।
यस्तै कम्पास इन्टरटेनमेन्ट नेटवकर्को स्वामित्वमा रहेको मधेश वारियर्सको प्रमोटरमा सन्दिप शाह र प्रनव महत छन् ।
यस्तै खप्तड फाल्कन्सको प्रमोटरमा राज शाह, सभराज भण्डारी र सन्जिव उप्रेती छन् । सगरमाथा स्म्यासर्सको प्रमोटरमा सन्नी राज भण्डारी र बन्नी राज भण्डारी छन् ।
एनभीएल आयोजनाका लागि केडिया ग्रुपले दुई वर्षअघि नै नेपाल भलिबल संघसँग सम्झौता गरिसकेको थियो । तर विधिध कारणले गर्दा समयमै हुन नसकेको यस लिग अब भने आयोजना हुने संघारमा आइपुगेको छ ।
नेपाल भलिबल लिगका म्यानेजिङ डिरेक्टर आश्विन केडियाले एनभीएल नेपाली भलिबलमा यो ऐतिहासिक लिग हुने बताए । उनले यस लिगबाट क्षमतावान खेलाडीहरु उत्पदान हुने बताए ।
यस्तै केडिया ग्रुप र नेपाल भलिबल लिगका अध्यक्ष विमल केडियाले धेरै अगाडि देखि आजको दिनको प्रतिक्षा गरिरहेको र त्यो पूरा भएको बताए । ‘यो दिन कहिले आउला भनेर समग्र फ्यानसँगै हाङ्गी पनि प्रतिक्षा गरिरहेका थियौँ । लामो प्रयास पछि यो दिनमा आईपुग्यौँ ।, केडियाले भने, ‘लिगका लागि आज महत्वपूर्ण दिन हो । ६ टिमकै प्रमोटरहरुले सहकार्यले साह्रै खुशी मिलेको छ र यसले ठूलो आशा देखाएको छ ।’
कार्यक्रम ६ वटै फ्रेन्चाइजका प्रमोटरहरुले नेपाल भलिबल लिगको लागि उत्सहित रहेको र यसबाट नेपाली भलिबलको विकासमा इँटा थप्न पहल गर्ने बताए ।
आयोजकले लिगको मिति आधिकारिक रुपमा सार्वजनिक गरेको छैन । लिगको मिति छिटै घोषणा गर्ने आयोजकले जनाएको छ ।
नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर संघले भने नेपाल भलिबल लिगका लागि भदौ पहिलो साता देखि दोस्रो सातासम्म मिति स्वीकृति गरेको जानकारी दिए ।






प्रतिक्रिया 4