+
+
Shares

अर्घाखाँचीमा टिमुर खेती अभियान, ६० हजार बिरुवा नि:शुल्क वितरण सुरु

प्रेमनारायण आचार्य प्रेमनारायण आचार्य
२०८३ असार १२ गते ९:२४

१२ असार, अर्घाखाँची । डिभिजन वन कार्यालय अर्घाखाँचीले जिल्लाभर टिमुर खेती प्रवर्द्धन गर्ने उद्देश्यले ६० हजार टिमुरका बिरुवा नि:शुल्क वितरण सुरु गरेको छ।

व्यावसायिक कृषि विस्तार, आयआर्जन वृद्धि तथा स्थानीय नागरिकलाई स्वरोजगार बनाउने लक्ष्यका साथ कार्यालयले टिमुरका बिरुवा नि:शुल्क वितरण गर्नुका साथै ठूलो परिमाणमा रोपण गर्ने कृषकका लागि घरमै बिरुवा ढुवानी गर्ने व्यवस्था समेत मिलाएको छ।

डिभिजन वन कार्यालयले सामुदायिक वन, निजी जग्गा तथा अन्य उपयुक्त क्षेत्रमा रोपण गर्न टिमुरका बिरुवा नि:शुल्क उपलब्ध गराउँदै आएको छ।

पछिल्लो समय बजारमा टिमुरको माग बढ्दै गएपछि यसलाई नगदे बालीका रूपमा विकास गर्ने लक्ष्यसहित जिल्लाभर अभियान सञ्चालन गरिएको हो।

कार्यालयका सूचना अधिकारी केशव खड्काका अनुसार टिमुर खेतीलाई अभियानकै रूपमा अघि बढाइएको छ।

“कृषक तथा स्थानीय बासिन्दालाई टिमुर खेतीतर्फ आकर्षित गरी व्यावसायिक उत्पादनमार्फत आयआर्जन वृद्धि गर्न सहज बनाउने उद्देश्यले नि:शुल्क बिरुवा वितरण गरिरहेका छौँ,“ उनले भने, “५०० भन्दा बढी बिरुवा रोपण गर्ने कृषक तथा समूहलाई घरमै बिरुवा पुर्‍याउने व्यवस्था समेत मिलाइएको छ, जसले कृषकलाई थप प्रोत्साहन मिलेको छ।“

वन कार्यालयले जिल्लाका विभिन्न स्थानीय तहमा रहेका नर्सरीमार्फत बिरुवा उत्पादन र वितरण गरिरहेको छ। सन्धिखर्क नगरपालिकाको दुर्गाफाँट, भूमिकास्थान नगरपालिकाको पोखेडाँडा, शितगंगा नगरपालिकाको डोहोटे तथा मालारानी गाउँपालिकाको खन र मथुरालगायतका क्षेत्रमा नर्सरी स्थापना गरी टिमुरका बिरुवा उत्पादन गरिएको छ। ती नर्सरीबाट हजारौँ बिरुवा कृषक तथा सामुदायिक वन उपभोक्ता समूहलाई वितरण भइरहेको कार्यालयले जनाएको छ।

अर्घाखाँचीलाई टिमुर खेतीका लागि उपयुक्त जिल्लाका रूपमा लिइन्छ। यहाँको भौगोलिक बनावट, हावापानी तथा माटोको गुणस्तर टिमुर उत्पादनका लागि अनुकूल मानिन्छ। विशेषगरी पहाडी भेगका खाली तथा कम उपयोगमा रहेका जग्गामा टिमुर खेती विस्तार गर्न सकिने सम्भावना उच्च रहेको छ।

टिमुर केवल मसला मात्र नभई औषधीय गुणले भरिपूर्ण वनस्पति पनि हो। नेपाली भान्सामा स्वाद र सुगन्धका लागि प्रयोग हुने टिमुरको माग देशभित्र मात्र नभई विदेशमा समेत बढ्दै गएको छ। आयुर्वेदिक उपचार प्रणालीमा यसको प्रयोग लामो समयदेखि हुँदै आएको छ। परम्परागत मान्यताअनुसार टिमुर सेवनले विभिन्न स्वास्थ्य समस्यामा फाइदा पुग्ने विश्वास रहिआएको छ। यसका कारण पछिल्ला वर्षमा यसको व्यावसायिक खेतीप्रति आकर्षण बढ्दै गएको छ।

वन कार्यालयले टिमुर खेतीलाई वनजन्य उद्यमसँग जोडेर ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य लिएको छ। खाली जमिनको सदुपयोग, जैविक विविधताको संरक्षण, भूक्षय नियन्त्रण तथा स्थानीय रोजगारी सिर्जनामा समेत टिमुर खेतीले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको सूचना अधिकारी केशव खड्काले जानकारी दिए।

अर्घाखाँचीका विभिन्न स्थानमा कृषकहरूले टिमुर रोप्न सुरु गरिसकेका छन्। नि:शुल्क बिरुवा, प्राविधिक परामर्श र ढुवानी सुविधाका कारण कृषकहरू उत्साहित बनेका छन्।

डिभिजन वन कार्यालय अर्घाखाँचीको यो अभियानले जिल्लामा व्यावसायिक टिमुर खेती विस्तार गर्ने मात्र नभई वनजन्य उत्पादनमा आधारित दिगो आयआर्जनको नयाँ सम्भावना समेत सिर्जना गर्ने विश्वास गरिएको छ। उचित व्यवस्थापन र बजार सुनिश्चितता हुन सके अर्घाखाँची भविष्यमा टिमुर उत्पादनको प्रमुख केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?