+
+
Shares

कांग्रेस महामन्त्री घिमिरे र शेखर कोइरालाबीच भेटवार्ता

महामन्त्री घिमिरे भारतबाट फर्किएपछि कोइरालालाई भेट्न पुगेका हुन् । भारत जानुअघि पनि महामन्त्री घिमिरे र कोइरालाबीच भेटवार्ता भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १२ गते ९:५९

१२ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे र संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालाबीच भेट भएको छ । उनीहरूबीच शुक्रबार बिहान विराटनगरस्थित कोइराला निवासमा भेट भएको हो ।

महामन्त्री घिमिरेले नेता कोइरालासँगको भेटका क्रममा खिचिएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

तस्बिरसँगै उनले फेसबुकमा लेखेका छन्, ‘नेपाली कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा पार्टीका आदरणीय नेता डा. शेखर कोइरालासँग भेटघाट र छलफल ।’

महामन्त्री घिमिरे भारतबाट फर्किएपछि कोइरालालाई भेट्न पुगेका थिए । भारत जानुअघि पनि महामन्त्री घिमिरे र कोइरालाबीच भेटवार्ता भएको थियो ।

‘आज बिहान कोइराला निवासमा शेखर दाइसँग भेट भएको हो,’ उनले अनलाइनखबरसँग भने, ‘अस्ति भारत जानुअघि पनि भेट भएको थियो ।’

महामन्त्री घिमिरेले पार्टीको आन्तरिक विवाद समाधान र आसन्न १५औँ महाधिवेशनमा सबै पक्षको सहभागिताबारे छलफल भएको जानकारी दिए ।

‘पार्टीका आन्तरिक विषयलाई कसरी समाधान गर्ने, महाधिवेशनमा सबै सहभागी हुने वातावरण कसरी बनाउने, शेखर दाइका पाँच बुँदा र हाम्रा सात बुँदामा छलफल गरेर कहिलेसम्म टुंग्याउने भन्ने विषयमा कुराकानी भयो,’ उनले भने ।

घिमिरेले नेता कोइराला पार्टी एकताका लागि निकै सकारात्मक रहेको पनि बताए । उनले घिमिरेसँग सभापति गगन थापासँग दोस्रो पटक भेटघाट हुन नसकेको गुनासोसमेत गरेका छन् ।

‘सभापतिले मलाई भेटेपछि अर्को भेट हुन सकेको छैन । सभापतिसँग भेटेपछि र पार्टीको आधिकारिक टोलीसँग छलफल भएपछि पार्टीमा देखिएको विवाद समाधान गर्न सक्छौं । जटिल छैन,’ उनले महामन्त्रीसँग भने ।

आसन्न स्थानीय तह र प्रदेशसभा निर्वाचनका लागि पार्टीको आन्तरिक एकता बलियो हुनु अपरिहार्य रहेको नेता कोइरालाको भनाइ थियो ।

भेटवार्ताका क्रममा नेता कोइरालाले हतार नगरी पर्याप्त छलफल गरेर विवाद टुंग्याउनुपर्ने र सबै पक्ष महाधिवेशनमा सहभागी हुने वातावरण बनाउनुपर्नेमा जोड दिएको महामन्त्री घिमिरेले जानकारी दिए ।

महामन्त्री घिमिरेले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौलासँग फोनमा कुराकानी भएको तथा आफू काठमाडौं फर्किएपछि दुवै नेतासँग भेट गर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?