+
+
Shares

श्रममन्त्री यादवले हारे रास्वपा केन्द्रीय सदस्यको चुनाव

मन्त्रिपरिषद्‍का अन्य आठजना सदस्यहरू रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित हुँदा उनी भने पराजित भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १२ गते १३:२२
फाइल तस्वीर

१२ असार, काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा पराजित भएका छन् ।

मन्त्रिपरिषद्‍का अन्य आठजना सदस्यहरू रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित हुँदा उनी भने पराजित भएका हुन् ।

मन्त्री यादवले खुला (राष्ट्रिय) केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए । ६४ जना खुला (राष्ट्रिय) केन्द्रीय सदस्यका लागि २१० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।

पहिलो चरणको निर्वाचनमा कुल खसेको दुई हजार ९५९ मतमध्ये मन्त्री यादवले मात्र ८६९ मत पाएका छन् ।

बालेन शाह नेतृत्वको सरकार १७ मन्त्रीमध्ये यादवसहित आठ जनाले पार्टीको केन्द्रीय सदस्यका लागि मनोनयन दर्ता गरेका थिए ।

जसमध्ये श्रममन्त्री यादवबाहेक अन्य सात जना मन्त्रीहरू भने रास्वपाको केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

यस्तै परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम पनि केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

रास्वपाको संशोधित विधानमा केन्द्रीय सदस्य १५८ सदस्यीय बनाइएको छ । जसमध्ये पहिलो चरणको निर्वाचनबाट ९९ जना निर्वाचित भइसकेका छन् ।

बाँकीमध्ये ५१ जना सभापति रवि लामिछानेले मनोनीत गर्नेछन् भने ७ प्रदेशका सभापति पदेन सदस्य हुने भएकाले स्वतः केन्द्रीय सदस्य रहने छन् ।

पहिलो चरणको निर्वाचनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत प्राप्त गरेका थिए । उनले दुई हजार ६०७ मत प्राप्त गरेको पार्टीद्वारा गठित निर्वाचन आयोगले जनाएको छ ।

दोस्रो धेरै मत कानुनमन्त्री समेत रहेकी नेतृ गौतमले प्राप्त गरेकी छिन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार गौतमले दुई हजार ५९४ मत प्राप्त गरेकी छिन् ।

आयोगका अनुसार परराष्ट्रमन्त्री खनालले दुई हजार ४९५ र सिँचाइमन्त्री श्रेष्ठले दुई हजार ९४ मत ल्याएका छन् । उनीहरूले प्राप्त गरेको यो मत खुलातर्फको हो । प्रवासको तर्फबाट प्राप्त मत पनि यसमा जोडिन्छ ।

भूगोलतर्फ केन्द्रीय सदस्यमा निर्वाचित सामाजिक सुरक्षामन्त्री बादीले एक हजार ७५१, स्वास्थ्यमन्त्री मेहताले एक हजार ८६१ र कृषिमन्त्री चौधरीले ८९० मत प्राप्त गरेको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?