१२ असार, काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका सांसद शशि थरुरले पासपोर्ट विवादलाई लिएर सरकारमाथि गम्भीर प्रश्न उठाएका छन्। हालै विदेश मन्त्रालयले ‘भारतीय पासपोर्ट मुख्य रूपमा एउटा यात्रा दस्तावेज मात्र भएको र यो नागरिकताको अन्तिम प्रमाण नभएको’ भनी जारी गरेको बयानप्रति टिप्पणी गर्दै थरुरले यदि पासपोर्टले नागरिकता प्रमाणित गर्दैन भने कुन दस्तावेजले गर्छ भन्दै प्रश्न गरेका हुन्।
सांसद थरुरले सामाजिक सञ्जाल एक्समार्फत एक बयान जारी गर्दै विदेश मन्त्रालयको यो भनाइले आम जनतामा भ्रम र ठूलो राजनीतिक बहस सिर्जना गरेको बताएका छन्। सरकारले यो कुनै नयाँ व्यवस्था नभई पासपोर्ट ऐन, १९६७ को धारा २० मा आधारित पुरानै कानुनी प्रावधान भएको स्पष्टिकरण दिए पनि आम नागरिकका लागि यस्तो कानूनी भिन्नताले व्यावहारिक रूपमा कुनै अर्थ नराख्ने थरुरको तर्क छ।
दशकौँदेखि पासपोर्टलाई पहिचानको सबैभन्दा भरपर्दो दस्तावेज मानिँदै आएको उल्लेख गर्दै थरुरले यसलाई प्राप्त गर्नका लागि नागरिकहरूले पुलिस भेरिफिकेसन र कयौँ कागजातहरूको जाँच जस्ता लामो प्रक्रिया पार गर्नुपर्ने कुरा स्मरण गराएका छन्। सरकार आफैँले नागरिकताको पर्याप्त प्रमाण खोजेर मात्र पासपोर्ट जारी गर्ने र पछि त्यही दस्तावेजलाई नागरिकताको अन्तिम प्रमाण मान्न अस्वीकार गर्नु विरोधाभासपूर्ण स्थिति भएको उनले बताएका छन्।
थरुरले भारतको सर्वोच्च अदालतले यसअघि नै आधार कार्ड केवल पहिचान र बसोबासको प्रमाण मात्र भएको र यो नागरिकताको प्रमाण नभएको स्पष्ट पारिसकेको कुरालाई पनि उठाएका छन्। यस्तो अवस्थामा करोडौँ भारतीय नागरिकहरू सरकारद्वारा जारी गरिएका आधुनिक दस्तावेजहरू भएर पनि कानूनी रूपमा आफ्नो नागरिकताको अन्तिम प्रमाणविहीन हुने स्थितिमा पुग्ने चिन्ता उनले व्यक्त गरेका छन्। उनले सरकारलाई कानूनमा संशोधन गर्दै यदि सरकारद्वारा रद्द नगरिएको खण्डमा पासपोर्ट र आधार कार्डलाई नै भारतीय नागरिकताको वैध र अन्तिम प्रमाण मानिने व्यवस्था गर्न सुझाव समेत दिएका छन्।
प्रतिक्रिया 4