+
+
Shares

सिरहाका किसानलाई आँप टिप्ने चटारो

बिहान सबेरै बगैंचामा पुगेर आँप टिप्ने, क्रेट तथा कार्टुनमा प्याक गर्ने र देशका विभिन्न शहरसम्म पठाउने सिरहाका किसानको दैनिकी नै बनेको छ ।

सुरेश राय सुरेश राय
२०८३ असार १६ गते ९:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहाका किसान अहिले आँप टिप्ने, प्याक गर्ने र देशका विभिन्न शहरमा पठाउने कार्यमा व्यस्त रहेका छन् ।
  • धान र गहुँभन्दा कम लागतमा बढी आम्दानी हुने भएकाले सिरहाका किसान व्यावसायिक आँप खेतीतर्फ आकर्षित भएका हुन् ।
  • चिस्यान केन्द्रको अभाव र रोग तथा किराको प्रकोपका कारण आँप उत्पादनमा समस्या भइरहेको किसानले गुनासो गरेका छन् ।

१५ असार, सिरहा । सिरहाका किसान यतिबेला आँप टिप्न व्यस्त छन् । बिहान सबेरै बगैंचामा पुगेर आँप टिप्ने, क्रेट तथा कार्टुनमा प्याक गर्ने र देशका विभिन्न शहरसम्म पठाउने उनीहरूको दैनिकी नै बनेको छ ।

जेठ–असार आँप पाक्ने मुख्य समय भएकाले जिल्लाभरका व्यावसायिक आँप किसान बजार केन्द्रित बनेका छन् ।

देशकै प्रमुख आँप उत्पादन क्षेत्रमध्ये पर्ने सिरहाको पूर्व–पश्चिम राजमार्ग आसपासका सडक किनारामा आँपले भरिएका क्रेट र पिकअप गाडीको चहलपहल देखिन्छ । बगैंचादेखि बजारसम्म किसानको दौडधुपले गाउँ–बस्ती नै आँपमय बनेको छ।

गोलबजार नगरपालिका–१ बलडाँडाका ४७ वर्षीय गुरुदेव पूर्वे बिहानै मजदुर, क्रेट र आवश्यक सामान लिएर बगैंचातर्फ लाग्छन् । दिनभर आँप टिप्ने, छानेर प्याक गर्ने र साँझ गाडीमार्फत विभिन्न शहर पठाउने काममा उनी व्यस्त रहन्छन् ।
‘आज सुरुमा बम्बई जातको आँप टिप्यौं, अहिले माल्दह टिपिरहेका छौं,’ उनले भने, ‘जेठको पहिलो सातादेखि नै यही दिनचर्या छ । बेलुका गाडीमा आँप पठाएपछि मात्रै फुर्सद हुन्छ ।’

पूर्वेको आफ्नै साढे तीन बिघा जमिन छ, जहाँ आँपका बोट छन् । उनले छिमेकीका बगैंचासमेत ठेक्कामा लिएर अहिले करिब ५० वटा बगैंचाको व्यवस्थापन गरिरहेका छन् ।

धान र गहुँभन्दा कम लागतमा आँप खेतीले बढी आम्दानी दिने भएकाले आफू यसतर्फ आकर्षित भएको उनी बताउँछन् । ‘अन्य बालीमा मल, बीउ, मजदुर र जोताइमै धेरै खर्च हुन्छ । कहिले त लागत पनि उठ्दैन,’ उनले भने, ‘आँपमा मिहिनेत र लगानी कम लाग्छ, आम्दानी राम्रो हुन्छ ।

उही गाउँका अर्का किसान विनोद यादव पनि अहिले आँप टिप्न व्यस्त छन् । आफ्नो ६ बिघा जमिनमध्ये ३ बिघामा आँप खेती गरेका यादवले अन्य बालीभन्दा आँप खेती धेरै लाभदायी भएको अनुभव सुनाए ।

‘वर्षमा एक–दुई पटक बगैंचा जोतेर सरसफाइ गरे पुग्छ,’ उनले भने, ‘धान–गहुँको तुलनामा लागत कम र आम्दानी राम्रो भएकाले अब आँप खेती विस्तार गर्दैछु ।’

किसानहरूका अनुसार आँपको उत्पादन बढ्दै गए पनि बजार व्यवस्थापन र भण्डारणको अभावले उचित मूल्य भने पाउन सकिएको छैन ।

गोलबजार नगरपालिका–२ का किसान रामकुमार महतोले एकैपटक धेरै आँप पाक्दा बजारमा मूल्य घट्ने समस्या रहेको बताए । ‘गर्मी र वर्षासँगै आँप एकैचोटि पाक्छ,’ उनले भने, ‘समयमै बजार पुर्‍याउन नसके कुहिन्छ । चिस्यान केन्द्र भए आँप लामो समय राखेर राम्रो मूल्यमा बेच्न सकिन्थ्यो ।’

किसानहरूले चिस्यान केन्द्र, प्रशोधन उद्योग र निर्यात सहजीकरणका लागि सरकारी सहयोग आवश्यक रहेको बताएका छन् । निजी लगानीबाट यस्ता पूर्वाधार निर्माण गर्न नसकिने उनीहरूको भनाइ छ ।

बजार समस्यासँगै रोग र किराको प्रकोपले पनि किसान चिन्तित छन् । पाक्न लागेको फलमा विषादी प्रयोग गर्न नमिल्ने भएकाले ठूलो क्षति बेहोर्नुपरेको किसानहरूको गुनासो छ । किसान गुरुदेव पूर्वे भन्छन्, ‘यही बेला किराले आँप कुहाइदिन्छ । विषादी हाल्न पनि मिल्दैन । यस्तो अवस्थामा फल संरक्षणका लागि प्राविधिक सुझाव र प्रभावकारी उपाय आवश्यक छ ।’

कृषि ज्ञान केन्द्र सिरहाका सूचना अधिकारी सुदीप खनालका अनुसार जिल्लामा हाल करिब ९ हजार ५० हेक्टर क्षेत्रफलमा आँप खेती भइरहेको छ । यस वर्ष प्रतिहेक्टर ८ मेट्रिक टनका दरले करिब ७२ हजार ४०० मेट्रिक टन आँप उत्पादन हुने अनुमान गरिएको छ । गत वर्ष भने प्रतिहेक्टर ११ मेट्रिक टनभन्दा बढी उत्पादन भएको थियो ।

सिरहामा बम्बई, माल्दह, कृष्णभोग, अम्रपाली, दशहरी, कलकतिया र जर्दा जातका आँप उत्पादन हुँदै आएका छन् । तीमध्ये स्वाद, गुणस्तर र लोकप्रियताका कारण माल्दहलाई आँपको राजा मानिन्छ ।

सिरहाको हावामा मिसिएको आँपको सुगन्ध केवल स्वादको प्रतीक मात्र होइन, हजारौं किसानको जीविकोपार्जन, रोजगारी र आत्मनिर्भरताको आधार पनि बनेको छ। तर उत्पादनसँगै बजार, भण्डारण, प्रशोधन र रोग व्यवस्थापनका चुनौती समाधान गर्न सकिए मात्र सिरहाको आँपले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा अझ बलियो पहिचान बनाउन सक्ने देखिन्छ ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?