१५ असार, काठमाडौं । नेपालको डिजिटल मनोरञ्जन क्षेत्रमा सक्रिय नेट टिभी प्रालिले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागबाट ओटीटी प्रसारण सेवा सञ्चालनको आधिकारिक इजाजतपत्र प्राप्त गरेको छ ।
नेटटिभीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरन राजभण्डारीले ओटीटी सेवाको आधिकारिक लाइसेन्स प्राप्त हुनु कम्पनीका लागि ऐतिहासिक उपलब्धि भएको बताए । उनले यस उपलब्धिले नेपाली डिजिटल मनोरञ्जन क्षेत्रलाई थप व्यवस्थित र उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।
सन् २०१७ मै ओटीटी एप सार्वजनिक गरेको नेटटिभी नेपालकै पहिलो आईपीटिभी सेवा प्रदायकसमेत हो। कम्पनीले नेपालमा भिडियो स्ट्रिमिङ तथा डिजिटल कन्टेन्टको विकासमा योगदान पुर्याउँदै आएको जनाएको छ।
सरकारबाट लाइसेन्स प्राप्त गरेसँगै नेटटिभी एप र वेबसाइटमार्फत नेपालभर २४ घण्टा सेवा सञ्चालन गर्ने बाटो खुलेको कम्पनीले जनाएको छ। अब नेटटिभीले नेपाली, अंग्रेजी र हिन्दी भाषाका इजाजतप्राप्त टेलिभिजन च्यानल, अनुमति प्राप्त विदेशी कार्यक्रम तथा विभिन्न डिजिटल सामग्री प्रसारण गर्नेछ।
कम्पनीका अनुसार नेटटिभीमा एक हजारभन्दा बढी चलचित्र, ब्लकबस्टर फिल्म, सिरिज, स्वदेशी तथा विदेशी ड्रामा, लाइभ स्पोर्ट्स, लाइभ टिभी तथा विभिन्न च्यानलहरू उपलब्ध छन्। प्रयोगकर्ताले मोबाइल, ट्याब्लेट वा स्मार्ट टिभीमार्फत आफूलाई अनुकूल समयमा यी सामग्री हेर्न सक्नेछन्। ‘एउटै सब्सक्रिप्सन, असीमित मनोरञ्जन’ भन्ने नारासहित सेवा विस्तार गरिरहेको नेटटिभीले ग्राहक, साझेदार र शुभचिन्तकहरूको निरन्तर साथ र विश्वासले आफूलाई थप गुणस्तरीय सेवा प्रदान गर्न प्रेरित गरेको जनाएको छ।
ललितपुरको कुसुन्तीमा मुख्यालय रहेको नेट टिभी प्रालिले नेपाली दर्शकलाई डिजिटल मनोरञ्जनको नयाँ अनुभव प्रदान गर्ने उद्देश्यले सेवा विस्तार गरिरहेको जनाएको छ।
प्रतिक्रिया 4