+
+
Shares

बाजुराको बुढीगंगामा थन्किएको बेलिब्रिज दानसाँघु लगेर सञ्चालन

लामो समयदेखि बडिमालिका नगरपालिकाको बुढीगंगा नदीमा थन्किएको बेलिब्रिज दानसाँघु खोलामा स्थानान्तरण गरी सञ्चालनमा ल्याइएको हो ।

प्रकाश सिंह प्रकाश सिंह
२०८३ असार १६ गते १८:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाजुराको बुढीनन्दा नगरपालिका–२ स्थित दानसाँघु खोलामा निर्माण गरिएको बेलिब्रिज सञ्चालनमा आएको छ ।
  • बडिमालिका नगरपालिका–६ को बुढीगंगा नदीबाट सारिएको उक्त बेलिब्रिजले बाजुराका चार स्थानीय तहसहित हुम्ला र मुगुका नागरिकलाई आवतजावतमा सहज बनाएको छ ।
  • सडक डिभिजन कार्यालय अछामका अनुसार २ करोड १ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण सम्पन्न उक्त पुलले बर्खायामको यातायात समस्या समाधान गरेको छ ।

१६ असार, बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका–२ दानसाँघु खोेलामा निर्माण गरिएको बेलिब्रिज सञ्चालनमा आएको छ । लामो समयदेखि बडिमालिका नगरपालिकाको बुढीगंगा नदीमा थन्किएको बेलिब्रिज दानसाँघु खोलामा स्थानान्तरण गरी सञ्चालनमा ल्याइएको हो ।

बडीमालिका नगरपालिका–६ जडाङ्गास्थित बुढीगंगा नदीमा रहेको उक्त बेलिब्रिज दानसाँघु खोलामा सारेर सञ्चालनमा ल्याइएको बुढीनन्दा नगरपालिकाका प्रमुख जनक बोहराले जानकारी दिए ।

दानसाँघु खोलामा पुल नहुँदा समस्या भोग्दै आएका स्थानीयवासीलाई बेलिब्रिज सञ्चालनमा आएपछि बर्खायाममा आवतजावत गर्न सहज भएको उनले बताए ।

नगर प्रमुख बोहराले उक्त खोलामा बेलिब्रिज सञ्चालनमा आएपछि जिल्लाको पूर्वी उत्तरी क्षेत्रका चार वटा स्थानीय तहका साथै हुम्ला र मुगुलगायत छिमेकी जिल्लाका नागरिकलाई समेत यातायातमा सहजता भएको बताए ।

उक्त बेलिब्रिज करिब २ करोड रुपैयाँ बढीको लागतमा जडाङ्गाबाट मार्तडी–कोल्टी सडकअन्तर्गत दानसाँघु खोलामा सारिएको सडक डिभिजन कार्यालय अछामले जनाएको छ ।

बेलिब्रिज निर्माणको ठेक्का डीएस जनकल्याण जेभी काभ्रेले पाएको थियो । चालु आर्थिक वर्षको असार मसान्तभित्र निर्माण कार्य सक्ने गरी भ्याट बाहेक २ करोड १ लाख १० हजार ८१४ रुपैयाँमा ठेक्का सम्झौता गरी काम सुरु गरिएको थियो ।

जडाङ्गास्थित बुढीगंगा नदीमा पक्की पुल बनेपछि वर्षौंसम्म उक्त बेलिब्रिज प्रयोगविहीन बनेको थियो । स्थानीयवासीले लामो समयदेखि दानसाँघु खोलामा पुल निर्माण गर्न माग गर्दै आएका थिए ।

यसअघि उक्त खोलामा पुल नहुँदा वर्षातमा पानीको बहाव बढेर पूर्ण रूपमा यातायात सेवा अवरुद्ध हुने गरेको थियो भने त्यस क्षेत्रका नागरिकले आवतजावतमा समेत सास्ती भोग्दै आएका थिए । उक्त खोलामा बेलिब्रिज निर्माण भएसँगै सहज रूपमा यातायात सञ्चालन भइरहेको यातायात व्यवसायीहरू बताउँछन् ।

बाजुराको पूर्वी–उत्तरी भेगका चार वटा स्थानीय तह बुढीनन्दा नगरपालिका, जगन्नाथ, स्वामीकार्तिक खापर र हिमाली गाउँपालिका जाने लाइफ लाइनका रूपमा रहेको मार्तडी–कोल्टी सडकखण्डका विभिन्न खोलामा पुल नहुँदा यातायातमा समस्या रहँदै आएको छ ।

सदरमुकाम मार्तडी नजिकै रहेको अनाइ खोला र कोल्टीको दानसाँघु खोलामा पुल निर्माण भएर सञ्चालन भए पनि बडीमालिकाको बाउली खोलामा वर्षौं बितिसक्दा पनि पुल निर्माण अलपत्र अवस्थामा छ भने रजातोली खोलामा निर्माणाधीन छ ।

ती खोलामा पुल नहुँदा वर्षातमा करिब तीन महिना मार्तडी–कोल्टी सडक अवरुद्ध हुँदै आएको छ । हाल दानसाँघु र अनाइ खोलामा पुल निर्माण सम्पन्न भएको तथा बाउली र रजातोली खोलामा पनि तत्काल पुल निर्माण कार्य सम्पन्न भएपछि बाह्रैमास सडकखण्ड सुचारु हुने विश्वास स्थानीयको छ ।

लेखक
प्रकाश सिंह

परोपकारी पत्रकारितामा रूचि राख्ने सिंह बाजुराका पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?