News Summary
Generated by OK AI. Editorially reviewed.- विभिन्न राजनीतिक दलका नेताहरूले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता जस्ता संवैधानिक व्यवस्थालाई हटाउने प्रयासले मुलुकमा द्वन्द्व निम्तिने चेतावनी दिएका छन् ।
- कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधान संशोधन कार्य प्रमाण, कार्यान्वयनको अनुभव र व्यापक राजनीतिक सहमतिमा आधारित हुनुपर्नेमा जोड दिए ।
- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीयता गुम्दा समावेशिता, लोकतन्त्र र संविधान नै समाप्त हुने जोखिम रहने बताए।
१६ असार, काठमाडौं । विभिन्न राजनीतिक दलका नेताहरूले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशिता नेपालको संविधानबाट हट्न नसक्ने बताए । यस्तो प्रयास गरे मुलुकमा द्धन्द्ध सिर्जना हुने उनीहरूको चेतावनी छ ।
फेडरालिजम् एण्ड लोकलाईजेसन सेन्टर (एफएलसी) ले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा सहभागी राजनीतिक दलका नेता, सांसद, संविधानविद्, युवा, पत्रकार, नागरिक समाजका अगुवाहरुले यस्तो बताएका हुन् ।
पूर्व सांसद डा. खिमलाल देवकोटाले संघीयताको माग विगत धेरै दशकदेखि क्रमश विकसित हुँदै आएको बताए । उनका अनुसार वेदानन्द झा र गजेन्द्र नारायण सिंहले अघि सारेको विकेन्द्रीकृत शासनको अवधारणादेखि माओवादीद्वारा प्रस्तावित पहिचानमा आधारित प्रदेश संरचना तथा मधेश आन्दोलनसम्मका राजनीतिक माग र योगदानले संघीयतालाई राष्ट्रिय राजनीतिक एजेन्डाको केन्द्रमा स्थापित गरेको हो ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान संशोधनसम्बन्धी छलफल प्रमाण, कार्यान्वयनबाट प्राप्त अनुभव तथा व्यापक राजनीतिक सहमतिमा आधारित हुनुपर्नेमा जोड दिए । उनले नेपालको संघीय व्यवस्थालाई आधार प्रदान गर्ने संवैधानिक सिद्धान्तहरूको संरक्षण गर्दै लोकतान्त्रिक संस्थाहरूलाई थप सुदृढ बनाउने दिशामा संविधान संशोधन केन्द्रित हुनुपर्ने बताए ।
नेपाली कम्युनिष्ट पार्टीका नेता देवप्रसाद गुरुङले संघीयता र धर्मनिरपेक्षताजस्ता स्थापित संवैधानिक आधारभूत विषयहरूलाई अनावश्यक रूपमा पुनः बहसमा ल्याउनु उपयुक्त नहुने बताए । उनले सुधारका प्रयासहरुमा संविधानको कार्यान्वयन, संस्थागत प्रभावकारिता तथा जवाफदेहितालाई सुदृढ बनाउन केन्द्रित हुनुपर्ने सुझाए । अहिले संविधान संसोधनको मुद्दा उठाउनुलाई उनले प्याण्डोरा बाकस खोल्नु जस्तै भएको तर्क गरे ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा संघीय शासन प्रणाली बहिष्करणको अन्त्य, विविधताको सम्मान तथा राज्यशक्तिको विकेन्द्रीकरणका लागि दशकौँ लामो राजनीतिक संघर्षको परिणामस्वरूप स्थापित भएको बताए ।
‘हामीले संघीयता गुमायौँ भने समावेशिता, लोकतन्त्र र अन्ततः संविधान नै गुम्ने जोखिम रहन्छ’ उनले भने । प्रदेश संरचनालाई कमजोर बनाउनेभन्दा यसको संस्थागत क्षमता अभिवृद्धि गर्नुपर्नेमा उनको जोड छ ।
जनमत पार्टीका अध्यक्ष डा. सीके। राउतले संविधान संशोधन लोकतान्त्रिक प्रक्रियाको वैध अभ्यास भए पनि अहिले समस्या संविधान संशोधनमा होइन, संविधानको खारेजी होला कि भन्ने डरमा रहेको बताए ।
संघीयताका पक्षधरहरूले डिजिटल माध्यम र एल्गोरिदमले निर्देशित सूचना परिवेशअनुसार आफूलाई रूपान्तरण गर्दै युवापुस्तासम्म पुग्न सहज, तथ्यमा आधारित तथा विश्वसनीय सामग्री उत्पादन गर्नुपर्ने आवश्यकता औँल्याए ।
श्रम स्वीकृति पार्टीका सांसद आरेन राईले संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन रचनात्मक संसदीय भूमिका तथा तथ्यमा आधारित सार्वजनिक संवादको महत्त्वमा जोड दिए । आफ्नो पार्टी सदैव संघीयताको पक्षमा चट्टान झैं खडा हुने प्रतिवद्धता जनाए ।
‘संविधान संशोधनमा संख्याभन्दा सहमति आवश्यक’
राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले संविधान संशोधनका लागि संख्याभन्दा प्रमाण र सहमति आवश्यक हुने बताए ।
लोकतान्त्रिक शक्तिहरूले आफ्नो लोकतान्त्रिक इतिहास र योगदानलाई प्रभावकारी रूपमा जनतासम्म पुर्याउन नसकेको स्वीकार गर्दै उनले संघीयताका उपलब्धि तथा यसको संवैधानिक औचित्यबारे प्रभावकारी सार्वजनिक सञ्चार आवश्यक रहेकोमा जोड दिए ।
छलफलमा सहभागी पजेनजी अगुवा माजिद अन्सारीले ‘बहस अब प्रदेश महँगो छ कि छैन भन्ने होइन, संघीय सरकार महँगो छ कि छैन भन्ने हुनुपर्ने’ बताए ।
युवा अगुवा अदिति साह, विनोद देउवा लगायतले संविधान संशोधन प्रमाण, कार्यान्वयन अनुभव र व्यापक राजनीतिक सहमतिमा आधारित हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया 4