+
+
Shares

सबै उजुरीकर्तालाई संसदीय सुनुवाइ समितिमा बोलाउन आवश्यक छैन : सांसद बुर्लाकोटी

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १७ गते १४:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले प्रस्तावित व्यक्तिविरुद्धका सबै उजुरीकर्तालाई संसदीय सुनुवाइ समितिमा बोलाउन आवश्यक नरहेको बताउनुभयो ।
  • उहाँले उजुरीकर्तालाई बोलाउने क्षेत्राधिकार समितिका सभापतिमा राख्नुपर्ने र आवश्यक परे सदस्यले सुझाव दिनसक्ने व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।
  • सबैलाई बोलाउँदा समय व्यवस्थापनमा कठिनाइ हुने भन्दै उजुरीको प्रकृति र आवश्यकताका आधारमा सिमित उजुरीकर्तासँग मात्र छलफल गर्नुपर्ने उहाँको भनाइ छ ।

१७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले सुनुवाइको लागि प्रस्तावित व्यक्तिविरुद्ध उजुरी दिने सबैलाई संसदीय सुनुवाइ समितिमा बोलाउन आवश्यक नरहेको बताएका छन् ।

बुधबार संसदीय सुनुवाइ समितिको बैठकमा भएको आगामी सुनुवाई सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी सम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन् ।

उजुरीकर्तालाई बोलाउने वा नबोलाउने अधिकार समितिका सभापतिको क्षेत्राधिकारभित्र राख्नुपर्ने बताउँदै उनले कुनै उजुरीकर्ता अनिवार्य रूपमा बोलाउनुपर्ने आवश्यकता देखिएमा समितिका सदस्यले सभापतिलाई सुझाव दिन सक्ने व्यवस्था गर्नुपर्ने जिकिर गरे ।

‘उजुरीकर्ता बोलाउने या नबोलाउने, कसलाई बोलाउने भन्ने क्षेत्राधिकार सभापतिकोमा राखौँ । तर सभापतिज्यूले कुनै उजुरीकर्ता छुटाउनु भयो, त्यो उजुरीकर्ता चाहिँ बोलाउनुपर्छ भन्ने छ भने सभापतिलाई यो उजुरीकर्ता पनि बोलाऊँ भनौँ । त्यसपछि हामी अलिकति स्पेसिफिक हुन्छौँ । अब र्‍याण्डमली सबैलाई जति उजुरीकर्ता छन्, सबैलाई बोलाउँदाखेरि उजुरीकर्ता बोल्न नसक्ने उहाँले ल्याएको वकिल मात्रै बोल्ने स्थिति भयो । त्यस्तो चाहीँ हुन हुँदैन,’ उनले भने ।

सबै उजुरीकर्तालाई बोलाउँदा समय व्यवस्थापन र सुनुवाइको गुणस्तर प्रभावित हुने भएकाले उजुरीको प्रकृति र आवश्यकताका आधारमा सिमित उजुरीकर्तालाई मात्र बोलाउने अभ्यास गर्नुपर्नेमा उनको जोड थियो ।

प्रश्तावित व्यक्तिविरुद्ध उजुरी परेमा सूचना जारी गर्ने निर्णयका लागि आवश्यक परेमा छिटो जुम बैठक आयोजना गर्ने व्यवस्था गर्न पनि उनले माग गरे ।

‘उजुरीकर्ता स्वयं बोल्नुपर्छ कि वकिलले नै उजुरी हालेको हुनुपर्‍यो । यो सभापति ज्यूको क्षेत्राधिकारमा राख्ने र हामी सदस्यले यो उजुरीकर्ता चाहिँ बोलाउनु पर्‍यो सभापतिज्यू भनेपछि बोलाउने । २० वटा उजुरीकर्ता होलान्, ५० वटा उजुरीकर्ता होलान्, सबैलाई बोलाउन आवश्यक छैन,’ उनले भने, ‘उजुरीकर्ता धेरै बनाइदिने अनि यो समितिलाई पेलपाल गर्ने हो भने उजुरी धेरै बनाउँदा पनि हुँदो रहेछ, भन्ने मैले थाहा पाएँ । उजुरीकर्ता धेरै बनाइदिएपछि यहाँ उजुरी नै हामीले राम्रोसँग हेर्न भ्याउँदैनौँ । गडबड पारेपछि त्यो स्वत: पास हुनेमा जान्छ । त्यसलाई अलिकति राम्रो गरौँ भन्ने मनशायले मैले यो प्रश्ताव राखेँ ।’

उनले संसदीय सुनुवाई प्रक्रियालाई सरल, छिटो, पारदर्शी र प्रभावकारी बनाउन कार्यविधिमा सुधार आवश्यक रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?