+
+
Shares
थमन विक हत्या प्रकरण :

जन्मकैदको सजाय पाएका निलम्बित सांसद शर्मालाई उच्चले तोक्यो ५ वर्ष कैद

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १७ गते १९:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उच्च अदालत जनकपुरले सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा निलम्बित सांसद अभिराम शर्मालाई जन्मकैदको सट्टा पाँच वर्ष कैद सजाय तोकेको छ।
  • न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले अन्य तीनजनाको हकमा भने जिल्ला अदालतको जन्मकैदको फैसला नै सदर गरेको छ।
  • २०७२ सालको मधेश आन्दोलनका क्रममा आक्रमणमा परी घाइते भएका असई विकको एम्बुलेन्सबाट निकालेर कुटपिट गर्ने क्रममा मृत्यु भएको थियो।

१७ असार, जनकपुरधाम । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्लाबाट जन्मकैदको सजाय पाएका मधेशका निलम्बित सांसद अभिराम शर्मालाई उच्च अदालतको आदेशले राहत भएको छ ।

जिल्ला अदालतको फैसला उल्टाएर उनलाई उच्च अदालत जनकपुरले पाँच वर्ष कैद सजाय तोकेको छ ।

तत्कालीन लोसपाका संसदीय दलका नेता शर्मा जन्मकैद सजाय सुनाइएपछि फरार छन् । उनलाई मधेश प्रदेशसभाले निलम्बन गरिसकेको छ ।

जिल्ला अदालत महोत्तरीले २०८० मंसिर २८ गते सुनाएको फैसालामा शर्मा लगायत ७ जनलाई जन्मकैदको सजाय सुनाएको थियो । उच्चले भने तीनजनाको हकमा जिल्लाको फैसला जन्मकैद सजर र चारजनलाई पाँचपाँच वर्ष कैद सजाय सुनाएको हो ।

अभियुक्तहरु संजय साह, मोहन ठाकुर, प्रदीप रायलाई जन्मकैद जिल्लाकै फैसला सदर गरेको हो । यस्तै अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको फैसला उल्टाएर जनही पाँचपाँच वर्ष कैद सजाय सुनाएको हो ।

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो ।

२०८० मंसिर २८ गते जिल्ला अदालत महोत्तरीका न्यायाधीश उद्धबप्रसाद भट्टराईको इजलाशले सुनाएको फैसला विरुद्ध शर्माका बुवा महेन्द्र शर्माले २०८१ वैशाख ९ गते, मिश्रको हकमा उनको श्रीमती संगीता कुमारी शर्मा, पाण्डेको हकमा उनको छोरी प्रियंका पाण्डे र धमेन्द्र रायको हकमा उनको दाजु अरविवन्द कुमार रायले उच्च अदालतमा निवेदन दिएका थिए । अढाई वर्षको अवधिमा ५० औं पेशीमा आज फैसलाबाट फैसला सुनाइएको हो । ४९ वटा पेशी स्थगित भएको थियो ।

मधेश आन्दोलनको क्रममा २०७२ भदौ २५ गते हेटौंडाबाट संयुक्त राष्ट्रसंघीय मिसनका लागि परीक्षा दिएर ड्युटीको लागि महोत्तरी आएका असई थमन बिकमाथि महोत्तरीमा आन्दोलनकारीले आक्रमण गरेका थिए ।

घाइते बिकलाई जलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि एम्बुलेन्समा जनकपुर ल्याउँदै गर्दा महोत्तरीको साविक अनैठा गाविसमा आन्दोलनकारीले निकालेर कुटपिट गर्दा उनको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?