१८ असार, काठमाडौं । प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका सांसद विष्णुबहादुर विश्वकर्माले मन्त्रीहरूको सवारीसाधनका लागि साइकलको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
सरकारले अर्बौंको गाडीहरू खरिद गर्न लागेको समाचार बाहिर आएको उल्लेख गर्दै उनले वर्तमान सरकारका मन्त्रीहरू र सांसदहरू पनि जेनजी पुस्ताका भएकाले उनीहरूका लागि साइकलको व्यवस्था गर्न उपयुक्त हुने जिकिर गरे ।
बिहीबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद विश्वकर्माले अर्बौंको गाडी जलाएर खरानी बनाउनेहरूले फेरि अर्बौंको गाडी खरिद गर्ने तयारी गरेको भन्दै आपत्ति जनाए ।
उनले नागरिक सिटामोल खान नपाएर मर्नुपर्ने अवस्था रहेको बेला सरकारले पनि सुखसयल र मनोरञ्जनका लागि गाडी खरिद गर्न लागेको भन्दै आक्रोश समेत व्यक्त गरे ।
विश्वकर्माले भने, ‘सुशासनको वैशाखीमा अडिएको हाम्रो सरकारले अर्बौंको गाडीहरू किन्दैछ भन्नेकुराहरू आइराखेको छ । अर्बौंको गाडीहरू जलाएर खरानी बनाएको छ । र फेरि अर्बौंको गाडी किन्दैछ भन्ने खबरले सनसनी पैदा गराएको छ । आज सुकुमवासीहरू खाना नपाएर तडपी रहेका छन् । सिटामोल नपाएर मर्नु परिराखेको छ । ओत लाग्न नपाएर बिरामी परिरहेका छन् । यो अवस्थालाई नहेरेर आफ्नो सुखसयल र मनोरञ्जनका लागि गाडी खरिद गर्दैछ । यो विडम्बना हो ।’
उनले अगाडि भने, ‘हाम्रो नयाँ सरकारले नयाँ काम भनेको अब मन्त्री, सांसदहरू जेनजी हुनुहुन्छ । साइकल किन्नु पर्यो अब । साइकल किनेर सरर हिँड्ने । साइकलमा जाने, साइकलमा नै आउने । बरु चन्दाबाट पुनर्निर्माण भए सिंहदरबार पनि यहीँबाट निर्माण होस् । म यहीँ भन्न चाहन्छु सरकारलाई ।’
सांसद विश्वकर्माले सरकारले सुशासनको कुरा गरे पनि सोही अनुसारको व्यवहार देखाउन नसकेको जिकिर पनि गरे ।
प्रतिक्रिया 4