१९ असार, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षका नेताहरू बैठक सुरु भएको छ । शुक्रबार दिउँसो निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेको इतर समूहको बैठक गल्फुटारस्थित खड्का निवासमा सुरु भएको हो ।
बैठकमा हालसम्म पूर्वउपसभापति विमलेन्द्र निधि र विजय गच्छदार , पूर्व महामन्त्रीहरू कृष्ण सिटौला, डा. शशांक कोइराला र प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री महालक्ष्मी डिना उपाध्याय, सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, कर्णाली सभापति ललितजंग शाही, नेताहरू मीन विश्वकर्मा, एनपी साउद, डा. प्रकाशशरण महत, रमेश लेखक, कृष्णप्रसाद पौडेल, आनन्दप्रसाद ढुंगाना, मोहन बस्नेतलगायत सहभागी भइसकेका छन् ।
बैठकअघि बिहीबार बिहान खड्का निवासमा निवर्तमान कार्यवाहक सभापति खड्का र डा. शेखर कोइरालाबीच छलफल भएको थिए । त्यसपछि डा शशांक कोइरालालाई भेट्न दिउँसो खड्का महाराजगञ्ज गएका थिए ।

यस्तै बिहीबार नै विमलेन्द निधि, प्रकाशमान सिंह र डा. शशांक कोइरालाबीच निधि निवास बानेश्वर हाइटमा छलफल भएको थियो ।
इतर समूहले सातवटै प्रदेशमा प्रदेश स्तरीय भेलाको आयोजना गरिसकेको छ । सोही क्रममा कोशी प्रदेशको भेलामा नेता डा. शेखर कोइरालालाई प्रमुख अतिथि बनाएको थियो ।
आजको बैठकमा सातै प्रदेशमा सम्पन्न भेलाको समीक्षा र भावी रणनीतिबारे छलफल हुने बताइएको छ ।
नेता खड्काले बैठकका एजेन्डाबारे जानकारी नदिएपनि छलफल र भेटघाटका लागि नेताहरूलाई बोलाइएको प्रतिक्रिया दिए ।
स्रोतका अनुसार इतर समूहले राष्ट्रिय भेलाको तयारी गरेको छ । बैठकमा राष्ट्रिय भेलाबारे पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया 4