१९ असार, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु किसानले पाउनुपर्ने सम्पूर्ण भुक्तानी यही असार मसान्तसम्म भइसक्ने बताएकी छन् । शुक्रबार रासससँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।
‘चालु आर्थिक वर्षको असारभित्र उखु किसानको बाँकी रकम जसरी पनि भुक्तानी गरिनेछ,’ उनले भनिन्, ‘यसवर्ष प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान उपलब्ध गराइनेछ ।’
किसानले जुन वर्ष क्रसिङ गरेको हो, त्यसै वर्ष भुक्तानी सुनिश्चित गर्ने पनि उनले बताइन् । ‘किसानको रकम भुक्तानी हाम्रो प्राथमिकता हो र यसका लागि हामीले सक्दो मिहिनेत गरेका छौं,’ उनले भनेकी छन् ।
मन्त्री चौधरीले किसानलाई दिइने अनुदान भुक्तानीमा उल्लेख्य प्रगति भएको बताउँदै चालु आर्थिक वर्षको उखु क्रसिङ सम्पन्न भएपछि सरकारले अनुदान रकम समयमै निकासा गरी सम्बन्धित निकायमा पठाइसकेको जानकारी दिइन् ।
विगतमा उखु क्रसिङ भएको अर्को आर्थिक वर्षमा मात्र भुक्तानी हुने गरेको अवस्था रहने गरेकामा यस वर्ष भने सोही आर्थिक वर्षभित्रै भुक्तानी गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।
यसबीच उखु मिलहरूले किसानलाई दिनुपर्ने प्रतिक्विन्टल २० रुपैयाँमध्ये करिब ९३ प्रतिशत भुक्तानी गरिसकेका छन् । त्यसैगरी सरकारले उपलब्ध गराउने प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान पनि सम्बन्धित निकायमा निकासा भइसकेको भन्दै आवश्यक प्रक्रिया पूरा गरी किसानको खातामा जम्मा गरिने पनि मन्त्री चौधरीले बताइन् ।
एक अर्ब ५१ करोड रुपैयाँ अनुदान रकम भुक्तानीको प्रक्रिया अन्तिम चरणमा रहेको उनले जानकारी दिइन् । ‘बाँकी केही भुक्तानी किसानको बैंक खाता, पान नम्बरलगायत प्राविधिक विवरण नमिलेकाले रोकिएको छ । ती समस्या समाधान हुनेबित्तिकै बाँकी रकम पनि भुक्तानी हुन्छ,’ मन्त्री चौधरीले भनिन् । –रासस
प्रतिक्रिया 4