२१ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको बताएका छन् ।
आइतबार काठमाडौंमा पार्टीको उपत्यका प्रदेश समिति एकता समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
विश्व राजनीतिमा कम्युनिस्ट तथा वामपन्थी विचारधाराको प्रभाव क्रमशः बढ्दै गएको उनको दाबी छ ।
अध्यक्ष नेपालले संयुक्त राज्य अमेरिकादेखि युरोपसम्म कम्युनिस्ट गतिविधिहरू सञ्चालन भइरहेको बताए ।
उनले ल्याटिन अमेरिकी देशहरूमा वामपन्थीहरूले चुनाव जितेर राष्ट्रपति बनेको र अफ्रिकी मुलुकहरूमा समेत यसको प्रभाव विस्तार भइरहेको बताए ।
उनले चीन हाल विश्व राजनीतिको केन्द्रबिन्दु बन्दै गएको समेत बताए ।
उनले चिनियाँ र भियतनामी कम्युनिस्ट पार्टीका अनुभवहरू मात्र नभई गैर–वामपन्थी शक्तिहरूले गरेका सकारात्मक कार्यहरूबाट पनि सिक्न हिचकिचाउन नहुने बताए ।
सहसंयोजक नेपालले भने, ‘अमेरिकामा समेत कम्युनिस्टहरू चल्न थालेका छन् । युरोपका देश देशहरूमा पनि त्यही हिसाबले जुलुस प्रदर्शन भइरहेको छ । ल्याटिन अमेरिकाका देशहरूमा वामपन्थीहरू राष्ट्रपतिमा जितेका छन्, अफ्रिकाका देशहरूमा पनि वामपन्थीको प्रभाव बढिरहेको छ ।’
उनले कार्यकर्ताहरूलाई जिम्मेवारीप्रति गम्भीर बन्दै संगठन विस्तारमा जुट्न आह्वान समेत गरे ।
उनले काठमाडौंमा रहेर पार्टीको जिम्मेवारी सम्हालिरहेका कार्यकर्ताहरूलाई दोहोरो भूमिका निर्वाह गर्न निर्देशन दिए ।
कार्यक्षेत्र राजधानी भए पनि आ–आफ्नो गृहजिल्ला र स्थानीय तहका जनतासँग निरन्तर संवादमा रहन उनको आग्रह छ ।
प्रतिक्रिया 4