+
+
Shares

सामूहिक सुन्तला खेतीले बाँझो जग्गा बन्यो हरियाली

अनिल खत्री अनिल खत्री
२०८३ असार २२ गते १०:१८

२२ असार, गुल्मी । वर्षौंदेखि बाँझो रहेको र जंगली झाडीले ढाकिएको जमिनलाई उत्पादनमा जोड्ने उद्देश्यले गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँगाउँमा सामूहिक चक्लाबन्दीमार्फत व्यावसायिक सुन्तला खेती सुरु गरिएको छ ।

स्थानीय स्तरमै कृषि व्यवसाय प्रवर्द्धन, बाँझो जमिनको सदुपयोग र गाउँमै रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ चार जना कृषकले संयुक्त रूपमा १४२ रोपनी क्षेत्रफलमा सुन्तला खेती थालेका हुन् ।

ओख्रेनी कृषि फर्मका चन्द्र ताम्राकार, केबीसी कृषि फर्मका चन्द्र विक, आरएनपी एग्रो फर्मका प्रेम नेपाली र कृषक कविराज श्रेष्ठले प्रतिरोपनी वार्षिक दुई हजार पाँच सय रुपैयाँका दरले १४२ रोपनी जग्गा लिजमा लिएर सामूहिक रूपमा खेती सुरु गरेका छन् ।

लामो समयदेखि उपयोगविहीन रहेको जमिनलाई एकीकृत रूपमा व्यवस्थापन गरी व्यावसायिक फलफूल उत्पादन गर्ने उद्देश्यलेसंयुक्त लगानीमा यो अभियान अघि बढाएको उनीहरूले बताएका छन् ।

प्रेम नेपालीका अनुसार गाउँमा वर्षौंदेखि ठूलो क्षेत्रफल बाँझो रहँदा उत्पादन घट्दै गएको, खेतीयोग्य जमिन जंगली झाडीले ढाकिँदै गएको र युवा वैदेशिक रोजगारीतर्फ पलायन हुँदा कृषि क्षेत्र कमजोर बन्दै गएको अवस्था थियो । यही परिस्थितिलाई परिवर्तन गर्ने उद्देश्यले सामूहिक चक्लाबन्दी खेतीको अवधारणा अघि सारिएको उनले बताए ।

उनका अनुसार व्यक्तिगत रूपमा खेती गर्दा लागत बढी हुने, श्रम व्यवस्थापन कठिन हुने र उत्पादनको व्यवस्थापन पनि चुनौतीपूर्ण हुने भएकाले सामूहिक खेतीलाई प्राथमिकता दिइएको हो ।

अर्का कृषक चन्द्र विकले वर्षौंदेखि बाँझो रहेको र झाडीले ढाकिएको जमिनलाई उत्पादनशील बनाउने उद्देश्यले जिल्लामै नमूना अभ्यासका रूपमा सुन्तला खेती सुरु गरिएको बताए ।

उनका अनुसार धुर्कोट क्षेत्रमा सुन्तला खेतीको राम्रो सम्भावना भए पनि सिँचाइको अभाव, जंगली जनावरबाट हुने क्षति र प्रारम्भिक वर्षमा उत्पादन नआउने अवस्थाले कृषकलाई चुनौती थपेको छ । यद्यपि दीर्घकालीन रूपमा राम्रो आम्दानी हुने विश्वासका साथ आफूहरू अघि बढेको उनले बताए ।

पूर्वाधारदेखि संरक्षणसम्म ठूलो लगानी

खेती सुरु गर्नुअघि झाडी फाँड्ने, जमिन सम्याउने, कृषि सडक निर्माण गर्ने, बिरुवा रोप्न खाल्डा तयार गर्ने तथा मल व्यवस्थापनलगायतका काममा उल्लेख्य श्रम र लगानी गरिएको कृषकहरूले बताएका छन् ।

हाल बगैंचा व्यवस्थापन, वैकल्पिक सिँचाइ, घेराबार निर्माण तथा बिरुवाको संरक्षणमा विशेष ध्यान दिइएको छ । आगामी वर्षहरूमा आधुनिक प्रविधिको प्रयोग गर्दै उत्पादन बढाउने योजना पनि उनीहरूको छ ।

स्थानीय मिना ताम्राकारले सामूहिक खेतीले गाउँमै रोजगारी सिर्जना गर्नुका साथै कृषि पेशाप्रति स्थानीयको आकर्षण बढाएको बताइन् ।

‘पहिले उपयोगविहीन रहेको जमिन अहिले हरियाली बगैंचामा रूपान्तरण हुँदै गएको देख्दा स्थानीयमा उत्साह थपिएको छ,’ उनले भनिन् ।

जिल्लाकै नमूना अभ्यास

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कार्यक्रम कार्यान्वयन एकाइ, गुल्मीका वरिष्ठ कृषि अधिकृत नवराज पण्डितले वर्षौंदेखि बाँझो रहेको जमिनलाई उत्पादनसँग जोड्दै स्वदेशमै राम्रो आम्दानी गर्न सकिने सन्देश यस अभियानले दिएको बताए ।

उनका अनुसार बाँझो तथा झाडीले ढाकिएको जमिनलाई व्यवस्थित गरी सामूहिक रूपमा सुन्तला खेती गर्नु जिल्लाकै लागि सकारात्मक र अनुकरणीय अभ्यास हो ।

पण्डितले सुन्तलाले प्रारम्भिक केही वर्ष उत्पादन नदिने भएकाले कृषकले धैर्य गर्नुपर्ने बताए । उचित सिँचाइ, मल व्यवस्थापन, रोग–कीरा नियन्त्रण र प्राविधिक सल्लाहको प्रभावकारी कार्यान्वयन गर्न सके दीर्घकालीन रूपमा राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ ।

उनले आवश्यक प्राविधिक सहयोग, परामर्श तथा कार्यक्रमअन्तर्गत उपलब्ध हुने सहयोग निरन्तर प्रदान गरिने प्रतिबद्धतासमेत जनाए ।

यसैबीच, सामूहिक चक्लाबन्दीमा आधारित सुन्तला खेतीको प्रगति, व्यवस्थापन तथा भावी योजनाबारे राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ गुल्मीको नेतृत्वमा अन्तरनिकाय संयुक्त अनुगमन गरिएको छ ।

अनुगमन टोलीले बगैंचाको अवस्था, पूर्वाधार, बिरुवाको वृद्धि, व्यवस्थापन प्रक्रिया तथा कृषकले भोगिरहेका समस्याबारे जानकारी लिँदै आवश्यक सुझाव दिएको थियो ।

लामो समयदेखि उपयोगविहीन रहेको बाँझो जमिनलाई उत्पादनमा रूपान्तरण गर्नुका साथै गाउँमै रोजगारी सिर्जना, कृषि व्यवसाय विस्तार, आयआर्जन वृद्धि र युवाको पलायन न्यूनीकरणमा यस अभियानले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

स्थानीय कृषि उत्पादन वृद्धि, ग्रामीण अर्थतन्त्र सुदृढीकरण र आत्मनिर्भर कृषि प्रणाली विकासतर्फ धुर्कोटको यो अभियानलाई जिल्लाकै प्रेरणादायी नमूनाका रूपमा हेरिएको छ ।

लेखक
अनिल खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?