भक्तपुर निवासी ५२ वर्षीया जयन्ती थापा १२ देखि कलेजो रोगसँग लडिरहेकी थिइन् । उनको अवस्था अत्यन्तै गम्भीर थियो । कलेजोले लगभग काम गर्न छोडिसकेको थियो । पेटमा अत्यधिक पानी जमेकाले पेट अस्वाभाविक रूपमा फुलेको थियो भने श्वास–प्रश्वासमा समेत कठिनाइ भइरहेको थियो ।
यो अवस्थामा उनी ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेकी थिइन् । प्रत्येक दुई–तीन दिनमा पेटबाट पानी निकाल्नुपर्ने बाध्यता थियो ।
जण्डिसबाट सुरु भएको थियो समस्या
करिब १२ वर्षअघि जयन्तीलाई सामान्य जन्डिस भएको थियो । त्यो बेला उपचारपछि निको त भयो तर केही वर्षपछि फेरि कलेजोमा समस्या देखिन थाल्यो ।उनको कलेजो बिग्रिँदं गयो । मुखबाट र दिसा गर्दा समेत रगत बग्न थाल्यो । परीक्षणका क्रममा कलेजोको रोगका कारण खानानलीका नसाहरू सुन्निएर फुटेको कुरा पत्ता लाग्यो ।
त्यसपछि ती सुन्निएका नसामा विशेष रबर ब्यान्ड लगाएर रगत बग्न रोक्ने उपचार गरियो । स्वास्थ्यमा अपेक्षित सुधार देखिएन । भारत गएर समेत उपचार गरियो । अपरिचित देश, भाषा नबुझ्ने अवस्था र आर्थिक भारको चिन्ताले त्यहाँको उपचार पनि पूरा हुन पाएन । त्यसपछि जयन्तीलाई मेडिसिटी अस्पताल पुर्याइएको थियो ।
निकै गम्भीर अवस्थामा उनी अस्पताल पुगेकी थिइन् । अस्पतालको कलेजो प्रत्यारोपण विभागका प्रमुख प्रा. डा. उमिद कुमार श्रेष्ठको नेतृत्वमा उपचार सुरु भयो । सुरुमा पेटमा जमेको पानीमा देखिएको संक्रमण नियन्त्रण गर्न उपचार गरियो । त्यो संक्रमण नियन्त्रणमा आएपछि कलेजो प्रत्यारोपणको तयारी भयो ।
जयन्तीका श्रीमान् कलेजो दान गर्न तयार थिए । उमेर बढी भएका कारण चिकित्सकीय मापदण्डअनुसार उनी दाता बन्न मिलेन । त्यसपछि २१ वर्षीया छोरी ज्यासमिन थापा मगरले आमालाई आफ्नो कलेजो दान गर्ने निर्णय गरिन् ।
यही असार २ गते कलेजो प्रत्यारोपण भयो ।
अस्पतालको कलेजो प्रत्यारोपण विभागका प्रमुख डा. श्रेष्ठका अनुसार अहिले जयन्तीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ । शल्यक्रियापछि छोरी ज्यासमिन ७ दिन र जयन्ती केवल १७ दिनमा अस्पतालबाट डिस्चार्ज भएका छन् ।
कलेजो प्रत्यारोपण प्रा. डा. उमिद कुमार श्रेष्ठकोनेतृत्व भएको थियो । शल्यक्रिया प्रमुख लिभर ट्रान्सप्लान्ट सर्जन डा. प्रदेज सापकोटाको शल्यक्रियात्मक नेतृत्वमा सम्पन्न भएको हो । शल्यक्रियामा डा. सञ्जय कुमार यादव, डा. रामबाबु शाह र डा. अनिशा तिवारीको समेत सहभागिता रहेको थियो ।
बिरामीको एनेस्थेसिया व्यवस्थापन तथा शल्यक्रियापछिको सघन उपचार एनेस्थेसिया तथा पेन म्यानेजमेन्टका विभागीय प्रमुख डा. अपूर्व शर्मा, डा. निराजन महासेठ तथा डा. साक्षी बिम्सराले सम्हालेका थिए ।
प्रतिक्रिया 4