२२ असार, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ घर भई रोजगारीका सिलसिलामा भारतको पञ्जाब राज्यस्थित राजपुरामा बस्दै आएका २६ वर्षीय सागर नेपालको रहस्यमय मृत्यु भएको परिवारले दाबी गरेको छ ।
परिवारका अनुसार सागरले अन्तिम पटक असार १९ गते आफ्नी आमासँग फोनमा कुरा गरेका थिए । त्यसपछि शनिबार बिहान करिब ८:३० बजे कम्पनीबाट १५ मिनेटमै फर्कन्छु भन्दै बाहिर निस्किएका उनी सम्पर्कविहीन भएका थिए ।
त्यसको भोलिपल्ट आइतबार दिउँसो करिब २ बजे कम्पनीबाट करिब पाँच मिनेटको दूरीमा रहेको क्षेत्रमा उनको शव भारतीय प्रहरीले फेला पारेको बताइएको छ । घटना भएको ६ दिनपछि मात्र परिवारले जानकारी पाएको र शव पूर्णरूपमा गलिसकेको अवस्थामा रहेकाले प्रवासी नेपाली एकता समाजको सहयोगमा शनिबार भारतमै अन्त्येष्टि गरिएको जनाइएको छ ।
परिवार तथा स्थानीयबासीले सागरको मृत्यु सामान्य नभई रहस्यमय हुनसक्ने आशंका गर्दै घटनाको निष्पक्ष, गहिरो र तथ्यपरक अनुसन्धानको माग गरेका छन् । उनीहरूले नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत भारतीय प्रहरीसँग समन्वय गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कानुनी कारबाही सुनिश्चित गर्न आग्रह गरेका छन् ।
सागरका बुबा उद्धवप्रसाद नेपाललृे शंकास्पद मृत्युको छानबिन र कारबाही सम्बन्धमा भारतको नयाँ दिल्लीमा रहेको नेपाली राजदूतावासलाई इमेल मार्फत पत्र लेखेका छन् । सागरका बुबा उद्धवले पत्रमा भनेका छन्, ‘घटनाको प्रकृति, स्थानीय प्रहरी (बस स्ट्यान्ड चौकीका इन्चार्ज बलवीर सिंह) को प्रारम्भिक सूचना र हामीले प्राप्त गरेका तस्बिरहरूका आधारमा मेरो छोराको मृत्यु सामान्य नभई रहस्यमय छ ।’
उनले पञ्जाब प्रहरी र स्थानीय प्रशासनसँग आवश्यक कूटनीतिक समन्वय गरी यस घटनाको निष्पक्ष अनुसन्धान, छानबिन गराई दोषीउपर कडा कानुनी कारबाही र क्षतिपूर्तिसहित पीडित परिवारलाई न्याय दिलाउन आग्रह गरेका छन् ।
सागरका आफन्त कमल नेपालका अनुसार सागर आफ्ना दाइ (सौतेनी छोरा) नाता पर्ने उत्तम बोलखेसँग गत कात्तिक २० गते रोजगारीका लागि भारत गएका थिए । सुरुमा हिमाञ्चल प्रदेशको सिम्लामा करिब ७–८ दिन काम गरेपछि बढी तलबको आशामा पञ्जाब पुगेका थिए ।
उनी त्यहाँ फ्रिजका पार्टपुर्जा उत्पादन गर्ने कम्पनीको मेसिन अपरेटरका रूपमा कार्यरत थिए । परिवारका सदस्यका अनुसार सागरले आउँदो दसैँमा घर आएर त्यसपछि वैदेशिक रोजगारीमा जाने योजना बनाएका थिए ।
तर अपेक्षाअनुसार कमाइ नभएको, कमाएको रकमसमेत हराएको भन्दै उनी यही असार २३ वा २४ गते नेपाल फर्किने तयारीमा रहेको परिवारले जनाएको थियो ।
यसैबीच, काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य मधु चौलागाईंले सोमबार प्रतिनिधिसभा बैठकमा सागर नेपालको मृत्युबारे गम्भीर छानबिन आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।
सागरको निधनसँगै उनको परिवार शोकमा डुबेको छ ।

प्रतिक्रिया 4