२३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति मंगलबार ३ : ४० बजे ल्याउने भएको छ । चालु आवका नीतिगत दर यथावत राखी गर्भनर प्रा.डा. विश्वनाथ पौडेलले कार्यकालको दोस्रो मौद्रिक नीति ल्याउन लागेका हुन् ।
वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले अनिवार्य नगद मौज्दात (सीआरआर) र वैधानिक तरलता अनुपात बढाउन सक्ने केन्द्रीय बैंकका एक अधिकारीले बताए । केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लाग ठुलो रकम खर्च गर्नु परेको हुनाले सीआरआर र एसएलआर मार्फत केन्द्रीय बैंकमा पैसा राख्ने सीमा बढाउने तयारी गरेको ती अधिकारीले बताए ।
‘बैंक दर ५.७५, नीतिगत दर ४.२५ तथा निक्षेप संकलन दर २.७५ प्रतिशत अथावत हुनेछ,’ ती अधिकारीले भने, ‘हाल ४ प्रतिशत सीआरआर तोकिएको छ भने वैधानिक तरलता अुनपात वाणिज्य बैंकलाई १२, विकास बैंक तथा फाइनान्सलाई १० प्रतिशत तोकिएको छ, यसमा केही हेरफेर हुने देखिन्छ ।’
राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा तीनवटा खण्ड छन् । मौद्रिक समीक्षा, आर्थिक अवस्था र नीतिगत व्यवस्था गरी मौद्रिक नीति आउने ती अधिकारीको भनाइ छ । नीतिगत व्यवस्थाको सन्दर्भमा गभर्नरले पढ्ने उनले बताए ।
नियमकिय व्यवस्थाहरू केन्द्रीय बैंकले निर्देशन मार्फत जारी गर्न सक्ने भएकाले साना तथा खुद्रा व्यवस्थालाई नसमेटिने उनले बताए ।
‘विगतको जस्तो भुक्तानी प्रणालीको यस्तो, विदेशी विनिमयको उस्तो भन्ने केही पनि हुँदैन,’उनले भने,‘अहिले सञ्चालक समितिमा छलफलको क्रममा छ, त्यहाँबाट थप भयो भने नयाँ कुरा आउन सक्ला ।’
बैंक तथा वित्तीय संस्थालाई कोर क्यापिटलको एक प्रतिशत रकम दैनिक सेयर कारोबार गर्न पाउने व्यवस्था व्यवस्थापन समितिबाट स्वीकृत हुने बेलासम्म नभएको उनले जानकारी दिए ।
उनका अनुसार कर्जा विस्तार गर्नेगरी खुकुलो व्यवस्था गरिएको छ । साथै नयाँ उद्यम र व्यवसाय विस्तार गर्ने गरी आगामी बजेटको मर्मलाई आत्मसात् गर्दै मौद्रिक नीति आउने उनको भनाइ छ ।
प्रतिक्रिया 4