२३ असार, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठकमा पूर्व केन्द्रीय सदस्य मोहन बस्नेतले विशेष महाधिवेशनकर्ताले आफ्नै खुसीले नगरेको दाबी गरेका छन् । मंगलबार इतर समूहले खोलेको चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको बैठकमा बस्नेतले यस्तो बताएका हुन् ।
‘विशेष महाधिवेशन आफ्नै खुसीले गरेका होइनन् । कसैको सहयोगमा गरेका हुन्,’ उनले भने, ‘उनीहरूलाई सहयोगीले सजिलै छोड्नेवाला पनि छैनन् ।’
इतर पक्षका नेताको अनुहार विशेष महाधिवेशन पक्षधरहरूले हेर्न पनि नरुचाउने उनले बताए । ‘किन कि ह्युमलेट फिल गर्छन् । महाधिवेशन हारेकाहरू केन्द्रीय सदस्य पदाधिकारी छन्,’ उनले भने ।
उनले इतर पक्षका नेताहरूलाई सभापति गगन थापाबाहेक अरुसँग वार्ता नगर्न पनि सुझाव दिए । ‘हामी जति लचिलो हुनुपर्ने हो भइसक्यौं,’ उनले भने ।
अब साउन १५ भित्र राष्ट्रिय भेला गर्नुपर्ने उनले बताए । ‘साउन महिनाभित्र अन्तिम निर्णय गर्नपर्छ । यो मेरो प्रस्ताव हो । खुट्टा कमाउने काम नेतृत्वले गर्नु हुन्न । एकताका लागि डेट तोकेर लागौं । हुँदैन भने महाधिवेशनको डेट तोकौं,’ बस्नेतले भने ।
शीर्ष नेताहरूले अप्ठेरोमा लड्नुपर्छ भन्ने सिकाएले अब उनीहरूले यो अवस्थामा लड्नुपर्ने बताए । ‘मेरो विनम्रताको साथ अनुरोध छ, साउन १५ गते भन्दा उता जान पाउनुहुन्न । अभियान तपाईँले सुरु गर्नुभएको छ, पूरा गर्नुस् हामी पछाडि लागेका छौं,’ उनले भने, ‘माइन्ड मेकअप गरेर अघि बढ्नुपर्छ । आजै राष्ट्रिय भेलाको मिति तोकौं । साथीहरू तल कुरेर बस्नु भएको छ ।’
सम्पर्क कार्यालय सञ्चालनका के–के गर्नुपर्छ सबै आफू तयार रहेको पनि उनले बताए ।
प्रतिक्रिया 4