+

क्रिस्टियानो रोनाल्डो युगको अन्त्य : ६ विश्वकप खेले, उपाधि जित्न सकेनन्

२०८३ असार  २३ गते १६:४२ २०८३ असार २३ गते १६:४२

उनले कीर्तिमानी ६ वटा विश्वकपमा गोल गरेका छन् । तर उनी विश्वकपको उपाधिको सबैभन्दा नजिक पुगेको क्षण भने सन् २००६ मा थियो । जतिबेला उनले विश्वकपमा डेब्यु गरेका थिए र पोर्चुगल सेमिफाइनलसम्म पुगेको थियो ।

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोको लागि अन्तिम विश्वकप खेल सुखद रहेन । स्पेनसँग अन्तिम १६ को खेलमा १-० को हारपछि फुटबल इतिहासकै एक महान खेलाडीको करियर ठुलो उपाधि (विश्वकप) विना नै समाप्त भएको छ ।

डलासमा भएको खेलमा मिकेल मेरिनो दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै पोर्चुगलको छिमेकी स्पेनलाई क्वाटरफाइनलमा पुर्‍याए । हारपछि रोनाल्डोको आँखामा आँशु थियो ।

पाँच पटकका ब्यालोन डी’ओर विजेता, पाँच पटकका च्याम्पियन्स लिग विजेता र युरो २०१६ का च्याम्पियन रोनाल्डोले आफ्नो क्लब र देशका लागि विश्व कीर्तिमानी ९७६ गोल गरिसकेका छन् ।

उनले कीर्तिमानी ६ वटा विश्वकपमा गोल गरेका छन् । तर उनी विश्वकपको उपाधिको सबैभन्दा नजिक पुगेको क्षण भने सन् २००६ मा थियो । जतिबेला उनले विश्वकपमा डेब्यु गरेका थिए र पोर्चुगल सेमिफाइनलसम्म पुगेको थियो ।

उनले यो आफ्नो अन्तिम विश्वकप हुने पहिले नै घोषणा गरिसकेका थिए । तर खेलपछि आफ्नो देशका लागि खेलिरहने कि नरहने भन्ने प्रश्नमा उनले भने, ‘म परिवारलाई भेट्नेछु र शान्त दिमागले निर्णय लिनेछु ।’

पोर्चुगलले विश्वकप उपाधि जित्न अल नासेरबाट खेल्ने स्टार रोनाल्डोलाई हरेक खेलमा सुरुवाती ११ मा खेलाउनुप पर्थ्यो कि पर्दैनथ्यो भन्ने कुरा सधैँ बहसकै विषय रहनेछ ।

तर, बीबीसी रेडियो ५ लाइभका लागि टेक्सासमा पुगेका बीबीसीका पण्डित तथा इंग्ल्यान्डका पूर्व स्ट्राइकर क्रिस सटनका लागि यसमा कुनै शंका थिएन । ‘उनी मैदानमा हजुरबुबा जस्तै घिस्रिरहेका छन्, पोर्चुगल बाहिरिनुको कारण यही हो । क्रिस्टियानो रोनाल्डोले केही गर्दैनन्, उनले केही गरेनन् ।’ पूर्व स्ट्राइकरले भने ।

सटनले प्रशिक्षकको भुमिका माथि पनि प्रश्न गरे । ‘रोबर्टो मार्टिनेजले के गरिरहेका छन्? तपाईं कसरी एउटा खेलाडीको अगाडि यसरी आत्मसमर्पण गर्न सक्नुहुन्छ? पोर्चुगल रोबर्टो मार्टिनेजकै कारण बाहिरिएको हो ।’

मुख्य प्रशिक्षक मार्टिनेजले खेल सकिने बित्तिकै आफ्नो पद छोड्ने घोषणा गरे र फुटबल आइकन  रोनाल्डोको प्रशंसा गरे । ‘यो विश्वकपमा उनले जे गर्ने प्रयास गरे, त्यसका लागि हामीले उनलाई धन्यवाद दिनुपर्छ ।’ मार्टिनेजले भने, ‘यो विश्वकप जित्ने उनको सपना थियो, उनले एउटा उत्कृष्ट उदाहरण पेश गरे । उनी फुटबल र त्यो खेलाडी पछाडि रहेको मानवको एक उत्कृष्ट उदाहरण हुन् ।’

के रोनाल्डोले खेल्नुपर्थ्यो?

विगतका केही ठूला प्रतियोगिताहरूमा सधैँ एउटै विषयमा बारम्बार उठ्ने गरेको थियो । त्यो हो  रोनाल्डोलाई सुरुवाती ११ मा खेलाउने कि नखेलाउने ।

उनले आफ्नो देशका लागि अन्तर्राष्ट्रिय फुटबलमा कीर्तिमानी १४६ गोल गरेका छन् । तर हालसालै आलोचकहरूले उनले गोल बाहेक टोलीलाई अरू केही दिन नसकेको टिप्पणी गर्न थालेका छन् ।

र, खेल भन्दा माथि उठेको उनको प्रसिद्धि र कदका कारण मार्टिनेजले उनलाई टोलीबाट ड्रप गर्ने हिम्मत गर्न सकेनन् जस्तो देखिन्थ्यो ।

विश्वकै उत्कृष्ट डिफेन्डर र मिडफिल्डरहरूले भरिएको टोलीले अन्तिम १६ भन्दा अगाडि बढ्ने अपेक्षा अवश्य गरेको थियो । पोर्चुगलको टिममा रहेका चार खेलाडीहरू, लेफ्ट-ब्याक नुनो मेन्डेस, मिडफिल्डर भिटिन्हा र जोआओ नेभेस, र यसै गर्मीयाममा एसी मिलानमा आबद्ध भएका स्ट्राइकर गोन्सालो रामोसले पेरिस सेन्ट-जर्मेनलाई पछिल्ला दुई च्याम्पियन्स लिग उपाधि जिताउन मद्दत गरेका थिए ।

यस्तै, म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेस प्रिमियर लिगको वर्षकै उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

‘गोन्कालो रामोसले मैदानमा कसरी मौका पाएनन्? सटनले प्रश्न गरे,  ‘यो प्रशिक्षकका लागि सरासर लाजमर्दो कुरा हो, आफ्ना स्टार खेलाडीको अगाडि केही नगर्नु मात्र हो । उनी पोर्चुगलले पाएका अहिलेसम्मकै सबैभन्दा धेरै उपाधि विजेता खेलाडी हुन्, तर तपाईं (प्रशिक्षक) त्यो भन्दा बलियो बन्न सक्नुपर्थ्यो ।’

रोनाल्डोले प्रतियोगितामा उज्बेकिस्तान विरुद्ध दुई गोल र क्रोएसिया विरुद्ध एक पेनाल्टीसहित जम्मा तीन गोल गरे । तर, १० जना खेलाडीले उनीभन्दा बढी गोल गरे पनि यस विश्वकपमा रोनाल्डो (१८) भन्दा बढी सट प्रहार गर्ने खेलाडी जम्मा चार जना मात्र थिए ।

हालसम्म ७ गोल गरेर संयुक्त रुपमा शीर्ष स्थानमा रहेका अर्लिङ हालान्ड बराबरकै संख्यामा रोनाल्डोले गोलका लागि प्रयास गरेका थिए । यसको तुलनामा उनले आफ्ना पाँच खेलमा टिममेटका लागि जम्मा एउटा मात्र अवसर सिर्जना गरे ।

पोर्चुगलका पाँच खेलमा रोनाल्डो जम्मा ९ मिनेट मात्र मैदान बाहिर रहे । त्यति हुँदा रोनाल्डो पनि भन्दा ३६६ जना खेलाडीहरूले विश्वकपमा बढी पटक बल छोएका थिए ।

‘जब तपाईंलाई गोलको आवश्यकता हुन्छ, तपाईं क्रिस्टियानोलाई मैदान बाहिर निकाल्न सक्नुहुन्न,’ मार्टिनेजले भने, ‘कम्तीमा ९० मिनेटसम्म त सक्नुहुन्न, उनी शारीरिक रूपमा सक्षम छन् । उनको उपस्थिति, खुल्ला ठाउँ बनाउने क्षमता, डेड-बल परिस्थितिहरूमा हामीलाई उनको अनुभव चाहिन्छ ।’

गोट बहसमा मेसीका लागि अर्को अंक?

अहिले रोनाल्डो र उनका लामो समयदेखिका प्रतिद्वन्द्वी लियोनल मेसीको लोकप्रियताले फुटबल समर्थकहरूको शैली नै परिवर्तन गरिदिएको छ । धेरै मानिसहरू कुनै एउटा क्लबलाई समर्थन गर्नुभन्दा पनि आफूलाई रोनाल्डो वा बार्सिलोनाका लिजेन्ड मेसीको प्रशंसक मान्छन् ।

उनीहरूको यो प्रतिद्वन्द्वितालाई यसै गर्मीयाममा बीबीसी आईप्लेयरको डकुमेन्ट्रीमा पनि देखाइएको थियो । जसमा कुनै पनि समूहका समर्थकहरू यी दुईमध्ये को सर्वकालीन महान् फुटबलर अर्थात गोट हुन् भन्ने बहसमा आफ्नो धारणा दिन पछि हट्ने छैनन् ।

तर २०२२ सम्म दुवै खेलाडीले विश्वकप जितेका छैनन् भने दुवैको आदलोचना हुन्थ्यो । जुन ट्रफी फुटबलका प्रतिष्ठित आइकन पेले र डिएगो म्याराडोना दुवैले उचालेका थिए । मेसीले सन् २०२२ मा कतारमा अर्जेटिनालाई विश्वकप विजेता बनाउँदै त्यो अवरोध हटाए । र, अब रोनाल्डोले कहिल्यै विश्वकप नजिती सन्यास लिनेछन् ।

अहिले दुवै खेलाडी आफ्नो करियरको अन्तिम चरणमा छन्, जहाँ रोनाल्डो साउदी अरबमा र मेसी अमेरिकामा इन्टर मियामीमा खेलिरहेका छन् ।

तर अझै पनि मेसीले खेलमा बढी प्रभाव पारिरहेका छन् भन्नेमा कुनै शंका छैन । विश्वकपमा उनी ७ गोलसहित संयुक्त रूपमा सर्वाधिक गोलकर्ताको रुपमा छन् । उनले २०२२ मा पनि ७ गोल नै गरेका थिए । रोनाल्डोले ती दुई प्रतियोगिताहरू मिलाएर चार गोल मात्र गरेका छन् ।

रोनाल्डोका पूर्व युनाइटेड साथी वायन रुनीले भने, ‘उनी एक प्रतिभा हुन्, एक सुपरस्टार हुन् । उनले फुटबल र लाखौं मानिसहरूलाई जे दिएका छन्, त्यो धेरै दुर्लभ कुरा हो । उनी निराश हुनेछन् किनभने उनलाई विश्वास थियो कि उनले यो प्रतियोगिता जित्न सक्छन् । तर समयले कसैलाई छोड्दैन । यो फुटबलका लागि एक दुःखद दिन हो ।’

रोनाल्डोलाई देख्न पाउँदा खुशी हुनुपर्छ

आफ्नो लामो खेल जीवनका कारण रोनाल्डोको नाममा अझै पनि एक वा दुईवटा विश्वकप रेकर्डहरू छन् । उनी ६ वटा विश्वकपमा गोल गर्ने एक मात्र खेलाडी हुन् र मेसीसँगै ६ वटा विश्वकप खेल्ने दुई खेलाडीमध्ये एक हुन् ।

रोनाल्डो ११ गोलसहित विश्वकपमा सर्वाधिक गोल गर्ने सूचीमा नवौँ स्थानमा छन् । जहाँ मेसी २० गोलसहित शीर्ष स्थानमा छन् । तर रोनाल्डोले तीमध्ये नकआउट चरणमा एक मात्र गोल गरेका छन् । यसै विश्वकपको अन्तिम ३२ को खेलमा उनले क्रोएसिया विरुद्धको पेनाल्टी मा गोल गरेका थिए ।

तत्कालीन प्रशिक्षक फर्नान्डो सान्तोससँगको विवादपछि रोनाल्डोलाई गत विश्वकपको नकआउट चरणमा बेन्चमा राखिएको थियो । सन् २००८ पछि पहिलो पटक उनी प्रमुख प्रतियोगिताको खेलमा सुरुवाती ११ मा परेका थिएनन् ।

‘गत विश्वकपको अन्तिम १६ को खेलमा जब प्रशिक्षकले रोनाल्डोलाई बाहिर राख्ने अलिकति हिम्मत देखाएका थिए, तब गोन्कालो रामोसले खेलेर ह्याट्रिक गरेका थिए,’ पूर्व ब्ल्याकबर्न फरवार्ड सटनले थपे, ‘हामी अहिले त्यो भन्दा चार वर्ष अगाडि आइसकेका छौं, रोनाल्डो चार वर्ष जेठा भइसकेका छन् र हेर्नुहोस् के भयो ।’

खेलपछि बीबीसीसँग कुरा गर्ने पोर्चुगलका समर्थकहरू रोनाल्डोको विश्वकप कथा यसरी समाप्त भएकोमा दुःखी थिए । ‘मेरो एउटा सपना रोनाल्डोलाई प्रत्यक्ष खेल्दै गरेको हेर्नु थियो । म उनलाई देख्न पाउँदा खुसी भएँ । उनको ठूलो महत्त्व छ । म धेरै भावुक छु, एक समर्थकले भने, ‘यस पटक हाम्रो भाग्यले साथ दिएन । रोनाल्डोले जे गरे त्यो सुन्दर थियो । हामीले रुनु पर्दैन, हामीले हाँस्नुपर्छ किनभने हामीले उनलाई देख्न पायौं ।’

प्रशिक्षकले छाडे

स्वान्सी, विगान र एभर्टनका पूर्व प्रशिक्षक मार्टिनेजले २०१६ देखि २०२२ सम्म बेल्जियम र २०२३ देखि पोर्चुगलको टोली सम्हालेका थिए ।

यी स्पानिस प्रशिक्षकले २०१८ मा बेल्जियमलाई विश्वकपको सेमिफाइनलमा पुर्‍याएका थिए, जहाँ टोली फ्रान्ससँग पराजित भएको थियो । २०२२ मा भने बेल्जियम समूह चरणबाटै बाहिरियो ।

गत वर्ष पोर्चुगललाई नेसन्स लिग उपाधि जिताएका मार्टिनेजले यस विश्वकपबाट बाहिरिएपछि पद छोडेका छन् । ‘म विश्वकप जित्ने उद्देश्यका साथ पोर्चुगल आएको थिएँ र मैले यो जित्न नसकेकाले अब अगाडि बढ्नुको कुनै अर्थ छैन । मेरो सम्झौता आजै समाप्त हुन्छ ।’ उनले भने ।

मार्टिनजे विश्वकप जित्नका लागि कुनै काम नगरेको सटनको आरोप छ । ‘उनको काम विश्वकप जित्ने प्रयास गर्नु र पोर्चुगलका लागि उत्कृष्ट टोली मैदानमा उतार्नु थियो । के उनले त्यो गरे? बिल्कुलै गरेनन् । उनले जसरी यो टोलीको व्यवस्थापन गरे, त्यो निन्दनीय छ ।’ सटनले भने ।

बेल्जियमको ‘गोल्डेन जेनेरेसन’ (स्वर्णिम पुस्ता) सँग वास्तवमै ठूला काम गर्ने अवसर पाउँदा पनि टिमलाई लथालिङग बनाएको र अहिले पोर्चुगलमा त्यही प्रशिक्षकले यसरी काम गरेको देख्नु दयनीय भएको सटनको आरोप थियो ।

बीबीसीबाट

 

क्रिस्टियानो रोनाल्डो फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय