२३ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका १२६ जना प्राध्यापकले बेतलबी बिदा जोडेर अझै पेन्सन बुझिरहेका छन् । त्रिविको शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० को नियममा असाधारण (बेतलबी) बिदाको व्यवस्था गरिएको छ ।
नियममा असाधारण बिदामा बस्ने शिक्षक, कर्मचारीले सो अवधिभर तलब-भत्ता पाउने छैनन् । साथै, बेतलबी बिदा सेवा अवधिमा समेत गणना हुँदैन ।
तर, २०६८ वैशाख ८ गतेभन्दा अगाडि बेतलबी बिदा लिएका शिक्षक कर्मचारीले सेवा अवधिमा गणना गरेर पेन्सन खाइरहेका छन् । २०८१ फागुन १६ मा यससम्बन्धी समाचार अनलाइनखबरमा प्रकाशित भएपछि त्रिविको कार्यकारीले २०८२ असारमा बेतलबी बिदा जोडेर पेन्सन नदिने निर्णय पनि गर्यो । तर कार्यकारीले निर्णय गर्नुअघि पेन्सन पट्टा बनाएका शिक्षक कर्मचारीले भने अहिले पनि बेतलबी बिदा जोडेर पेन्सन खाइरहेका छन् ।
‘बेतलबी बिदा जोडेर पहिला पेन्सन पट्टा बनाएकाले अहिले पनि खाइरहेका छन् । कार्यकारीले असारमा अबदेखि बेलतबी बिदा सेवा अवधिमा गणना नगर्ने निर्णय गर्यो । अहिले पेन्सन पट्टा बनाउनेको हकमा मात्र बेतलबी बिदा जोडिएको छैन । पुरानाले खाइरहेका छन्,’ त्रिवि रजिस्ट्रार कार्यालयका एक अधिकारीले भने ।
त्रिविको पुनरावेदन आयोगले २१ असार २०७५ मा आयोगकै शाखा अधिकृत विमल रिमालले लिएको बेतलबी बिदालाई पनि गणना गरी पेन्सन पट्टा जारी गरिदिने फैसला गरेको थियो । सोही नजिरलाई देखाएर प्राध्यापक शंकर भण्डारीले पनि बेतलबी बिदालाई सेवा अवधिमा जोडेर पेन्सन पट्टा बनाएका थिए ।
भण्डारीको निवेदनको आधारमा तत्कालीन कार्यकारी परिषद्ले ११ माघ २०७६ मा २०६८ वैशाख ८ गतेभन्दा अगाडिको बेतलबी बिदालाई सेवा अवधिमा जोड्ने निर्णय गरेको थियो । यसैको आधारमा १२६ प्राध्यापकले बेतलबी बिदालाई जोडेर पेन्सन लिइरहेका छन् । त्रिवि अधिकारीका अनुसार यो संख्या अझै बढी छ ।
अनलाइनखबरले खोजी गरेको अवधिमा १२६ जनाको सूची सार्वजनिक गरिएको थियो । त्यसपछि पनि बेतलबी बिदा जोडेर पेन्सन पट्टा बनाएको पाइएको छ । यसरी पेन्सन लिनेमा पूर्वपदाधिकारीसमेत छन् ।
यतिसम्म कि, २० वर्ष नै सेवा नगरेका शिक्षक कर्मचारीले समेत बेतलबी बिदालाई सेवा अवधिमा जोडेर मासिक पेन्सन खाइरहेका छन् । त्रिविको नियममा स्थायी भएको २० वर्ष वा सोभन्दा बढी समयसम्म विश्वविद्यालय सेवामा संलग्न शिक्षक वा कर्मचारीले अवकाशप्राप्त गरेको मितिदेखि निवृत्तिभरण पाउने भनिएको छ ।
तर, २० वर्ष सेवा नगरी बेतलबी बिदा जोडेर शिक्षक कर्मचारीले पेन्सन बुझिरहेका छन् । उपदानमा जानुपर्नेमा बेतलबी बिदा जोडेर पेन्सन खाने प्राध्यापकको संख्या धेरै छ ।
शिक्षक कर्मचारी जुन तहबाट निवृत्त हुने हो सोही तहमा खाईपाई आएको अन्तिम तलब स्केललाई सेवा अवधिको आधारमा गणना गरेर पेन्सन दिइने नियम छ ।
अर्बौं नोक्सानी
बेतलबी बिदा जोडेर पेन्सन खाँदा त्रिविलाई आर्थिक नोक्सानी भइरहेको छ । महालेखा परीक्षकको कार्यालयको ६३औं वार्षिक प्रतिवेदनले पनि सरकारसँग स्वीकृति नै नलिई त्रिविले बेतलबी बिदा जोडेर पेन्सन दिइरहेको उल्लेख गरेको छ ।
आर्थिक वर्ष २०८१/०८२ को महालेखाको प्रतिवेदनमा ३ अर्ब बढी रकम सरकारसँग स्वीकृति नै नलिई पेन्सनमा भुक्तानी गरेको उल्लेख गरिएको छ ।
‘कार्यकारी परिषद्को २०७६।१०।२१ को निर्णय अनुसार २०६८/१/८ भन्दा अगाडि लिएको असाधारण बिदासमेत सेवा अवधिमा गणना गरी शिक्षक तथा कर्मचारीको पेन्सनवापत गत वर्ष ३ अर्ब ११ करोड ४१ लाख १३ हजार र यो वर्ष ३ अर्ब २१ लाख २८ हजार र ग्रेड १ करोड ९२ लाख २५ हजार रुपैयाँ भुक्तानी दिएकोमा नेपाल सरकारको स्वीकृति लिएको देखिएन,’ महालेखाको प्रतिवेदनमा भनिएको छ ।
त्रिविको कार्यकारी परिषद्ले थप निर्णय गर्ने तयारी त्रिविको छ । ‘बेतलबी बिदा जोडेर पेन्सन खानु सही होइन । नयाँ उपकुलपति आउनु भएको छ । अब छिट्टै कार्यकारी बसेर निर्णय गर्छौं,’ त्रिविका रजिस्ट्रार प्रा.डा. महानन्द चालिसेले भने, ‘गलत निर्णय सच्याउनु पर्छ ।’
प्रतिक्रिया 4