+
+
Shares

त्रिविको उपकुलपतिमा तीन जनाको चर्चा, को-को हुन् ?

त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम चर्चामा छ । प्रा.डा. भोला थापा, प्रा.डा. दुर्गादत्त पौडेल र प्रा.डा. नन्दबहादुर सिंह उपकुलपतिका लागि चर्चामा रहेका नाम हुन् ।

दिनेश गौतम दिनेश गौतम
२०८३ असार १७ गते १५:०७

१७ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि छनोट समितिले तीन जनाको नाम टुंगो लगाएको छ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित समितिले त्रिविको उपकुलपतिका लागि तीन जनाको नाम टुंगो लगाएको हो ।

‘नाम टुंगो लागेको छ । अब मन्त्रीज्यूले कुलपतिलाई सिफारिस गरेपछि तीन जनामध्येबाट एक जनालाई उपकुलपतिमा नियुक्त गर्नुहुन्छ,’ सिंहदरबार स्रोतले भन्यो । यद्यपि, उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन ।

१० जनाको सर्ट लिस्टमा अमरप्रसाद यादव, कविप्रसाद पोखरेल, कृष्णराज आचार्य, गोविन्द सुवेदी, टंकनाथ धमला, ताराप्रसाद भुसाल, दुर्गादत्त पौडेल, नन्दबहादुर सिंह, भोला थापा र रामप्रसाद रेग्मी छन् ।

यी १० जनाको प्रस्तुतीकरण र अन्तर्वार्तापछि तीन जनाको नाम समितिले टुंगो लगाएको हो । त्रिविको उपकुलपतिका लागि ५० जनाको आवेदन परेको थियो ।

थापा, पौडेल र सिंहको चर्चा

त्रिवि अधिकारीका अनुसार उपकुलपतिका लागि तीन जनाको नाम चर्चामा छ । प्रा.डा. भोला थापा, प्रा.डा. दुर्गादत्त पौडेल र प्रा.डा. नन्दबहादुर सिंहको नाम चर्चामा छ ।

उपकुलपतिको चर्चामा रहेका थापा काठमाडौं विश्वविद्यालयको पूर्वउपकुलपति हुन् । खुला प्रतिस्पर्धाबाट उपप्राध्यापकमा नाम निकालेर काठमाडौं विश्वविद्यालय प्रवेश गरेका थापा प्राध्यापक, सहायक डिन, कार्यकारी डिन हुँदै रजिस्ट्रार बने । कोरोनाको समयमा २०७७ माघमा उनी काठमाडौं विश्वविद्यालयको उपकुलपति बनेका थिए । उनै थापा त्रिवि उपकुलपतिको दौडमा छन् ।

चर्चामा रहेका अर्का प्रतिस्पर्धी हुन् पौडेल । पौडेलले अमेरिकाको युनिभर्सिटी अफ लुसियानामा काम गरेको अनुभव छ । विदेशी विश्वविद्यालयको अनुभवलाई नेपालको विश्वविद्यालयमा योगदान दिने उनको योजना छ । उनी अमेरिकामा रहँदा पनि नेपालको शैक्षिक क्षेत्रमा जोडिएका व्यक्ति हुन् ।

त्यसैगरी, सिंह मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति हुन् । त्रिविका प्राध्यापक सिंह २०७६ मा मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका थिए । यस पटक उनी त्रिवि उपकुलपतिको दौडमा छन् ।

८ वटा विश्वविद्यालयको टुंगियो

सिफारिस समितिले ८ वटा विश्वविद्यालयको उपकुलपतिका लागि तीन-तीन जनाको नाम टुंगो लगाएको छ । त्रिभुवन विश्वविद्यालयसहित पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिको लागि तीन-तीन जनाको नाम टुंगो लगाएको हो ।

सिफारिस समितिले विज्ञहरू सहभागी गराएर नाम छनोट गरेको हो । १० जनाको सर्ट लिस्ट सार्वजनिक भएपछि सार्वजनिक रूपमा सुझावसमेत संकलन गरिएको थियो । अन्तिममा अन्तर्वार्तामा भने सिफारिस समितिका सदस्यहरू पनि बसेका थिए । गत २५ वैशाखमा १० दिनको समय दिएर नयाँ उपकुलपतिको लागि खुला आह्वान गरिएको थियो ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि ५०, पूर्वाञ्चल विश्वविद्यालय ३८, पोखरा विश्वविद्यालय ३८, सुदूरपश्चिम विश्वविद्यालय १९, मध्यपश्चिम विश्वविद्यालय २०, लुम्बिनी बौद्ध विश्वविद्यालय ११, कृषि तथा वन विज्ञान विश्वविद्यालय १५ र राजर्षि जनक विश्वविद्यालयको लागि २७ गरी २१८ जनाको आवेदन परेको थियो ।

सर्टलिस्टमा परेका १० जनाको अन्तर्वार्ता र प्रस्तुतीकरण गरी छनोट समितिले नाम टुंगो लगाएको हो । टुंगो लगाइएकाहरूको नाम भने सार्वजनिक गरिएको छैन ।

कम्तीमा विद्यावारिधि पूरा गरेको, अनुसन्धान र प्राज्ञिक क्षेत्रमा १० वर्ष काम गरेको, ४० वर्ष उमेर पूरा भएको, उच्च नैतिक चरित्र भएको लगायतका योग्यता राखिएको थियो ।

पहिलो चरणमा विज्ञ समितिले उम्मेदवारको शैक्षिक योग्यता, अनुसन्धान अनुभव, रणनीतिक दृष्टिपत्र, कार्ययोजना र प्रस्तुतीकरणको अध्ययन गरी प्रारम्भिक मूल्याङ्कन गरी उच्च अंक प्राप्त गर्ने १० जनाको सर्ट लिस्ट सार्वजनिक गरिएको थियो ।

उम्मेदवारबारे सार्वजनिक राय-सुझाव संकलन गरेपछि प्रस्तुतीकरण तथा अन्तर्वार्ता भएको थियो ।

अध्यादेशमार्फत उपकुलपतिहरू पदमुक्त भएपछि नयाँ उपकुलपति चयन गर्न लागिएको हो । विश्वविद्यालयको राजनीतिक हस्तक्षेप रोक्न र योग्यलाई उपकुलपति नियुक्त गर्न खुला आह्वान गरी प्रक्रिया अगाडि बढाइएको हो ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?