२३ असार, काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने धन्दा गरेको आरोपमा दुई पूर्वमन्त्री सहित १५ जनालाई दोषी ठहर गरेको छ । सात जना आरोपितहरूले सफाइ पाएका छन् ।
जिल्ला अदालतले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित १५ जनालाई दोषी ठहर गरेको हो । उनीहरूलाई २९ असारमा कैद, बिगो र जरिवाना निर्धारण हुनेछ ।
जिल्ला अदालतले उनीहरूलाई फरक–फरक कसुरमा दोषी ठहर भएको हो भने कोही आरोपितहरू एकीकृत कसुरमा जिम्मेवार ठहरिएका छन् । केही व्यक्तिहरू भने कम सजाय पाउने गति मतियार मात्रै ठहर भएका छन् ।
कीर्ते आरोप : तीन दोषी, १९ निर्दोष
जिल्ला अदालत काठमाडौंले सरकारी कागजात कीर्ते गरेको आरोपमा भुटानी प्रजातन्त्रवादी नेता टेकनाथ रिजाललाई दोषी ठहर गरेको छ । रिजाल सहित केशव प्रसाद दुलाल र सानु भण्डारी पनि कीर्तेको आरोपमा दोषी ठहर भएका छन् ।
कीर्तेको आरोप लागेकाहरूमध्ये सागर राई, सन्देश शर्मा, डा. इन्द्रजित राई, गोविन्द चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे निर्दोष ठहरिएका छन् । त्यस्तै बालकृष्ण खाँण, नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल, टोपबहादुर रायमाझी, प्रतिक थापा, रामशरण केसी, टंक कुमार गुरुङ, सन्दिप रायमाझी, लक्ष्मी महर्जन, केशव तुलाधर, आशिष बुढाथोकी निर्दोष ठहर भएका छन् ।
ठगी र संगठीत अपराध : नौ दोषी, एक मतियार
जिल्ला अदालत काठमाडौंले नौ जनालाई ठगी एवं संगठीत अपराधमा दोषी ठहर गरेको छ । केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजित राई, गोविन्द चौधरी, आङटावा शेर्पा संगठीत अपराधमा कसुरदार ठहरिएका छन् ।
उनीहरू बाहेक तत्कालिन सचिव टेकनारायण पाण्डे र टोपबहादुर रायमाझी पनि संगठीत अपराधमा दोषी ठहरिएका छन् । त्यसैगरी पूर्व गृहमन्त्री बालकृष्ण खाँड ठगी र संगठीत अपराधको कसुरमा मतियार ठहर भएका छन् । त्यसैगरी टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल संगठीत रुपमा गरेको ठगीमा दोषी ठहरिएका छन् ।
छुट्टै अर्को मुद्दामा बेचन झा ठगीसम्बन्धी कसुरको प्रयास(उद्योग) गरेको आरोपमा दोषी ठहर भएका छन् । तर उनीमाथि अरु आरोप दावी पुष्टि हुन नसकेको जिल्ला अदालतले जारी गरेको संक्षिप्त आदेशमा उल्लेख छ ।
राज्य विरुद्धको कसुर : नौ दोषी, छ मतियार
जिल्ला अदालतले नौ जनालाई राज्यविरुद्धको कसुरमा समेत दोषी ठहर गरेको छ । ठगी एवं संगठीत अपराधका साथै उनीहरूले गरेको काम राज्यविरुद्धको कसुरको रुपमा स्थापित हुने न्यायाधीश तेजबहादुर खड्काले जारी गरेको संक्षिप्त आदेशमा उल्लेख छ ।
जिल्ला अदालतले बालकृष्ण खाँड, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मिँया, हरिभक्त महर्जन र निरञ्जन कुमार खरेललाई राज्यविरुद्धको कसुरमा मतियार ठहर गरेको छ । यी सबै आरोपितहरूमाथि एकिकृत रुपमा कसुर गरेको ठहर समेत छ ।
सात जनालाई सफाइ
जिल्ला अदालत काठमाडौंले आरोपितहरूमध्ये सात जनालाई सफाइ दिएको छ । रामशरण केसी, टंक कुमार गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीले फाई पाएका हुन् । बैंक खाता अरु कसुरदारहरूले दुरुपयोग गरेपनि उनीहरूको थप संलग्नता र प्रमाण नभेटिएको भन्ने आधारमा जिल्ला अदालतले उनीहरूलाई सफाइ दिएको हो ।
पुरक मुद्दा
प्रहरीले दायर गरेको पुरक मुद्दामा केशव दुलाल, सानु भण्डारी, सागर राई र आङटावा शेर्पा ठगी, संगठीत अपराध र राज्य विरुद्धको कसुर तथा एकिकृत कसुरमा समेत दोषी ठहर भएका छन् । लिखत कीर्तेमा दुलाल र भण्डारी समेत दोषी ठहर भएका छन् ।
कीर्तेको आरोपमा सागर राई, आङटावा शेर्पाले सफाइ पाएका छन् । रामशरण केसीले पुरक अभियोगपत्रका सबै आरोपितहरूबाट सफाइ पाएका हुन् ।

प्रतिक्रिया 4