+
फिफा विश्वकप २०२६ :

फिफा विश्वकपमा चम्किएको केप भर्डे, चर्चामा चीनसँगको विशेष सम्बन्ध

२०८३ असार  २४ गते १४:२५ २०८३ असार २४ गते १४:२५

२४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा पहिलो पटक सहभागी भएर विश्वभरको मन जितेको अफ्रिकी टापु राष्ट्र केप भर्डेको सफल यात्रामा चीनको पनि महत्वपूर्ण भूमिका रहेको खुलासा भएको छ ।

केवल पाँच लाखभन्दा केही बढी जनसंख्या भएको केप भर्डेले विश्वकपमा डेब्यू गर्दै नकआउटसम्मको यात्रा तय गर्‍यो । राउन्ड अफ ३२ मा विश्व च्याम्पियन अर्जेन्टिना विरुद्ध अतिरिक्त समयमा ३–२ को संघर्षपूर्ण हार बेहोरे पनि आफ्नो प्रदर्शनबाट विश्व फुटबल समर्थकको मन जितेको थियो ।

विशेषगरी कप्तान तथा गोलकिपर जसिमार इभोरा डियास (भोजिन्हा) ले गरेका उत्कृष्ट बचाउले उनी विश्वभर चर्चामा आएका थिए ।

विश्वकपमा भोजिन्हाले लगाएको फुटबल बुट पनि चिनियाँ कम्पनीको बनेको रहेको खुलेको छ । दक्षिणपूर्वी चीनको फुजियान प्रान्तस्थित छुफेङ स्पोर्ट्सले तयार पारेको जुत्ता उनले विश्वकपभर प्रयोग गरेका थिए ।

कम्पनीले विश्वकपअघि २०० भन्दा बढी जोडी फुटबल बुट उत्पादन गरेको थियो भने प्रतियोगिताका लागि थप २० जोडी तयार गरेको जनाएको छ ।

भोजिन्हाको उत्कृष्ट प्रदर्शन सामाजिक सञ्जालमा भाइरल भएपछि मात्र कम्पनीले आफ्नै जुत्ता उनले प्रयोग गरिरहेको थाहा पाएको बताइएको छ । त्यसपछि उक्त ब्रान्डका जुत्ता खरिद गर्न चाहने समर्थकहरूको फोनको ओइरो लागेको कम्पनीले जनाएको छ ।

केप भर्डेको विश्वकप यात्रा चीनसँग अर्को कारणले पनि जोडिएको छ । टोलीले विश्वकप छनोटअघिका प्रशिक्षण र ऐतिहासिक छनोट खेलहरू राजधानी प्रेयामा रहेको चिनियाँ सहयोगमा निर्माण गरिएको राष्ट्रिय रंगशालामा खेलेको थियो । सन् २०१४ मा सम्पन्न भएको १५ हजार दर्शक क्षमताको उक्त रंगशाला चीनको आर्थिक सहयोगमा निर्माण गरिएको हो ।

चीनका लागि केप भर्डेका राजदूत अर्लिन्डो डो रोसारियोले चीनको सहयोगले आफ्नो देशको खेलकुद विकासमा महत्वपूर्ण योगदान पुगेको बताएका छन् । उनले आगामी दिनमा नवीकरणीय ऊर्जा, डिजिटल अर्थतन्त्र, पर्यटन र प्रविधिको क्षेत्रमा पनि चीनसँग सहकार्य विस्तार गर्ने इच्छा व्यक्त गरेका छन् ।

विश्वकपबाट बाहिरिएपछि केप भर्डे टोलीले चिनियाँ समर्थकलाई विशेष धन्यवाद पनि दिएको थियो । ‘हामीलाई समर्थन गर्ने सबै चिनियाँ नागरिकप्रति आभारी छौं । तपाईंहरूले देखाएको माया र साथका लागि धन्यवाद’ भन्दै टोलीले सन्देश जारी गरेको थियो ।

सन् १९७६ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता चीनले केप भर्डेमा विभिन्न पूर्वाधार निर्माणमा लगानी गर्दै आएको छ । राष्ट्रिय रंगशालासँगै बाँध, विश्वविद्यालय परिसर र सरकारी भवनहरू निर्माणमा पनि चीनको सहयोग रहेको छ ।

यस्तै, चीनमा बसोबास गर्ने व्यवसायी लिन जीले भोजिन्हाकी आमालाई छोरा विश्वकप खेल्न अमेरिका पुगेर हेर्न अमेरिकी भिसा प्राप्त गर्न आर्थिक तथा प्रशासनिक सहयोग गरेको घटना पनि चीनमा निकै चर्चित बनेको थियो ।

भोजिन्हाको विश्वकप प्रदर्शन र यी घटनापछि चीनमा केप भर्डेबारे चासो उल्लेखनीय रूपमा बढेको बताइएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार अर्जेन्टिनासँगको खेलपछि २४ घण्टाभित्र केप भर्डेसम्बन्धी अनलाइन खोज २०० प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो ।

गत वर्ष चीन र केप भर्डेबीच करिब ११६ मिलियन अमेरिकी डलर बराबरको द्विपक्षीय व्यापार भएको थियो, जसमा अधिकांश हिस्सा चीनबाट हुने निर्यातको रहेको छ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय