+
+
Shares

यातायात क्षेत्र बदनाम हुने गरी गतिविधि नगर्न व्यवसायीलाई महासंघले गरायो सचेत

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २४ गते १७:३७

२४ असार, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यस क्षेत्रको बदनाम हुने गरी नियम विपरितका गतिविधि नगर्न सचेत गराएको छ । महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी सूचनामा काठमाडौं उपत्यकासहित देशभरि सार्वजनिक यातायातका सवारी साधन सञ्चालन गर्दा नियमको कडाइका साथ पालना गर्न सूचित गरिएको छ ।

यात्रुलाई गन्तब्यसम्म नपुर्‍याउने, बढी भाडा लिने, सिट क्षमता भन्दा बढी यात्रु राख्ने, यात्रुमैत्री व्यवहार नगर्ने, बस पकेट भन्दा बाहिर जथाभावी यात्रु चढाउने र ओराल्ने, यात्रु तानातान गर्ने, सिट सरसफाइ नगर्ने जस्ता जनगुनासो आइरहेको महासंघले जनाएको छ ।

यसैगरी डस्टबिनको व्यवस्था नगर्ने, तीव्र गतिमा सवारी चलाउने, ट्राफिक नियम पालना नगर्ने, सवारी साधनसँग सम्बन्धित कागजात दुरुस्त नराख्नेजस्ता गुनासोबारे समेत व्यवसायीलाई सचेत गराइएको छ । यस्ता व्यवहारले सार्वजनिक यातायात क्षेत्रलाई आम सरोकारवालाले अपहेलित र अमर्यादित पेशाका रुपमा लिने गरेको समेत महासंघको विश्लेषण छ ।

खर्ब लगानी रहेको र राज्यलाई अर्बमा राजस्व बुझाइरहेको पेशा मर्यादित, लगानीमैत्री र यात्रुमैत्री हुनुपर्नेमा अनौपचारिक रुपबाट यातायात क्षेत्रलाई बदनाम गराउने प्रयास भइरहेको महासंघले उल्लेख गरेको छ ।

कतै यस्ता गतिविधि भएको भए तत्काल सुधार गरी आधुनिक प्रविधिमैत्री सेवा सञ्चालन गर्न/गराउन समेत आह्वान गरिएको छ । त्यसो नभए सवारी साधन, व्यवसायी र मजदूरलाई सम्बन्धित निकायले कारबाही गर्नेबारे समेत महासंघले सूचित गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?