२५ असार, काठमाडौं । चिनियाँ बजारमा ए १० नामले परिचित लिपमोटरको बी ०३ इलेक्ट्रिक एसयूभी नेपाली बजारमा चाँडै प्रवेश गर्ने भएको छ। दैनिक प्रयोग र आधुनिक विद्युतीय प्रविधिलाई ध्यानमा राखेर विकसित गरिएको यो मोडल नेपालमा हुने ‘नाइमा मोबिलिटी एक्स्पो’ मार्फत सार्वजनिक गर्ने तयारी गरिएको छ ।
नेक्स्ट जेनेरेसन आर्किटेक्चरमा आधारित बी ०३ मा १०० किलोवाट क्षमताको फ्रन्ट–ह्विल–ड्राइभ मोटर जडान गरिएको छ, जसले २०० न्युटन–मिटर टर्क उत्पादन गर्छ। यसमा १८ इन्चको एलोय ह्विल, १४.६ इन्चको २.५के एचडी टचस्क्रिन, लेभल–२ एडास ड्राइभर असिस्टेन्स प्रणाली तथा ५१० लिटर क्षमताको फराकिलो बुट स्पेसजस्ता प्रिमियम सुविधा समावेश छन्।
नेपालका लागि लिपमोटर गाडीको आधिकारिक एकमात्र आयातकर्ता साङ्ग्रिला मोटर्स प्रालिले पहिलो लिपमोटर बी ०३ चीनबाट आधिकारिक रूपमा पठाइसकेको र नेपाल आउने क्रममा रहेको जनाएको छ। यो मोडल दुईवटा भेरियन्टमा उपलब्ध हुने छ, जसमा ब्याट्री क्षमता र सुविधाका आधारमा केही भिन्नता रहने बताइएको छ।
चालु वर्षको जुन महिनामा मात्र यो ब्रान्डको बिक्री ४३ हजार ३७६ युनिट पुगेको कम्पनीले जनाएको छ। ‘यो गाडी किफायती इलेक्ट्रिक एसयूभी नेपाली बजारमा पनि बलियो प्रतिस्पर्धी बन्ने अपेक्षा गरिएको छ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ।
लिपमोटर स्टेलान्टिस समूहसँगको रणनीतिक साझेदारीमा अघि बढिरहेको विश्वप्रसिद्ध ईभी ब्रान्ड हो। स्टेलान्टिसअन्तर्गत मसेराटी, जिप, प्युजोसहित १४ वटा अटोमोबाइल ब्रान्ड आबद्ध छन्। लिपमोटरका हालसम्म विश्वभर १५ लाखभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको कम्पनीको दाबी गरेको छ।
प्रतिक्रिया 4