२५ असार, काठमाडौं । सरकारले राष्ट्रिय वाणिज्य बैंकको रिक्त सञ्चालक समितिलाई पूर्णता दिने भएको छ ।
सरकारले करिब २ महिना खाली राखेर सहसचिव सुमन दाहाल सहित ४ सञ्चालक नियुक्त गर्ने निश्चित भएको छ ।
सरकारले अर्थ मन्त्रालयका प्रतिनिधिका रूपमा सुमन दाहाललाई सञ्चालकमा पठाउने निर्णय गरको छ । दाहालले नै बैंकको अध्यक्षता पनि गर्ने अर्थ मन्त्रालयका एक अधिकारीले बताए ।
त्यसैगरी आस्था भट्ट, होमबहादुर आले र भुरन ठाकुरलाई सञ्चालक नियुक्त गर्ने टुङ्गो लागेको छ । ‘व्यक्तिहरूको टुङ्गो लागिसकेको हुनाले यसै साता अन्तिम निर्णय हुन्छ,’ उनले भने, ‘तोकिएका व्यक्तिले सपथ खाएर काम नै सुरु गर्न २–४ दिन लाग्छ ।’
अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय वाणिज्य बैंकको चुक्ता पूँजी वृद्धि गरी अझै बलियो बनाउने उल्लेख गरेका छन् । २१ फागुन २०८२ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लगभग बहुमत ल्याएपछि सरकार गठन गर्यो । सरकार गठन भएलगत्तै पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्ति बर्खास्त गर्ने निर्णय गर्दै अध्यादेश ल्यायो । सोही अध्यादेशमा वित्तीय क्षेत्रलाई भने समेटिएको थिएन ।
तर, अर्थ मन्त्रालयले तत्कालीन सरकारले नियुक्त गरेका सरकारी बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरूलाई राजीनामा दिन मौखिक निर्देशन दिएपछि बैंक अध्यक्ष देवकुमार ढकालले गत वैशाख २४ गते राजीनामा दिए । उनीसँगै अन्य सञ्चालकले पनि राजीनामा दिएपछि बैंक सञ्चालक समितिमा स्वतन्त्र सञ्चालक मात्र थिए ।
बाफिया अनुसार पनि बैंक सञ्चालक समितिमा ५ देखि ७ सदस्य रहन सक्ने व्यवस्था छ । सोही अनुसार राष्ट्रिय वाणिज्य बैंकमा ७ सदस्यीय सञ्चालक समिति छ । त्यसमा अर्थ मन्त्रालयको प्रतिनिधि सहित सबैलाई सरकारले नै नियुक्त गर्ने हो ।
स्वतन्त्र सञ्चालकका हकमा भने लक्ष्मण घिमिरे छन् । स्वतन्त्र सञ्चालक भएकाले उनले भने राजीनामा दिएका थिएनन् । बैंक सञ्चालक समितिको कार्यकाल ४ वर्षको हुनेछ ।
तर, सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत बैंकमा नेपाल सरकारको पूँजी वृद्धि गर्ने घोषणा समेत गरेको अवस्था छ । बैंक सञ्चालक समिति नै नहुँदा नीतिगत काम र ठूला ऋण स्वीकृत गर्ने काम, आगामी वर्षको नीति कार्यक्रम तयार गर्ने, साधारणसभा समयमा नहुने तथा कर्मचारीमा अन्योल बढ्नेजस्ता समस्या आउने जोखिम सञ्चालक नियुक्तिसँगै न्यूनीकरण भएको बैंकका एक अधिकारीले बताए ।
प्रतिक्रिया 4