+
+
Shares

प्रधानमन्त्रीलाई कांग्रेसको सुझाव– अब कालो चस्मा खोल्ने बेला आएको छ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १३:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसकी सांसद बासना थापाले त्रिभुवन पार्क क्षेत्रमा आत्मदाह प्रयास गरेका युवाको घटनामा सरकार मूकदर्शक बनेको भन्दै प्रधानमन्त्री बालेन शाहको आलोचना गरिन्।
  • सांसद थापाले आत्मदाह प्रयास गर्ने युवालाई उद्धार गर्नुको साटो प्रहरीले आपराधिक व्यवहार गरेको भन्दै सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएकी छन्।
  • सरकार मानवीय संवेदनशीलता कुल्चिएर सामाजिक सञ्जालमा लाइक बढाउन केन्द्रित भएको आरोप लगाउँदै उनले अब कालो चस्मा खोल्ने बेला आएको बताएकी छन्।

२५ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई कालो चस्मा खोल्ने बेला आएको बताएको छ ।

त्रिपुरेश्वरमा बिहीबार आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनामा राज्य किन मूकदर्शक बनेर बसेको ? भन्दै कांग्रेसले प्रश्न गरेको छ ।

कांग्रेस सांसद बासना थापाले शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री शाहलाई प्रश्न गरिन्, ‘राज्यको सफलतामाथि कठोर प्रश्न उठाउने तपाईं आज किन टाढा हुनुहुन्छ ?’

नेपालीले शरीरमा आगो सल्काउँदा राज्यले एम्बुलेन्स समेत नपठाएको आरोप उनले लगाइन् ।

‘राज्य आतंकका कारण एक युवाले आगो सल्काउँदा समेत राज्य मूकदर्शक बन्यो । शरीर आगोमा दन्किरहेको छ, राज्यले एम्बुलेन्स पठाएन । बरु प्रहरी प्रशासन लगाएर अपराधिकझैं घिसारेर लग्यो,’ उनले प्रश्न गरिन्, ‘यो उद्धार हो कि गिरफ्तारी हो सरकार ? उ देशद्रोही हो ? उसले कसको विरुद्ध के अपराध गरेको थियो ? उसको गल्ती यही हो कि यो देशमा जन्मियो कि यही देशमा केही गर्न खोज्यो ।’

वर्तमान सरकार जनताको ज्यान जोगाउने भन्दा पनि मानवीय संवेदनशीलतालाई कुल्चिएर सञ्जालमा लाइक बढाउने ध्यानमा रहेको उनको आरोप छ ।

‘अरूले आफैंलाई जलाउने हिम्मत गर्न सकेको छैनन् । बहादुर युवाले विद्रोह गर्‍यो । सरकार जनताको ज्यान जोगाउने भन्दा पनि मानवीय संवेदनशीलतालाई कुल्चिएर लाइक बढाउने ध्याउन्नमा छ,’ उनले भनिन् ।

सुकुमवासीलाई उठीबास लगाउँदा दुई जनताले ज्यान गुमाएको सांसद थापाको भनाइ छ ।

‘केही समयअघि सुकुमवासीलाई उठीबास लगाएर १७ वर्षीय रविन तामाङ र ६१ वर्षीय इन्द्रबहादुर राईले आत्महत्या गरेका थिए । हिजो पनि धोबीखोलामा हाम फालेर मृत्युवरण गरेको समाचार आएको अझै पहिचान हुन बाँकी छ,’ उनको प्रश्न छ, ‘प्रधानमन्त्रीज्यू, राज्य साँच्चै यति निरीह र असफल भइसकेको हो ? अब कालोचस्मा खोल्ने बेला आएको छ । साझा यातायातको हरियो रङलाई पोतेर नागरिकको सुरक्षा महसुस गरिँदैन ।’

००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?