News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले नयाँ सरकार गठनपछि प्रहरी हिरासतमा मृत्यु र सुकुमवासीका घरमा डोजर चलाउनेजस्ता विचित्रका घटनाहरू भइरहेको आरोप लगाएका छन्।
- मुगुका गणेश नेपालीको आत्मदाह घटनाप्रति आपत्ति जनाउँदै उनले सरकारले नागरिकलाई आत्महत्या गर्नुपर्ने अवस्था सिर्जना गरेको भन्दै निन्दा गरेका छन्।
- सांसद विश्वकर्माले आत्मदाहको समयमा सुरक्षाकर्मीले उद्धार गर्नुको साटो रमिते बनेको भन्दै सरकारलाई अति गरे क्षति हुने कुराको हेक्का राख्न चेतावनी दिएका छन्।
२६ असार, काठमाडौं । राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार बनिसकेपछि विचित्रका घटनाहरू भइरहेका टिप्पणी गरेका छन् ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकको आकस्मिक समयमा उनले रास्वपा नेतृत्वको सरकार गठनपछि प्रहरी हिरासतमा मान्छे मर्नेदेखि सुकुमवासीका घरमा डोजर चल्नेसम्मका घटना भइरहेका टिप्पणी गरे ।
‘आज देशमा नयाँ सरकार आएपछि विचित्र–विचित्रका घटनाहरू घटना थालिरहेका छन्,’ सांसद विश्वकर्माले भने, ‘कतै हिरासतमै मृत्यु हुन्छ, कतै सुकुमवासीका घरमा डोजर लगाइन्छ ।’
मुगुका गणेश नेपालीको आत्मदाह घटनातर्फ संकेत गर्दै उनले सरकारबाट नै शरीरमा आगो लगाएर मर्नुपर्ने अवस्था सिर्जना भएको आरोप लगाए ।
‘हुँदाहुँदा आज एक जना पठाओ व्यवसायीलाई आफ्नो शरीरमा पेट्रोल छर्किएर, आयो लगाएर मर्ने वातावरण सिर्जना गरेर सरकारले अत्यन्त निन्दनीय काम गरेको छ,’ सांसद विश्वकर्माले भने ।
उनले नेपालीले आत्मदाहको प्रयास गरिरहेको स्थानमा रहेका सुरक्षाकर्मीको व्यवहारप्रति पनि आपत्ति जनाए ।
‘आत्मदाहलाई त्यहाँ रहेका पुलिसले रोक्ने, उनलाई बचाउने प्रयास गर्नुको सट्टा रमिते भएर हेर्छन,’ विश्वकर्माले भने, ‘आत्मदाह गरिसकेपछि पक्राउको शैलीमा उनलाई आफ्नो गाडीम हालेर लगिन्छ अस्पताल । उनको दुःखद् मृत्यु भएको छ ।’
सांसद विश्वकर्माले अति गरे क्षति हुने हेक्का राख्नसमेत सचेत गराए । ‘म सरकारलाई भन्न चाहन्छु– हाम्रा पुर्खाले भनेको अति गरे खति हुन्छ,’ उनले भने, ‘यो सरकारले हेक्का राखोस् ।’
सरकारले जनतामाथि उत्पीडन गर्ने, गरिब, सुकुमवासी, निमुखा, दलित, अल्पसंख्यकमाथिको चर्को दमन गरिरहेको उनको दाबी थियो ।
प्रतिक्रिया 4