+
फिफा विश्वकप २०२६ :

उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनालाई स्विट्जरल्यान्डको बलियो डिफेन्सको चुनौती (प्रिभ्यू)

२०८३ असार  २७ गते १२:१३ २०८३ असार २७ गते १२:१३

लियोनल मेसीको शानदार प्रदर्शनमा उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिना र उत्कृष्ट डिफेन्स लाइन रहेको स्वीस टोलीबीचको प्रतिस्पर्धा विहान ६:४५ बजे सुरु हुनेछ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा साविक विजेता अर्जेन्टिना र ७२ वर्षपछि क्वाटरफाइनल प्रवेश गरेको स्विट्जरल्यान्डबीच आइतबार विहान प्रतिस्पर्धा हुँदैछ ।
  • लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना उपाधि रक्षा गर्ने लक्ष्यमा छ भने स्विट्जरल्यान्ड पहिलो पटक सेमिफाइनल पुगेर इतिहास रच्न चाहन्छ ।
  • कान्सास सिटी स्टेडियममा हुने यो खेलमा अर्जेन्टिनाको बलियो आक्रमण र स्विट्जरल्यान्डको अनुशासित डिफेन्स लाइनबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

२७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम क्वाटरफाइनलमा साविक विजेता अर्जेन्टिना र ७२ वर्षपछि क्वाटरफाइनल प्रवेश गरेको स्विट्जरल्यान्डबीच अमेरिकाको कान्सास सिटी स्टेडिययममा आइतबार विहान प्रतिस्पर्धा हुँदैछ ।

लियोनल मेसीको शानदार प्रदर्शनमा उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिना र उत्कृष्ट डिफेन्स लाइन रहेको स्वीस टोलीबीचको प्रतिस्पर्धा विहान ६:४५ बजे सुरु हुनेछ ।

उपाधिको बलियो दाबेदारको रुपमा रहेको अर्जेन्टिना र स्विट्जरल्यान्डको ‘जायन्ट किलर’ छविले खेललाई कडा प्रतिस्पर्धात्मक बनाउने निश्चित छ ।

एकातिर चौथो पटक विश्वकप जित्दै अर्जेन्टिना आफ्नो विरासत जोगाउने अभियानमा छ । अर्कोतिर ७२ वर्षपछि क्वाटरफाइनल पुगेको स्विट्जरल्यान्ड नयाँ इतिहास रच्न मैदान उत्रनेछन् ।

अर्जेन्टिना ६४ वर्षपछि विश्वकपमा लगातार उपाधि जित्ने पहिलो टिम बन्दै इतिहास बनाउने लक्ष्यमा छ भने स्विट्जरल्यान्ड पहिलो पटक विश्वकपको सेमिफाइनल पुग्ने लक्ष्यमा हुनेछ ।

समूह चरणमा सहजै जित हात पारेको अर्जेन्टिनाले नकआउट चरणको दुवै खेल जित्न संघर्ष गर्नुपरेको थियो । प्रिक्वाटरफाइनलमा मेसी प्रेरित अर्जेन्टिनाले दुई गोलले पछि परेको स्थिती उल्टाउँदै इजिप्टमाथि ३-२ को सानदार पुनरागमन जित हात पारेको थियो । स्विट्जरल्यान्डले भने दक्षिण अमेरिकी अर्को टोली कोलम्बियालाई पेनाल्टीसुटआउटमा ४-३ ले पराजित गर्दै ७२ वर्षपछि क्वाटरफाइनलमा स्थान बनाएको हो ।

कान्सास सिटीमा हुने यो खेललाई विश्वकै महान खेलाडी मेसीको नेतृत्वमा रहेको विश्वकै उत्कृष्ट आक्रमण र विश्वकै अनुशासित डिफेन्स लाइन रहेको टिम बिचको भिडन्तको रुपमा हेरिएको छ ।

विगतमा स्विट्जरल्यान्डसँग अपराजित अर्जेन्टिना त्यो इतिहासलाई कामय राख्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छ भने स्विट्जरल्यान्ड त्यो लयलाई ब्रेक गर्ने लक्ष्यमा हुनेछ ।

यस खेलको विजेता नर्वे र इंग्ल्यान्डबीचको खेलको विजेतासँग सेमिफाइनल खेल्नेछ ।

अहिलेसम्मको यात्रा

साविक विजेता अर्जेन्टिना यस पटक कप्तान मेसीको प्रेरणादायी प्रदर्शनमा अहिलेसम्म अपराजित छ । समूह चरणमा तीनै खेलमा जित्दै शतप्रतिशत नतिजा हात पारेको अर्जेन्टिनाले नकबउट चरणमा भने दुवै खेल जित्न संघर्ष गर्नुपरेको थियो ।

अर्जेन्टिनाले अल्जेरियालाई ३-०, अस्ट्रियालाई २-० र जोर्डनलाई २-१ ले पराजित गरेको थियो भने भने राउण्ड अफ ३२ मा नवप्रवेशी केप भर्डे र प्रिक्वाटरफाइनलमा इजिप्टलाई ३-२ ले पराजित गरेको थियो । इजिप्ट विरुद्ध ७९ मिनेटसम्म २-० ले पछि परेको अवस्थामा मेसीको एक गोल र एक असिस्ट अनी एन्जो फर्नान्डेजको इन्जुरी टाइम गोलमा अर्जेन्टिनाले पुनरामगमन जित हात पारेको थियो ।

जस्तोसुकै अवस्थामा पनि पुनरागमनन गर्ने गर्ने यस विश्वकपमा सानदार लयमा देखिएको छ । टोलीका कप्तान लियोनल मेसीले ३९ वर्षको उमेरमा जादुयी प्रदर्शन गर्दै युवा खेलाडीले जस्तै प्रदर्शन गरिरहेका छन् ।

यस विश्वकपमा हरेक खेलमा कीर्तिमान बनाइहेका मेसीले खेलेको ५ वटै खेलमा गोल गर्दै कीर्तिमान माथि कीर्तिमान बनाइरहेका छन् । मेसी ५ खेलमा ८ गोल गर्दै गोल्डेन बुटको दौडमा  फ्रान्सका किलियन एमबाप्पेसँगै अगाडि छन् । एमबाप्पेले ६ खेल खेलिसकेका छन् र मेसीलाई स्विट्जरल्यान्ड विरुद्धको खेलमा गोल बढाउने अवसर छ ।

अर्जेन्टिनाका लागि यस पटक अधिकांश गोल मेसीले नै गर्ला लाउटारो मार्टिनेज र जुलियन अल्भारेज जस्ता फरवार्डबाट अपेक्षा अनुसार गोल हुन सकेको छैन । मेसीसँगै यि दुई खेलाडी पनि चलेमा भने विपक्षी डिफेन्सका लागि घातक बन्न सक्छ ।

यस्तै मिडफिल्डमा एन्जो फर्नान्डेजसँगै एलेक्सिस म्याक एलिस्टरले खेल कन्ट्रोल गर्न सक्छन् । डिफेन्स र गोलकिपिङमा भने अर्जेन्टिनी टिममा केही कमजोरी देखिएको थियो । विशेष गरी काउन्टरमा अट्याकमा विपक्षी टिमले फाइदा उठाउन सक्छ ।

स्विट्जरल्यान्डले पनि अपराजित रहँदै क्वाटरफाइनलमा स्थान बनाएको हो । समूह बी मा दुई जित र एक बराबरी नतिजासहित समूह विजेता बनेको स्विट्जरल्यान्डले पछिल्ला दुई नकआउट खेलमा क्लिनसिट राखेको छ ।

समूहको पहिलो खेलमै कतारसँग अन्तिम समयमा गोल बेहोर्दै १-१ को बराबरीमा रोकिएको स्विस टोलीले त्यसपछि बोस्निया एण्ड हर्जगोभिनालाई ४-१ र सहआयोजक क्यानडालाई २-१ ले पराजित गर्दै नकआउट चरणमा पुगेको थियो ।

राउण्ड अफ ३२ मा अल्जेरियालाई २-० ले पराजित गरेको स्विट्जरल्यान्डले प्रिक्वाटरफाइनलमा कोलम्बियालाई पेनाल्टीसुटआउटमा पराजित गर्दै ७२ वर्षपछि विश्वकपको क्वाटरफाइनल पुगेको हो ।

स्विट्जरल्यान्डलाई यस पटक सेमिफाइनल पुग्दै इतिहास रच्ने अवसर छ । त्यसका लागि सबैभन्दा ठूलो हतिरहार भनेकै स्विट्जरल्यान्डको डिफेन्स लाइन र गोलकिपर हुन् । कोलम्बिया विरुद्ध गोलकिपर कोबेलले उत्कृष्ट बचाउ गरेका थिए भने एक पेनाल्टी समेत बचाएका थिए ।

अनुशासित डिफेन्स लाइनले विपक्षी टोलीलाई निर्धारित समयमा गोल गर्न नदिनु र खेललाई अतिरिक्त समय वा पेनाल्टीसम्म धकेलेर दबाब सिर्जना गर्नु उनीहरूको रणनीति हुनेछ ।

तर मैदानमा जादु जस्तै खेल प्रदर्शन गर्ने मेसी र विश्व विजेता अर्जेन्टिना जस्तो टोलीलाई रोक्दै   गोल गर्नु स्विस टोलीका लागि पनि चुनौती देखिन्छ ।

हेड टु हेड

विश्वकपको इतिहासमा यी दुई टोली यसअघि पनि दुई पटक आमनेसामने भइसकेका छन् । अर्जेन्टिना र स्विटजरल्यान्ड विश्वकपमा तेस्रो पटक भिड्न लागेका हुन् । यसअघिका दुई भेटमा अर्जेन्टिनाले जित हात पारेको थियो ।

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको प्रिक्वाटरफाइनल एन्जल डि मारियाको गोलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा १-० ले पराजित गरेको थियो । त्यसअघि सन् १९६६ को विश्वकपमा समूह चरणमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गरेको थियो ।

यस्तै समग्रमा यी दुई टोलीबीच ७ खेल हादा अर्जेन्टिना अपराजित छ । अर्जेन्टिनाले ५ खेल जित्दा २ खेल बराबरीमा सकिएको थियो । सन् २०१४ को विश्वकपपछि यी दुई टोली पहिलो पटक आमने सामने हुन लागेका हुन् ।

इतिहास अर्जेन्टिनाको पक्षमा भए पनि वर्तमान लयमा स्विट्जरल्यान्डलाई कमजोर आँक्न मिल्दैन ।

टिम न्युज

साविक विजेता अर्जेन्टिनाको टिममा इन्जुरी वा निलम्बन कुनै समस्या छैन । प्रशिक्षक लियोनल स्कालोनीका लागि सबै खेलाडी उपलब्ध छन् ।

अघिल्लो खेलमा जुलियन अल्भारेज र लिएन्ड्रो परेडेस पहिलो रोजाईँमा खेलेका थिए । पेरेडेसले अन्तिम समयमा इनिप्ट विरुद्ध ट्याकल गर्दै संकट टारेका थिए । पेरेडेस र अल्भारेज पहिलो रोजाईँमै खेल्ने सम्भावना छ ।

स्विटरज्लयान्डका लागि माइकल आइबिचेर र लुका जाक्जेव खेल्नेमा शंक छ । यस्तै ब्रेक आउट स्टारको रुपमा रहेका युवा खेलाडी जोहान मान्जाम्बीले चोटका कारण प्रिक्वाटरफाइनल गुमाएका थिए र उनी रिकभरी गरिरहेका छन् ।

प्लेअर्स टु वाच

यस विश्वकपमा कीर्तिमान बनाइरहेका अर्जेन्टिनाका कप्तान लियोनल मेसीमाथि नै सबैको नजर रहनेछ । अर्जेन्टिनी टोलीको मुख्य केन्द्रमा मेसी छन् र धेरै जसो उनीमै टिम निर्भर छ ।

विश्वकपमा कीर्तिमानी २१ गोल गरेका र यस पटक गोल्डेन बुट दाबेदारमा रहेका मेसी त्यो लय कायम राख्दै नकआउट चरणमा लगातार ७ खेलमा गोल गर्ने लक्ष्यमा हुनेछन् । उनले विश्वकपमा लगातार ९ खेलमा गोल गर्ने कीर्तिमान पनि बनाइसकेका छन् भने विश्वकपमा सर्वाधिक ९ असिस्ट समेत गरेका छन् । यस्तै एकै विश्वकपमा ८ गोल गरिकसकेा मेसी सामु टिमलाई फाइनल पुर्‍याउँदै बाँकी खेलमा गोल गर्दै कीर्तिमान बनाउने अवसर पनि छ । अहिलेसम्म एकै विश्वकपमा फ्रान्सका जस्ट फोन्टेनले १३ गोलको कीर्तिमान बनाएका छन् ।

यस विश्वकपमा ८ गोल गर्दै एमबाप्पेसँगै सर्वाधिक गोलकर्ताको रुपमा रहेका मेसीलाई रोक्न विपक्षी टिमले फरक रणनीति बनाउनुपर्नेछ । मेसीसँगै अग्रपंकतिमा खेल्ने जुलियन अल्भारेज र लाउटारोको लागि पनि गोल गर्ने अवसर हुनेछ । त्यसबाहेक एन्जो फर्नान्डेज, पेरेडेस र डिफेन्डर लिसान्ड्रो मार्टिनेजमा पनि नजर हुनेछ ।

स्विट्जरल्यान्डका लागि कप्तान ग्रानिट जाका टिमको मुख्य केन्द्रको रुपमा रहनेछन् । उनको डिफेन्सिभ क्षमताले गर्दा डिफेन्स लाइनमा मानुएल अकान्जी लगायत खेलाडीलाई सहयोग पुग्नेछ । यस्तै फरवार्ड लाइनमा बल प्लाई गर्ने र बल होल्ड गर्ने भूमिका जाका हुनेछन् ।

फरवार्ड ब्रिल एम्बोलो र डान एनडोएमा पनि सबैको नजर हुनेछ । गोलकिपर ग्रेगोर कोबेलको प्रदर्शन पनि निर्णायक बन्न सक्छ ।

फिफा विश्वकप २०२६ क्वाटरफाइन

अर्जेन्टिना भर्सेस स्विट्जरलयान्ड

मिति र समय : असार २८ गते विहान ६:४५ बजे

स्थान : कान्सास सिटी स्टेडियम, अमेरिका

प्रत्यक्ष प्रशारण : हिमालय स्पोर्ट्स

अर्जेन्टिना फिफा विश्वकप २०२६ स्विट्जरल्यान्ड

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय