+
+
Shares

पत्रकार महासंघ बेलायतले मनायो १५औं स्थापना दिवस

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते ६:४५

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले आफ्नो १५औँ स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।

बेलायतको अल्डरसटस्थित एम्पायर हलमा शुक्रबार आयोजित कार्यक्रममा शाखाले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘वर्ष पत्रकारिता सम्मान–२०२६’ वरिष्ठ पत्रकार मेजर सोनाम छिरिङ शेर्पालाई प्रदान गरेको छ।

बेलायतमा लामो समयदेखि नेपाली पत्रकारिताको विकास र प्रवर्धनमा पुर्‍याएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।

त्यसैगरी, भूतपूर्व गोर्खा सैनिक, विश्व कीर्तिमानी पर्वतारोही तथा अपाङ्गता अधिकार अभियन्ता डा. हरि बुढा मगरलाई विशेष सम्मान प्रदान गरिएको छ। देश र समाजका लागि विश्वस्तरमा पुर्‍याएको योगदान तथा प्रेरणादायी यात्राको कदर गर्दै उनलाई सम्मान गरिएको हो ।

सन् २०२३ मा दुवै घुँडामाथिबाट खुट्टा गुमाएका व्यक्तिमध्ये पहिलो पटक सगरमाथा आरोहण गरेर इतिहास रचेका बुढा मगर हालै प्रतिष्ठित गिनिज वल्र्ड रेकड्र्स आइकन अवार्डबाट समेत सम्मानित भएका छन्।

यस्तै, दुई दशक बढी समयदेखि बेलायतमा रहेर नेपाली कला, साहित्य र संस्कृतिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रवर्धनमा योगदान पुर्‍याउँदै आएकी लेखक, अनुसन्धानकर्ता तथा कवयित्री डा. संगीता श्रेष्ठ ‘स्वेच्छा’ लाई पनि विशेष सम्मान गरिएको छ।

युनिभर्सल पिस फेडेरेसन यूकेकी अध्यक्षसमेत रहेकी स्वेच्छाले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय समुदायसँग जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन्।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार भगिरथ योगीले पत्रकारहरूबीच एकता, सहकार्य र आपसी समझदारीलाई सुदृढ बनाउँदै संस्थाभित्र रहेका असन्तुष्ट पक्षलाई समेत समेटेर अघि बढ्नुपर्नेमा जोड दिए।

एनआरएनए यूके संरक्षक डेभिड गुरुङले आगामी स्थापना दिवस नेपाली दूतावास, लन्डनमा आयोजना गर्न सुझाव दिए भने नेपाल प्रहरीका पूर्वडीएसपी शिवजी श्रेष्ठले पत्रकारिताको गरिमा जोगाउन व्यावसायिक पत्रकारलाई मात्र सदस्यता वितरण गर्नुपर्ने धारणा राखे।

शाखा अध्यक्ष विमला सेनेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै शाखालाई अझ सशक्त, सक्रिय र एकताबद्ध बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।

सोही अवसरमा कार्यक्रम संयोजक एवं शाखाका वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेतको शब्द रहेको पत्रकारिता विषयक गीत ‘हामी पत्रकार’ सार्वजनिक गरिएको छ। कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमार्फत तयार पारिएको उक्त गीतले पत्रकारिताको निष्ठा, साहस, सत्य र सामाजिक उत्तरदायित्वलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।

कार्यक्रममा नेपालबाट आएका कलाकार शिवदास गुरुङ, अस्मिता रानामगर र राजेन्द्र केरुङले गीतसंगीत तथा नृत्य प्रस्तुत गरेका थिए।

महासचिव खेमराज रानाभाटले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष प्रमिला लाबुङ राईले स्वागत मन्तव्य दिएकी थिइन् भने सचिव विश्वास दीप तिगेलाले नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मालगायत स्वदेश तथा विदेशबाट प्राप्त शुभकामना सन्देश वाचन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?