+

मनसुनमा दमका बिरामीलाई हुनसक्छ समस्या, कसरी जोगिने ?

२०८३ असार  २९ गते १२:३१ २०८३ असार २९ गते १२:३१
मनसुनमा दमका बिरामीलाई हुनसक्छ समस्या, कसरी जोगिने ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मनसुनमा बढ्दो आद्रता, ढुसी र प्रदूषणका कारण दमका बिरामीलाई श्वासप्रश्वासमा समस्या हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव छ।

अहिले देशभर मनसुन सक्रिय छ । लगातार वर्षा, बढ्दो आद्र्रता, तापक्रममा आउने उतारचढाव, हावामा मिसिने धुलो, ढुसीको सूक्ष्म कण र परागकणका कारण धेरै मानिसलाई श्वासप्रश्वाससम्बन्धी समस्या बढ्ने गर्छ ।

विशेषगरी दम भएका व्यक्तिका लागि मनसुनको मौसम चुनौतीपूर्ण हुनसक्छ । सामान्य अवस्थामा नियन्त्रणमा रहेको अस्थमा पनि मौसम परिवर्तनसँगै एक्कासि बल्झिन सक्छ । सास फेर्न गाह्रो हुने, छाती भारी हुने, लगातार खोकी लाग्ने, सास फेर्दा घ्यार घ्यार आवाज आउनेजस्ता लक्षण यस समयमा बढी देखिन सक्छन् ।

दम पूर्ण रूपमा निको हुने रोग नभए पनि उचित औषधि, नियमित उपचार र दैनिक जीवनमा केही सावधानी अपनाएर यसलाई राम्रोसँग नियन्त्रण गर्न सकिन्छ । विशेषगरी अहिलेको मनसुनमा केही सामान्य कुरामा ध्यान दिए दम अट्याकको जोखिम निकै हदसम्म कम गर्न सकिन्छ ।

दम किन बढ्छ मनसुनमा ?

मनसुन सुरु भएपछि वातावरणमा आद्र्रता बढ्छ । घरका भित्ता, बाथरुम, भान्छा, झ्याल र कम हावा आउने स्थानमा ढुसी बढ्न थाल्छ । यी ढुसीमा सूक्ष्म कण हावामा मिसिएर श्वासमार्गमा पुग्दा दम भएका व्यक्तिमा एलर्जी र श्वासनली सुन्निने समस्या बढाउन सक्छन् ।

यसबाहेक वर्षापछि हावामा धुलो र परागकणको स्वरूप परिवर्तन हुन्छ । कतिपय ठाउँमा प्रदूषण, धुवाँ तथा संक्रमण फैलाउने भाइरसको जोखिम पनि बढ्ने भएकाले दमका बिरामीलाई थप समस्या हुन सक्छ ।

त्यसोभए, कसरी जोगिने त ?

इनहेलर साथमा राख्ने

दम भएका व्यक्तिका लागि इनहेलर सबैभन्दा महत्वपूर्ण औषधिमध्ये एक हो । आकस्मिक रूपमा सास फेर्न गाह्रो भएमा चिकित्सकले सिफारिस गरेको रेस्क्यु इनहेलरले तुरुन्त राहत दिन सक्छ भने कन्ट्रोलर इनहेलरले रोगलाई दीर्घकालसम्म नियन्त्रणमा राख्न मद्दत गर्छ ।

घरबाट बाहिर निस्कँदा इनहेलर बिर्सनु हुँदैन । यसको म्याद पनि समय–समयमा जाँच गर्नुपर्छ । चिकित्सकको सल्लाहबिना आफूखुसी इनहेलर बन्द गर्नु वा मात्रा परिवर्तन गर्नु उचित हुँदैन ।

धुलो, धुवाँ र प्रदूषणबाट जोगिने

दमको सबैभन्दा सामान्य ट्रिगरमध्ये धुलो, धुवाँ र वायु प्रदूषण पर्छ । सवारीसाधनबाट निस्कने धुवाँ, चुरोटको धुवाँ, अगरबत्ती, मच्छर धपाउने धुवाँ, तीव्र गन्ध आउने परफ्युम वा विभिन्न रसायनको गन्धले पनि अस्थमा बढाउन सक्छ ।

बाहिर जाँदा गुणस्तरीय मास्क प्रयोग गर्नु राम्रो हुन्छ । प्रदूषण बढी भएका स्थानमा लामो समय बस्नबाट जोगिनुपर्छ । घरभित्र धूम्रपान पूर्ण रूपमा निषेध गर्नुपर्छ, किनभने निष्क्रिय धूम्रपानले पनि दम भएका व्यक्तिलाई गम्भीर असर पार्न सक्छ ।

घरमा चिस्यान र ढुसी बढ्न नदिने

मनसुनमा घरभित्रको चिस्यान बढेपछि ढुसी छिट्टै फैलिन सक्छ । यी ढुसीका कण आँखाले देख्न नसकिने भए पनि श्वासमार्गमा पुगेर एलर्जी तथा अस्थमाको समस्या बढाउन सक्छन् ।

त्यसैले, घरलाई सकेसम्म हावापानी चल्ने बनाउनुका साथै झ्याल खोल्ने, एग्जस्ट फ्यान प्रयोग गर्ने, भिजेका ठाउँ तुरुन्त सुकाउने र नियमित रूपमा बाथरुम, भान्छा तथा भित्ताको सफाइ गर्ने बानी बसाल्नुपर्छ । आवश्यक परे डि—ह्युमिडिफायरको प्रयोग पनि गर्न सकिन्छ ।

घरको नियमित सरसफाइमा ध्यान दिने

घरभित्र जम्मा हुने धुलो, कार्पेट, पर्दा, तकिया र बेडसिटमा डस्ट माइट्स नामका सूक्ष्म जीव तथा एलर्जी गराउने कण जम्मा हुन सक्छन् । यी दम बढाउने प्रमुख कारणमध्ये एक हुन् ।

त्यसैले, नियमित रूपमा घर सफा गर्नुपर्छ । सम्भव भए भ्याकुम क्लिनर प्रयोग गर्नु राम्रो हुन्छ । ओछयान, तकियाको खोल र पर्दालाई तातो पानीमा समय–समयमा धुने बानी बसाल्नुपर्छ ।

कोठामा धुलो जम्मा हुन नदिनु र पर्याप्त हावापानीको व्यवस्था गर्नु पनि उत्तिकै आवश्यक छ ।

सन्तुलित र पौष्टिक आहार खाने

शरीरको रोग प्रतिरोधात्मक क्षमता राम्रो भए संक्रमणको जोखिम पनि कम हुन्छ । त्यसैले, दैनिक भोजनमा भिटामिन सी, भिटामिन डी, ओमेगा–३ फ्याटी एसिड, प्रोटिन र एन्टिअक्सिडेन्टयुक्त खानेकुरा समावेश गर्नु राम्रो हुन्छ ।

मौसमी फलफूल, हरियो सागसब्जी, गेडागुडी, बदाम तथा पर्याप्त पानी सेवनले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । अत्यधिक तेलयुक्त, प्रशोधित (प्रोसेस्ड) तथा जंक फुडको सेवन सकेसम्म कम गर्नुपर्छ ।

संक्रमणबाट विशेष सावधानी अपनाउने

मनसुनमा भाइरल संक्रमण, रुघाखोकी, फ्लू तथा अन्य श्वासप्रश्वाससम्बन्धी संक्रमण बढ्ने सम्भावना हुन्छ । यस्ता संक्रमणले अस्थमाको अवस्था थप जटिल बनाउन सक्छ ।

नियमित रूपमा साबुनपानीले हात धुने, भीडभाड भएका स्थानमा आवश्यक सावधानी अपनाउने तथा बिरामी व्यक्तिसँगको अनावश्यक सम्पर्कबाट टाढा रहने बानी बसाल्नुपर्छ । चिकित्सकले सिफारिस गरेमा फ्लू लगायत आवश्यक खोप समयमै लगाउनु पनि लाभदायी हुन्छ । संक्रमणका सुरुवाती लक्षण देखिएमा ढिला नगरी चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

मौसम अनुसार दैनिक गतिविधिमा परिवर्तन गर्ने

मनसुनमा एक्कासी चिसो हावा लाग्ने, भिज्ने वा अत्यधिक चिसो वातावरणमा बस्ने बानीले पनि अस्थमा बढाउन सक्छ । वर्षामा भिजेपछि सकेसम्म छिटो लुगा फेर्ने, शरीर न्यानो राख्ने र आवश्यक परे तातोपानी पिउने बानीले पनि केही हदसम्म समस्या कम गर्न मद्दत गर्छ ।

यदि व्यायाम गर्दा अस्थमाको समस्या बढ्ने गरेको छ भने चिकित्सकको सल्लाहअनुसार सुरक्षित तरिकाले शारीरिक गतिविधि गर्नुपर्छ । हल्का हिँडडुल, श्वासप्रश्वाससम्बन्धी अभ्यास तथा नियमित व्यायामले फोक्सोको कार्यक्षमता सुधार्न मद्दत गर्न सक्छ ।

दमको चेतावनी संकेतलाई बेवास्ता नगर्ने

लगातार खोकी लागिरहनु, राति सुत्दा सास फेर्न गाह्रो हुनु, छाती कसिएको महसुस हुनु, सास फेर्दा घरघर आवाज आउनु वा सामान्य काम गर्दा पनि सास फुल्न थालेमा त्यसलाई सामान्य ठानेर बस्नु हुँदैन ।

यदि इनहेलर प्रयोग गर्दा पनि राहत नआए, बोल्न गाह्रो हुने गरी सास फुल्यो, ओठ वा नङ निलो देखिन थाल्यो वा बिरामी अत्यधिक आत्तिन थाल्यो भने यो आपत्कालीन अवस्था हुनसक्छ । यस्तो अवस्थामा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा पुगेर उपचार गराउनुपर्छ ।

परिवारको सहयोग पनि उत्तिकै महत्वपूर्ण

दम भएका व्यक्तिको हेरचाहमा परिवारको भूमिका पनि महत्वपूर्ण हुन्छ । घरका सदस्यहरूले बिरामीलाई औषधि नियमित प्रयोग गर्न सम्झाइदिने, घरको वातावरण सफा राख्ने, धूम्रपान नगर्ने तथा अस्थमा अट्याक हुँदा के गर्ने भन्ने आधारभूत जानकारी राख्नु आवश्यक हुन्छ ।

बालबालिका वा वृद्ध अस्थमा बिरामी भए उनीहरूको नियमित स्वास्थ्य परीक्षण, औषधिको उपलब्धता तथा चिकित्सकले दिएको उपचार योजनाको पालना गराइदिन परिवार अझ बढी सचेत हुनुपर्छ ।

दम वर्षा श्वास–प्रश्वास
डा. कमलराज थापा
लेखक
डा. कमलराज थापा

डा. थापा काठमाडौँस्थित वीर अस्पताल र सुमेरु अस्पतालमा कार्यरत छन्। इन्टरनल मेडिसिनमा एमडी र पल्मोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिनमा डीएम गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ५८६९ हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मनसुनमा दमका बिरामीलाई हुनसक्छ समस्या, कसरी जोगिने ?

मनसुनमा दमका बिरामीलाई हुनसक्छ समस्या, कसरी जोगिने ?

भावनात्मक बुद्धिमत्ता : व्यक्ति, समाज र राष्ट्र स्वस्थ रहने आधार

भावनात्मक बुद्धिमत्ता : व्यक्ति, समाज र राष्ट्र स्वस्थ रहने आधार

पोस्टपार्टम डिप्रेसन : बच्चा जन्मिएपछि आमाको मनमा आउने अदृश्य पीडा

पोस्टपार्टम डिप्रेसन : बच्चा जन्मिएपछि आमाको मनमा आउने अदृश्य पीडा

‘किमोथेरापी’ राक्षसजस्तै हो भन्ने सोच हाम्रो समाजमा छ, त्यो भ्रम रहेछ

‘किमोथेरापी’ राक्षसजस्तै हो भन्ने सोच हाम्रो समाजमा छ, त्यो भ्रम रहेछ

स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ

स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, कुनमा को ?

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, कुनमा को ?