+
+
Shares
इतिहास :

सुगौली सन्धिमा हस्ताक्षरपछि चन्द्रशेखरको प्रायश्चित्त

त्यो बेला नेपाली फौज देशभक्ति र अदम्य साहसकै भरमा आफूभन्दा धेरै शक्तिशाली फौजसँग भिडेका थिए ।

राजकुमार दिक्पाल राजकुमार दिक्पाल
२०८३ असार २९ गते १३:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुटवल र स्यूराज क्षेत्रको सीमा विवादका कारण नेपालले इष्ट इण्डिया कम्पनीसँग वि.सं. १८७१ मा युद्ध लड्नुपर्ने परिस्थिति उत्पन्न भएको थियो ।
  • नालापानीको किल्लामा कप्तान बलभद्र कुँवरको नेतृत्वमा नेपाली सेनाले अदम्य साहसका साथ लडेर अङ्ग्रेज फौजलाई कडा टक्कर दिएको थियो ।
  • अन्ततः प्रतिकूल परिस्थितिका कारण वि.सं. १८७२ मङ्सिर ९ गते नेपालले एक तिहाइ भूभाग गुमाउँदै इष्ट इण्डिया कम्पनीसँग सुगौली सन्धि गरेको थियो ।

बुटवल र स्यूराज क्षेत्रको विषयमा विवाद हुँदा अन्ततः इष्ट इण्डिया कम्पनीसँग नेपालले युद्ध नै लड्नुपर्ने परिस्थिति आइपर्‍यो । सीमित साधन र परम्परागत हातहतियारको भरमा आफूभन्दा धेरै नै शक्तिशाली देशसँग नेपालले मुकाविला गर्नु चानचुने कुरा थिएन । त्यो बेला नेपाली फौज देशभक्ति र अदम्य साहसकै भरमा आफूभन्दा धेरै शक्तिशाली फौजसँग भिडेका थिए ।

इतिहासकार महेशराज पन्तले “पूर्णिमा” पूर्णाङ्क १ (वैशाख २०२१ः४८) मा उल्लेख गरे अनुसार वि.सं. १८७१ कात्तिक १८ गते लखनऊबाट कम्पनी सरकारका गभर्नर जनरल हेस्टिङ्सले नेपाल विरुद्ध युद्धको घोषणा गर्दा पूर्व मोरङदेखि पश्चिम हण्डुरसम्म दख्खल गर्ने अभिप्राय राखेका थिए । त्यसबेला नेपालले १२ हजारभन्दा बढी फौज बटुल्न सकेको थिएन । अङ्ग्रेजसँग भने पाँच भागमा बाँडिएको ३४ हजार सेना थियो ।

युद्धको औपचारिक घोषणाअघि नै देहरादुन दख्खल गर्न सेनापति जिलेस्पीले सहारनपुरबाट ८ तोप र ३५०० सैनिकलाई वि.सं. १८७१ कात्तिक ६ गते नेपालको सिमानाभित्र घुसाएर कात्तिक ८ गते देहरादुन उतारे । यस ठाउँबाट पाँच माइलको फरकमा ६०० फिट अग्लो डाँडामा कप्तान बलभद्र कुँवरले भर्खरै नालापानी किल्ला मर्मत गराएका थिए । उनका साथ २५० जति सैनिक र केही महिला थिए ।

राजगुरु गजराज मिश्र र टक्सारी चन्द्रशेखर उपाध्यायले सुगौली सन्धिका लागि राजा गीर्वाणयुद्धविक्रम शाहबाट प्राप्त गरेको अख्तियारी पत्र (स्रोतः योगी नरहरिनाथ)

त्यसै दिन कर्णेल मौवीले हात्तीबाट तोप लगी सैन्य समेत चढाएर किल्ला मात्र घेरेनन्, बलभद्रलाई आत्मसमर्पण गर्न पत्र समेत लेखे । तर बलभद्रले रातको समय पत्रको उत्तर दिने आफूहरूको नियम नरहेको भनी अङ्ग्रेजका पत्रवाहक सेनालाई खाली हात फर्काइदिएका थिए (बाबुराम आचार्य, “पूर्णिमा” पूर्णाङ्क ८४– वैशाख २०५०ः१९) ।

नालापानीमा कप्तान बलभद्र कुँवरको नेतृत्त्वमा नेपाली सेनाले अदम्य साहसका साथ लडेर आफ्नो पराक्रम देखाएको घटना नेपाली इतिहासमा चर्चित छ । नालापालीको युद्धमा कम्पनी सरकारका सेनानायक जिलेस्पीले ज्यान नै गुमाएका थिए । त्यहाँ ठूलो क्षति व्यहोर्नु परेपछि पानीको मुहान नै थुनेर बलभद्र कुँवरहरूलाई किल्ला छाड्न बाध्य पारिएको थियो । धेरै नेपाली इतिहासकारहरूले नालापानीको युद्धका बारेमा चर्चा गरिसकेका छन् ।

इष्ट इण्डिया कम्पनीसँगको युद्धमा कर्णेल उजिरसिंह थापाको नेतृत्त्वमा रहेको नेपाली फौजले बुटवल क्षेत्रमा बाहेक अन्यत्र कतै पनि नेपाली पक्षले जीत निकाल्न सकेन । वीरतापूर्वक लड्दालड्दै पनि यो युद्धमा नेपाली पक्षको हार भयो ।

अन्ततः आफ्नो लागि परिस्थितिहरू प्रतिकूल हुन पुगेपछि नेपालले आफ्नो एक तिहाइ भूभाग इष्ट इण्डिया कम्पनीलाई सुम्पँदै सुगौली सन्धिमा हस्ताक्षर गर्न बाध्य हुनुपर्‍यो । वि.सं. १८७२ मङ्सिर ९ गते कम्पनी सरकारका तर्फबाट कर्णेल ब्राड्सा र नेपालका तर्फबाट राजगुरु गजराज मिश्र र टक्सारी चन्द्रशेखर उपाध्यायले कम्पनी सरकारको सरहदभित्र रहेको सुगौलीमा पुगी सन्धिमा हस्ताक्षर गरिदिए (बाबुराम आचार्य, “जनरल भीमसेन थापा ः यिनको उत्थान र पतन”–२०६९ः१४१) ।
सुगौली सन्धि नेपाली इतिहासमा बिर्सन नसकिने घटनाका रूपमा रह्यो ।

सन्धिका लागि अख्तियारीको पत्र

इष्ट इण्डिया कम्पनीसँग सन्धि गर्न अख्तियारी पाउने दुई नेपाली अधिकारीमध्ये गजराज मिश्र तत्कालीन राजगुरु थिए । यस्तै चन्द्रशेखर उपाध्याय टक्सारी थिए । टक्सारी भनेको टक्सार चलाउने अर्थात् अहिलेको राष्ट्र बैंकको गभर्नर जस्तै राज्यको आर्थिक मामिला सम्बन्धी काम गर्ने अधिकारी हुन् ।

मिश्र र उपाध्यायलाई तत्कालीन राजा गीर्वाणयुद्धविक्रम शाहले इष्ट इण्डिया कम्पनीसँग शान्ति सम्झौता गर्न दिएको अख्तियारीको छायाँप्रति योगी नरहरिनाथले “इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह भाग १” (२०५५ः परिशिष्ट खण्ड पृ.२)मा प्रकाशित गरेका छन् । योगी (२०५५ः७६–७७)ले अख्तियारी पत्रको सरलीकरण पनि प्रकाशित गरेका छन् । जसको व्यहोरा यस्तो छः

सम्वत् १८७२ साल नौ सवालको पाहाडि बोलिमा उतार्‍या को. ।। ।। अहदनामा सुलह औ दोस्तिको वीच सर्कार कंपनी अंगरेज वहादुर औ राजा गीवाणयुद्ध विक्रम साह बहादुर सम्सेर जङ्ग राजा नेपालका मार्फत् सहा मतव. आलीमर्तवत्. उव्विहत् म आली मंजीलत मुस्तह फीज उद्दौला मुदव्वीरुन् मुलुक्लप्टंट कर्नेल वराट् साहब वहादुर नासिजंङ् कम्पनी अङ्गरेज वहादुरका तरफवाट. अषतियार दियाको. जुव् देनौ ईनान्. अंजी मुस्सानक.मशीर्पास्. हजूर फैजमामाुर्वादसाहकै वा वार्गाह इङ्लिस्तान् नवाव् मुस्तताव्. मुअल्ला. अलकाव् अस्रफुल् उमराव लारड् मायरा गौरनर जनरल वहादुर नाजिम् मुमालिक् महरूसे सरकार कम्पनी अङ्गरेज वहादुर मुतालुकैकी सव हिंद व मीरआजम् असाकर वादसही. व सर्कार कम्पनीका औ मार्फत्. रफा अत औ. अवालि पनाह श्रीगुरुगजराज मिसर. श्रीटक्सारी चन्द्रशेखर उपाध्या तरफ राजा मौसुफ्ले अष्तियार दियाका मजबूत् र. दुरुस्त गर्‍याको ।। ।। यो वीच सर्कार कम्पनी अङ्गरेज वहादुर व राजा नेपालको जङ् व लडाई भयोथ्यो. अव दुवै तरफको येस्तो मंजूरछ सिरिस्ता सुलह व दोस्तिको. औ राह दोस्ति व. येक्जेहतिको. पहिले यस् लडाइका अघिदेषि जस्तो थियो फेरि उस्तै वहाल्. व कायम् रहोस् भनि. सरहत् सुलह व माफकत्का माफीक दफात् तप्सील हठर्‍यो…।

फारसी भाषामा लेखिएको सुगौली सन्धिको प्रति, जहाँ मिश्र र उपाध्यायले हस्ताक्षर गरेका छन् (स्रोतः योगी नरहरिनाथ)

सुगौली सन्धिमा अन्तिम हस्ताक्षर हुनुअघि इष्ट इण्डिया कम्पनीले राजधानी काठमाडौंलाई नै भ्याउने गरी सेनापति अक्टोरलोनीको नेतृत्त्वमा ठूलो सङ्ख्यामा फौज पठाएको थियो । यसअघिका युद्धहरूमा जीत निकालेका कारण उत्साहित बनेका उनीहरू नेपाली भूमि मकवानपुर आइसकेका थिए । नेपालका लागि हरेक हिसाबले परिस्थिति प्रतिकूल बन्दै गइरहेको र यसअघिका युद्धहरूमा अधिकांश मोर्चामा पराजित समेत भएको हुँदा मुख्तियार जनरल भीमसेन थापाले बाध्य भएर राजा गीर्वाणयुद्ध र रङ्गनाथ पण्डितको सम्मति लिएर सन्धिपत्रमा मोहर लगाइदिए । मोहर लागेको सन्धिपत्र अङ्ग्रेज अधिकारीलाई बुझाउन पुग्नेमा टक्सारी चन्द्रशेखर नै थिए । उनी काजी बख्तावरसिंह बस्न्यातका साथ मकवानपुरगढी पुगेका थिए (आचार्य, २०५०ः४५–४६) ।

मकवानपुरगढीमा उनले नेपालको तर्फबाट मोहर लागेका सन्धिपत्र इष्ट इण्डिया कम्पनीका लेफ्टिनेन्ट कर्णेल पी. ब्राडसालाई बुझाएका थिए । कम्पनी सरकारको प्रमाणित प्रति पनि नेपाली प्रतिनिधिको हैसियतले टक्सारी चन्द्रशेखरले नै बुझेका थिए (आचार्य, २०६९ः१४४) ।
इतिहासमा यस्तो महत्त्वपूर्ण भूमिका खेल्ने टक्सारी चन्द्रशेखर उपाध्याय दाहाल थरका ब्राह्मण हुन् । यो लेखमा उनको कीर्ति र पारिवारिक लहरोबारे सङ्क्षिप्तमा चर्चा गरिएको छ ।

दाहाल बन्धुहरूको उद्गम

नेपालका दाहाल बन्धुहरूको उद्गम थलो दैलेखको दहगाउँ हो । दहगाउँबाट दाहालहरूमध्ये कोही दैलेखतिरै बसे भने कतिपय पूर्वतिर लागे । इतिहास तथा संस्कृति अन्वेषक नारायण नेपालको सौजन्यबाट प्राप्त तत्कालीन राजा रणबहादुर शाहले वि.सं. १८५२ भदौ वदी १३ रोज ६ मा जारी गरिएको यो लालमोहरको छायाँप्रति यो लेखकसँग छ । लालमोहरमा दुल्लुका १५ ब्राह्मण समूहलाई उनीहरूले पहिलेदेखि प्राप्त गरी भोगचलन गर्दै आएको बिर्ता जग्गाको थमौती गरिएको उल्लेख छ । यसरी बिर्ता थमौती भई पुरेत्याईंको अधिकार पाउने ब्राह्मण समूहमा आचार्य, हुमागाईं, नेपाल, पोखरेल, लम्साल, रिमाल, बयलकोटी, भट्टराई, कोइराला, भुर्तेल, बस्ताकोटी, सापकोटा, खराल, रिजाल र दाहाल रहेका छन् ।

यस लालमोहरमा “…तिमी ब्राह्मणहरूको पुर्खालाई अघिका जितारी मल्ल मलय वम राजाले सिलापत्र तांवापत्र लेषि…साक्षि राषि विर्ता वितलव गरि दियाको राजा राजाले नहर्‍याको हिजोका किलाभित्र आजसम्म चलन चलि आयाको जग्गा आज हामिले पनि थामि वक्सौ तिमि वितलवका ब्राह्मणहरूले तांहांका अघि अघिका राजालाई ज्या रितले मान्दथे आज पनि तेस जग्गाका अमालिलाई परापुर्वदेषि मानि आयाका रितले प्रोत्या गर” भन्ने परेको छ । 

यताबाट हेर्दा दाहालहरू पहिले खस राज्यमा आवाद रहेका र त्यहाँबाट अन्यत्र फैलिएका देखिन्छन् । खस राजा जितारी मल्ल र मलय बर्माबाट प्राप्त ब्राह्मणहरूको बिर्ता पछि रणबहादुर शाहको समयमा पनि बिर्ता नवीकरण गरिएको थियो । दाहाल प्रतिष्ठानका अध्यक्ष तथा वंशावलीकार डिल्ली दाहालले यो लेखकसँग बताए अनुसार तत्कालीन खस साम्राज्यको दैलेखको दहगाउँबाट दहाल वा दाहाल कहलाउँदै नेपालका विभिन्न ठाउँमा फैलनुअघि उनीहरूको थर भट्ट थियो । उनीहरूका पुर्खा दासु भट्टका चार छोरामध्ये जेठा र कान्छा आफ्ना बुबासँगै दैलेखको दहगाउँ विर्ता पाई बसेकाले दाहाल कहलाए । माहिलो र साहिंलो दुल्लु र विलासपुर पुजारी थिए । त्यहाँका राजाबाट लम्सु गाउँमा बिर्ता पाउने लम्साल भए भने रुपा बेसीको खेत बिर्ता पाउने रुपाखेती भए ।

दाहालहरूको उद्गमस्थल खुल्न तत्कालीन खस राज्य अन्तर्गतको दुल्लुमा दाहाल लगायत १५ थरी ब्राह्मणहरूको बिर्ता थमौती भएको राजा रणबहादुर शाहकालीन लालमोहर (स्रोतः नारायण नेपाल)

भट्टका छोराहरूमा दाहाल नै कहलिएका मध्ये जेठो बुबासँग दैलेखमै बसे भने कान्छो दाङहुँदै पूर्व नुवाकोटतिर लागे । उनका पनि चार जना छोरा भए । तीमध्ये जेठो नुवाकोटमै बसे । माहिलो झागाझोलीतिर गए । साहिलो नालामा आएर बसे भने कान्छो खलक दोलखा हुँदै त्यहाँबाट पूर्वतिर फैलने क्रममा ओखलढुङ्गाहुँदै सङ्खुवासभाको मादी पुगे ।

छैटौं पुस्ताका जेठो विश्वदेव नुवाकोट बसे । माहिलो हरि नालाबाट झागाझोली गए । साहिंलो शंकर नाला, काभ्रेमा बसे । कान्छो लोकनाथ नालाबाट दोलखा पुगे । उनका सन्तति दोलखा हुँदै ओखलढुङ्गा तथा सङ्खुवासभाको मादीतिर फैलिए । गोरखा र धादिङतिर फैलिएका दाहालहरूबारे अध्ययन भइरहेको डिल्ली दाहालको भनाइ छ । दैलेखको दहगाउँका दासु भट्ट दाहाल, रुपाखेती र लम्सालहरूका पूर्वज हुन् । कुँवरहरू पनि दाहालकै सगोत्री वन्धुहरू हुन् । दाहाल प्रतिष्ठानको वेबसाइटमा उल्लेख भए अनुसार मगर महिलासँग विवाह गरेपछि उनीहरू कुँवर कहलाएका हुन् । दाहाल, रुपाखेती, लम्साल र कुँवरहरू वत्स गोत्रका हुन् ।

सुगौली सन्धिमा हस्ताक्षर गर्ने चन्द्रशेखर उपाध्याय झागाझोलीतिर गएका माहिलो हरि उपाध्यायका सन्तति हुन् । यस्तै दाहाल बन्धुबाटै देशको सर्वोच्च स्थानमा पुग्ने पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ साहिंलो शंकरका सन्तति हुन् ।

चन्द्रशेखरका खलकको तरक्की

पूर्वतिर फैलिएका दाहालहरूमध्ये माहिलोका सन्तान पहिलेदेखि नै दरबारसँग निकट थिए । त्यसैले उनीहरूले पहिल्यैदेखि महत्त्वपूर्ण जिम्मेवारीहरू पाउँदै आएका थिए । दाहाल वंशावली (२०७५) अनुसार माहिलो खलकका नवौं पुस्ताका पनि माहिला धर्मानन्दका नाति हुन्, टक्सारी चन्द्रशेखर उपाध्याय ।

सुगौली सन्धिमा काठमाडौंमा इष्ट इण्डिया कम्पनीले र कलकत्तामा नेपालले आ–आफ्नो राजदूत राख्ने सहमति भएको थियो । सो सहमति अनुसार पहिलो अङ्ग्रेज राजदूतको रूपमा लेफ्टिनेन्ट बायलु काठमाडौं आइपुगे । उनलाई काजी बख्तावरसिंह बस्न्यातको घरमा राखियो, जहाँ अहिले बेलायती र भारतीय राजदूतावास रहेको छ । यस्तै नेपाली राजदूतको रूपमा कलकत्तामा चन्द्रशेखर उपाध्यायलाई पठाइयो । तर उनलाई इष्ट इण्डिया कम्पनीले राजदूतको नभई वकीलको मात्रै हैसियत दिएको थियो (आचार्य, २०५०ः४६) ।

झागाझोलीमा आवाद हुन पुगेका दाहालहरूमध्ये चन्द्रशेखर मात्रै होइन, कलकत्तामा लोकरमण उपाध्यायले पनि वकीलको जिम्मेवारीमा रहेर सेवा गरेका थिए । दाहाल वंशावली (२०७५) अनुसार नवौं पुस्ताका माहिला धर्मानन्दका नाति हुन्, चन्द्रशेखर । यस्तै कान्छा सत्यधरका पनाति हुन्, लोकरमण ।

चन्द्रशेखर उपाध्यायले प्रायश्चित्तका लागि झागाझोलीमा पाटी र गुठी स्थापना गर्दा प्रमाणका लागि राखेको शिलालेख (स्रोतः दीपक श्रेष्ठ)

नेपालमा कोतपर्वपछि लोकरमणलाई कलकत्ताबाट फिर्ता बोलाइयो । उनको ठाउँमा त्यो बेला शक्तिमा आएका जङ्गबहादुरका भाइ बमबहादुरलाई कलकत्ताको वकील बनाएर पठाइयो । यस सम्बन्धी पत्र योगी (२०५५ः१०७–८) ले प्रकाशमा ल्याएका छन् । पत्रको व्यहोरा यस्तो छः

स्वस्तिश्रीमन्महाराजधिराज कस्य रुक्का

आगे. वकील लोकरमण उपाध्यय प्रति तिमिले अघिदेषि पनी काम काज गरी आयाका हौ तिमिबाट वकीलीको काम होइ सकेन भनी तिमिलाई षोस्याको होइन यहाँ हंगमा परि सबै भारदार पर्न जाँदा तिमिले हाम्रा हजुरमा आई रहनुपर्‍यो तहाँको जो बुझाउनु पर्ने कुरा जो छन् वकिल मदनमोहन तेवारीलाई बुझाइ ताहाँ रोकसत भई चाडो हाम्रा हजुरमा आउन्या काम गर. आया पछी तिम्रा तलबका बाँकी रुपैया पनि याही पाउला. षाना दानाको पनी ठेगाना गरी वक्सौंला. इति सम्वत् १९०३ साल मिति कार्तिक सुदी ६ रोज २ शुभम् ।

दहगाउँबाट पूर्वतिर लागेका दाहाल बन्धुमध्ये झागाझोलीतिर गएका माहिला खलककै सन्ततिले राष्ट्रिय जीवनमा राम्रो नाम कमाए । एक जनाले त नेपालको संविधान नै लेखे ।
लोकरमण निःसन्तान रहे । उनले बंगाली महिलासँग पनि विवाह गरेका थिए । तर त्यतातिरबाट पनि सन्तान भएनन् । उनलाई भाइ गिरिजानन्दका छोरा देवकीनन्दले पाले । दाहाल वंशावली (२०७५) अनुसार उनै देवकीनन्दका पनाति हुन्, शैलेन्द्रकुमार उपाध्याय र महेशकुमार उपाध्याय । तीमध्ये राजनीतिमा लागेका शैलेन्द्र परराष्ट्रमन्त्रीसम्म भए । प्रौढावस्थामा सगरमाथा आरोहण गर्न जाँदा उनी उतै बिते । उनका भाइ महेश अञ्चलाधीश हुँदै त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसम्म भए । उनी जीवितै छन् ।

लोकरमणका भाइ, ईश्वरदत्ततिरका सन्तति हुन्, विश्वनाथ उपाध्याय र केदारनाथ उपाध्याय । यी सहोदर दाजुभाइ प्रधानन्यायाधीश भए । तीमध्ये २०४७ सालको संविधान निर्माता हुन्, विश्वनाथ । ईश्वरदत्ततिरकै सन्ततिका कमलप्रसाद बीपी कोइरालाका ससुरा । उनी तौलिहवाका सुब्बा थिए । यही वंशलताका गिरिजानन्दतिरका सन्तति हिराबाबुका भाञ्जा हुन्, पूर्वप्रधानमन्त्री तथा सन्त नेता कृष्णप्रसाद भट्टराई । पूर्वतिर फैलिएका दाहालबन्धुमध्ये नुवाकोट, झिल्टुङका दाहालका भाञ्जा हुन्, महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि ।

सन्धिपछि चन्द्रशेखरको प्रायश्चित्त

कुनै गौरवबोधले गरिएको सन्धि थिएन, सुगौली सन्धि । युद्ध हारेपछि गरिएको सन्धि थियो, त्यो । राजधानी काठमाडौं भ्याउने गरी मकवानपुरबाट बढ्न लागेका अङ्ग्रेजलाई रोक्न बाध्यात्मक रूपमा गरिएको यो सन्धिका लागि राजा गीर्वाणयुद्धविक्रम शाहबाट अख्तियारी पाएपछि राजगुरु गजराज मिश्रका साथ सक्रिय थिए, टक्सारी चन्द्रशेखर उपाध्याय । उनै मिश्रका साथ चन्द्रशेखरले सन्धिपत्रमा हस्ताक्षर गरेको प्रसङ्ग माथि परिसकेको छ ।

सन्धिपछि नेपालले बडो दुःखले आर्जेको एक तिहाइ भूभाग गुमाउनुपर्‍यो । यसबाट टक्सारी चन्द्रशेखर आफू निकै दुःखी भए । सन्धिमा हस्ताक्षरपछि पापमोचनका लागि उनी प्रायश्चित्ततिर लागे । उनी सुगौली सन्धिपछि केही समय नेपाली वकीलका हैसियतमा कलकत्ता बसेको प्रसङ्ग माथि परिसकेको छ ।

चन्द्रशेखर उपाध्यायले स्थापना गरेको पाटी (स्रोतः दीपक श्रेष्ठ)

सक्रिय जीवनपछि सेवानिवृत्त भई झागाझोली नै फर्के । त्यहाँ उनले प्रायश्चित्तका लागि एउटा पाटी बनाएर गुठी पनि राखे । दाहाल वंशावली (२०७५) मा उल्लेख भए अनुसार प्रायश्चित्त स्वरुप झागाझोलीमा पाटी बनाई शिलालेख राखे । ब्राह्मण भोजन गराउन परेवाडाँडाको २० मुरी खेत गुठी पनि राखे ।अहिले पनि चन्द्रशेखरलाई सम्झाउँदै उक्त पाटी र शिलालेख ठडिएकै छ । गुठी पनि चलिरहेकै छ ।

लेखक
राजकुमार दिक्पाल

राजकुमार दिक्पाल इतिहासमा रुचि राख्ने सञ्चारकर्मी हुन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?