News Summary
Generated by OK AI. Editorially reviewed.- बेल्जियम राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक रुडी गार्सियाले आफ्नो पदबाट बिदा लिने भएका छन्।
- बेल्जियम फुटबल संघले जुलाई ३१ मा सकिने ६२ वर्षीय प्रशिक्षक गार्सियाको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ।
- प्रशिक्षक गार्सियाको नेतृत्वमा बेल्जियमले फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो।
५ साउन, काठमाडौं । बेल्जियम राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक रुडी गार्सियाले पद छाड्ने भएका छन् । बेल्जियम फुटबल संघ (आरबीएफए) ले जुलाई ३१ मा सकिने उनको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको हो ।
६२ वर्षीय फ्रान्सेली प्रशिक्षक गार्सियाले सन् २०२५ को सुरुआतमा बेल्जियमको जिम्मेवारी सम्हालेका थिए । उनको नेतृत्वमा बेल्जियमले फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो ।
क्वार्टरफाइनलमा बेल्जियम च्याम्पियन स्पेनसँग २–१ ले पराजित भएको थियो । प्रतियोगिताभर स्पेनविरुद्ध गोल गर्ने एकमात्र टोली पनि बेल्जियम नै बनेको थियो । चार्ल्स डे केटेलारेले स्पेनविरुद्ध गोल गरेका थिए ।
बेल्जियम फुटबल संघले सार्वजनिक गरेको विज्ञप्तिमा गार्सियाले पछिल्लो १८ महिनाको सफल यात्रालाई निरन्तरता नदिने निर्णय गरिएको बताएका छन् ।
‘बेल्जियमलाई नेसन्स लिगको ए डिभिजनमा कायम राख्न र विश्वका उत्कृष्ट आठ टोलीमध्ये एक बनाउन पाएकोमा गर्व छ । खेलाडी, खेल निर्देशक भिन्सेन्ट मानार्ट र विश्वकपभर साथ दिने समर्थकप्रति म आभारी छु। नयाँ पुस्ताको निर्माण प्रक्रिया सुरु गर्न पाएकोमा पनि खुसी छु’ गार्सियाले भने ।
गार्सियाले बेल्जियमको प्रशिक्षकका रूपमा २० खेल सम्हालेका थिए । यस अवधिमा बेल्जियमले १२ जित, ६ बराबरी र २ हार बेहोरेको थियो ।
यसअघि उनले लिल, मार्से, लियोन र एएस रोमाजस्ता युरोपका चर्चित क्लबहरूको प्रशिक्षण सम्हालिसकेका छन् ।
प्रतिक्रिया 4