५ साउन, सिरहा । सिरहाको कल्याणपुर नगरपालिका-४ डरौलमा करिब २० वर्षदेखि वडा कार्यालय अगाडिबाट बग्दै आएको नहरको पानीको निकास करिब २५ दिनअघि बन्द गरिएपछि सिंगो गाउँ नै डुबान भएको छ ।
बेतो नदी तथा वर्षाको पानीले निकास नपाउँदा करिब २०० घरपरिवार र झन्डै २०० बिघा खेतीयोग्य जमिन प्रभावित भएको स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार परमेश्वरी चौधरी, बिक्रु कलवार र भगती यादव (मलुका)को जमिनबाट वर्षौंदेखि नहरको पानी निकास हुँदैआएको थियो । त्यहाँ रहेको निाकस बन्द गरिएपछि वर्षाको पानी गाउँभरि जम्न थालेको हो ।
डुबानका कारण धान रोप्न नपाएको र खेतीयोग्य जमिन बाँझो रहने अवस्था आएको स्थानीयले गुनासो गरेका छन् । घर-आँगनमा पानी जम्दा दैनिक जनजीवन पनि प्रभावित बनेको छ, भने आवतजावतमा समस्या बढ्दैगएको छ ।

वर्षौंदेखि त्यहीँबाट पानी बग्दैआएको थियो । अहिले निकास बन्द भएपछि गाउँ नै डुबानमा परेको छ,’ स्थानीय विहारी यादवले भने, ‘घरभित्र पानी पस्न थालेको छ, खेतीबाली नष्ट हुँदैगएको छ ।’
अर्का स्थानीय राजेश यादवले २० औं वर्षदेखिको निकास केही व्यक्तिले पहुँचको भरमा बन्द गरिदिँदा सिंगो गाउँले दु:ख पाएको बताए ।
खर्की स्थानीय सितादेवी महराले पटक–पटक सरोकारवाला निकायमा जानकारी गराउँदा कुनै ठोस पहल नभएको गुनासो गरिन् । ‘पानीको निकास तत्काल खुलाइएन भने अझ ठूलो क्षति हुनेछ,’ उनले भनिन् ।
मजदुरी गरेर खानेको कसैले नसुन्ने भन्दै उनको गुनासो छ ।
‘घरभित्र पानी पस्दा खाना पकाउनसमेत समस्या भएको छ । चार कठ्ठा खेतीयोग्य जमिन डुबानमा परेको छ । वडा अध्यक्षलाई भन्दा ‘मबाट हुँदैन’ भन्ने जवाफ आउँछ,’ अर्की स्थानीय सवित्री महराले भनिन् ।
यता, कल्याणपुर नगरपालिका–४ का वडा अध्यक्ष परजित यादवले नागरिकको समस्यालाई गम्भीर रूपमा लिएर सबै तहमा पहल भइरहेको बताए । उनले यसबारे नगरपालिका, जिल्ला प्रशासन कार्यालय र संघीय सांसदहरू पुरुषोत्तम यादव र तपेश्वर यादवलाई समेत जानकारी गराइएको बताए ।
जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले प्रशासनले समस्या समाधानका लागि समन्वय गरिरहेको जानकारी दिए । ‘वर्षौंदेखि बगिरहेको नहर पुन: सञ्चालन गराउने प्रयास भइरहेको छ । जग्गाधनी, स्थानीय तथा जनप्रतिनिधिसँग समन्वय गरेर निकास खुलाउने पहल भइरहेको छ,’ उनले भने ।
स्थानीयवासीले नहरको मुहान तत्काल खुलाएर पानीको सहज निकासको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । ढिलाइ भए डुबानको समस्या अझ गम्भीर हुने भन्दै उनीहरूले तत्काल स्थलगत अनुगमन गरी प्रभावकारी समाधान गर्न पनि आग्रह गरिरहेका छन् ।
प्रतिक्रिया 4