News Summary
Generated by OK AI. Editorially reviewed.- एसीसी महिला यू–१९ प्रिमियर कपमा ऐतिहासिक प्रदर्शन गरेकी साबित्री धामीलाई अमरावती बुटिक होटलले ५० हजार नगदसहित सम्मान गरेको छ।
- धामी प्रतियोगिताभर २५६ रन जोड्दै सर्वाधिक रनकर्ता बनेकी थिइन् भने लगातार तीन अर्धशतक प्रहार गर्ने पहिलो नेपाली महिला खेलाडीको कीर्तिमान कायम गरिन्।
- धामीको उत्कृष्ट ब्याटिङ प्रदर्शनकै कारण नेपालले एसीसी महिला यू–१९ एसिया कपमा स्थान सुरक्षित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ।
६ साउन, काठमाडौं । एसीसी महिला यू–१९ प्रिमियर कप २०२६ मा गरेको ऐतिहासिक प्रदर्शनको कदर गर्दै अमरावती बुटिक होटलले साबित्री धामीलाई नगदसहित सम्मान गरेको छ ।
बुधबार आयोजित सम्मान कार्यक्रममा अमरावती बुटिक होटलले धामीलाई नगद ५० हजार प्रदान गर्दै सम्मान गरेको हो ।
धामीले एसीसी महिला यू–१९ प्रिमियर कप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताकी सर्वाधिक रनकर्ता बन्न सफल भएकी थिइन् । उनले प्रतियोगिताभर तीन अर्धशतक प्रहार गर्दै २५६ रन जोड्दै नेपाली महिला यू–१९ क्रिकेटको इतिहासमा नयाँ कीर्तिमान कायम गरिन् ।
उनले प्रतियोगितामा लगातार तीन अर्धशतक प्रहार गर्दै नेपाली महिला क्रिकेट इतिहासमै लगातार तीन अर्धशतक बनाउने पहिलो खेलाडीको रूपमा इतिहास रचेकी छन् । प्रतियोगितामा उनको उत्कृष्ट व्यक्तिगत स्कोर अपराजित ७८ रन रह्यो, जुन उनले सिंगापुर यू–१९ महिला टोलीविरुद्ध बनाएकी थिइन् ।
सबित्री धामीले आफ्नो मेहनत र प्रदर्शनको कदर गर्दै सम्मान गरेकोमा अमरावती बुटिक होटल परिवारप्रति हार्दिक आभार व्यक्त गरिन् । उनले उक्त सम्मानले आगामी दिनमा अझ मेहनत गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको नाम थप उँचो बनाउन प्रेरणा मिलेको बताइन् । साथै उनले उक्त सम्मान आफ्ना प्रशिक्षक, टोलीका साथीहरू, परिवार तथा सम्पूर्ण नेपाली क्रिकेट समर्थकहरूलाई समर्पण गर्दै भविष्यमा पनि देशका लागि उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
त्यसैगरी, अमरावती बुटिक होटलका प्रबन्ध निर्देशक कुशल श्रेष्ठले सबित्री धामीको उपलब्धिलाई व्यक्तिगत सफलताभन्दा पनि नेपाली महिला क्रिकेटको इतिहासमा कोसेढुंगा सावित हुने बताए । उनले प्रतियोगिताकी सर्वाधिक रनकर्ता बन्दै लगातार तीन अर्धशतक प्रहार गरेर इतिहास रचेकी धामीको प्रदर्शन सम्पूर्ण नेपाली क्रिकेटका लागि प्रेरणादायी रहेको बताए । श्रेष्ठले यस्ता प्रतिभावान खेलाडीहरूलाई सम्मान गर्न पाउँदा गर्व लागेको उल्लेख गर्दै भविष्यमा पनि नेपाली खेलकुद, विशेषगरी महिला क्रिकेटको विकास र खेलाडीहरूको मनोबल अभिवृद्धिका लागि अमरावती बुटिक होटल निरन्तर सहकार्य र समर्थनमा रहने प्रतिबद्धता जनाए ।
उनको उपलब्धिको सम्मानस्वरूप अमरावती बुटिक होटलले प्रदान गरेको सम्मानले युवा खेलाडीहरूलाई थप प्रेरणा मिल्ने विश्वास गरिएको छ ।
धामीले प्रतियोगिताभर उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै नेपाललाई एसीसी महिला यू–१९ एसिया कपमा स्थान बनाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरिन् । जापानविरुद्धको क्वार्टरफाइनलमा उन ४१ रनको योगदानले नेपालले जित दर्ता गर्दै एसीसी महिला यू–१९ एसिया कपमा स्थान सुरक्षित गरेको थियो। प्रतियोगितामा नेपालले इन्डोनेसियामाथि ९ विकेटको प्रभावशाली जित निकाल्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको थियो ।
प्रतिक्रिया 4