+
+
Shares

राहुल गान्धी धर्नामा बस्नेबित्तिकै मोदी सरकारका मन्त्री तुरुन्तै किन पुगे? 

प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री जितेन्द्र सिंहलाई सरकारका तर्फबाट राहुल गान्धीसँग वार्ता गर्न आधिकारिक जिम्मेवारी दिइएको थियो।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ६ गते २१:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राहुल गान्धी मङ्गलवार नयाँ दिल्लीस्थित प्रधानमन्त्री निवास बाहिर अचानक धर्नामा बसेपछि मोदी सरकारले वार्ताका लागि मन्त्री जितेन्द्र सिंहलाई पठाएको छ।
  • नीट पेपर लीकको विषयमा संसद्मा छलफल गर्न सरकार तयार भएको भन्दै सरकार दबाबमा परेको राजनीतिक विश्लेषकहरूले उल्लेख गरेका छन्।
  • विपक्षी नेताले प्रधानमन्त्री निवासबाहिर प्रदर्शन गर्दा सरकारले देखाएको विनम्रतालाई सार्वजनिक धारणामा सरकार कठघरामा उभिएको सङ्केतका रूपमा हेरिएको छ।

६ साउन, काठमाडौं । राहुल गान्धी मङ्गलवारका दिन अचानक नयाँ दिल्लीको ७ लोक कल्याण मार्गस्थित प्रधानमन्त्री निवास बाहिर धर्नामा बसे। राहुलको यो योजनाको कसैलाई पनि कल्पना पनि  थिएन। राहुल गान्धी धर्नामा बसेपछि मात्र मिडियाले जानकारी पाए।

विपक्षका धेरैजसो नेता सीजेपी र सोनम वाङ्गचुकको विरोध प्रदर्शनमा सहभागी हुन जन्तर मन्तर जाँदै थिए। त्यतिबेला राहुलले ७ लोक कल्याण मार्गमा बस्ने निर्णय गरे।

मङ्गलवारका दिन एनसीपी (शरद पवार गुट) का प्रमुख शरद पवार र आम आदमी पार्टीका नेता अरविन्द केजरीवाल जन्तर-मन्तर पुगेका थिए। उनीहरूले प्रदर्शनकारीहरूसँग भेटघाट गरे।

सुप्रिया सुले भने ७ लोक कल्याण मार्ग पुगिन्। त्यहाँ राहुल गान्धी र प्रियंका गान्धी धर्नामा बसेका थिए। पछि राहुल, प्रियंका र कांग्रेसका अन्य सांसदहरूलाई नियन्त्रणमा लिएर त्यहाँबाट लगियो।

सबैभन्दा महत्त्वपूर्ण कुरा, मोदी सरकार राहुल गान्धीसँग तुरुन्तै वार्ता गर्न पुग्यो। नरेन्द्र मोदी सन् २०१४ मा प्रधानमन्त्री बनेका थिए। त्यसपछि विपक्षको विरोधमा सरकार यसरी सक्रिय भएको विरलै देखिएको छ।

प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री जितेन्द्र सिंहलाई सरकारका तर्फबाट राहुल गान्धीसँग वार्ता गर्न आधिकारिक जिम्मेवारी दिइएको थियो।

जितेन्द्र सिंहले सरकार नीट पेपर लीक र सोमवार सीजेपीको नेतृत्वमा निकालिएको प्रदर्शन मार्चका क्रममा प्रशासनको व्यवहारबारे छलफल गर्न तयार रहेको बताए।

शुरुमा सहमति जनाए पनि राहुल गान्धी पछि हटेको जितेन्द्र सिंहले बताए।

दिल्ली पुलिसले राहुल गान्धीलाई ७ लोक कल्याण मार्गबाट हटाएको थियो। त्यसपछि उनीहरूले नियन्त्रणमा लिएका थिए।

सरकारको यो ‘विनम्रता’ किन ? 

जितेन्द्र सिंहले भने, “हामी त्यहाँ पुग्दा मैले धेरै विनम्रता र सम्मानका साथ राहुल गान्धीलाई अनुरोध गरेँ। यो विरोध जनाउने उचित तरिका होइन। यदि सरकार संसद्मा नीट परीक्षा, पेपर लीक र यससँग जोडिएका सबै मुद्दामा छलफल गर्न तयार छ भन्ने आश्वासन दिइन्छ भने आफू यो धर्ना स्थगित गर्न तयार रहेको उनले बताए।”

मोदी सरकारको यो विनम्रतालाई धेरै राजनीतिक विश्लेषकहरूले धेरै महत्त्वपूर्ण मानेका छन्।

पञ्जाब युनिभर्सिटीका राजनीति शास्त्रका प्रोफेसर आशुतोष कुमारका अनुसार संसद्मा बहसका लागि तुरुन्तै तयार हुनुले सरकार दबाबमा रहेको देखाउँछ।

प्रोफेसर आशुतोष कुमार भन्छन्, “सरकार दबाबमा छ। भारतको जनसाङ्ख्यिकी हेर्दा युवाको सङ्ख्या धेरै छ। युवाले भोट पनि गर्छन्। युवा नै मोदीको समर्थक रहँदै आएका छन्। तर अब स्थिति बदलिएको देखिन्छ। बीजेपीलाई भोट गुम्ने डर छ। नीट मध्यम वर्गको मुद्दा हो। यो २० देखि २५ प्रतिशत छ र मोदी समर्थक रहँदै आएको छ।”

“मध्यम वर्ग धेरै महत्त्वाकाङ्क्षी छ। सरकारको तत्कालको प्रतिक्रिया विपक्षप्रति माया होइन। यो उनीहरूको आफ्नो डर हो। ‘न खाऊंगा न खाने दूंगा’ भन्ने त्यो भ्रम टूट्दै गएको देखिन्छ। यो छविमा धक्का लागेको छ। धेरै भ्रममा रहन सकिँदैन भन्ने कुरा अब सरकारले बुझ्नुपर्ने भएको छ।”

“सरकारका लागि यो ‘वेकअप कल’ हो। पेपर लीकबाट सहरी र मध्यम वर्गलाई नोक्सान भएको छ। समर्थ र बलियो सरकारको छवि कमजोर भएको छ। सरकार अब बहस गर्न पनि तयार छ।”

राहुल गान्धीको विरोध प्रदर्शनलाई सोमवार साँझ भारतका सबै टिभी च्यानलहरूले प्राथमिकताका साथ देखाए। भारतमा जनमत निर्माणमा टिभी च्यानलहरूको महत्त्वपूर्ण भूमिका हुने बताइन्छ।

राहुल गान्धीले सीजेपीको जन्तर मन्तरमा आयोजित विरोध प्रदर्शनभन्दा फरक ठाउँ रोजे।

मोदी सरकारको रणनीति 

मङ्गलवार साँझ वरिष्ठ पत्रकार राजदीप सरदेसाईले एक्समा लेखे, “यो ती दुर्लभ दिनहरू मध्ये एक हो। राहुल गान्धी लगभग हरेक समाचार बुलेटिनको केन्द्रमा छन्। यस पटक फरक कुरा के छ भने विपक्ष होइन, सरकार बचाउको अवस्थामा छ र प्रश्नहरूको जवाफ दिइरहेछ।”

प्रोफेसर आशुतोष कुमारलाई तत्कालको वार्ता उनीबाट हटाउने सरकारको रणनीति पनि हुन सक्ने लख काट्छन् ।

आशुतोष भन्छन्, “मिडियामा राहुलका कुराहरू आउन थालेका थिए। मोदीले यो धेरै दिनसम्म हुन दिन सक्दैनथे। अझै पूरा खेल बाँकी छ।”

वरिष्ठ पत्रकार राजदीप सरदेसाई सार्वजनिक धारणामा सरकार कठघरामा उभिएको मान्छन्। यो धेरै महत्त्वपूर्ण कुरा हो।

राजदीप सरदेसाईले बीबीसी हिन्दीसँग भने, “संसद्को सत्र चलिरहेको छ। सीजेपीको संसद् मार्चमा ठूलो भिड सरकारले देखिसकेको छ। विपक्षका नेता प्रधानमन्त्री निवास बाहिर बसे। यस्तो अवस्थामा मिडिया धेरै दिनसम्म सरकारको साथमा उभिन सक्दैन। सार्वजनिक धारणामा सरकार कठघरामा छ। यस्तो अवस्थामा सरकार वार्ताका लागि पनि तयार छैन भन्ने देखिन सक्दैन।”

राजदीप सरदेसाई भन्छन्, “सरकारले वार्ता गर्नुपर्यो। आजको जमानामा धारणा धेरै महत्त्वपूर्ण हुन्छ। त्यसैले नड्डाजी सीजेपीका प्रवक्ताहरूलाई भेटे। जितेन्द्र सिंह राहुल गान्धीसँग वार्ता गर्न पुगे।”

“नरेन्द्र मोदीको छवि कमजोर भयो भनेर म भन्दिनँ। चुनाव त बीजेपीले नै जितिरहेको छ। मानिसहरूमा थकान छ भन्ने कुरा भने निश्चित छ। मानिसहरूसँग प्रश्नहरू छन्। जेन जीले होस सम्हालेपछि नरेन्द्र मोदीबाहेक अरू कसैलाई प्रधानमन्त्रीका रूपमा देखेका छैनन्। मानिसहरूको थकान आक्रोशमा परिणत हुन्छ वा हुँदैन भन्ने कुरा अझै स्पष्ट छैन।”

राहुलले जन्तर मन्तरको सट्टा ७ लोक कल्याण मार्ग किन रोजे? 

सोमवार सीजेपीको संसद् मार्चमा ठूलो भिड जम्मा भएको थियो।

सीजेपीभन्दा पहिले राहुल गान्धीले पनि नीट पेपर लीकको मामिलामा अभियान शुरू गरेका थिए। सीजेपीको आन्दोलनसँग भने मानिसहरू धेरै जोडिए।

यो कुरा राहुल गान्धी र कांग्रेसका लागि असजिलो बनाउने खालको थियो। अभिजीत दीपकेको विगत आम आदमी पार्टीसँग पनि जोडिएको छ। उनी राहुल गान्धीको भारत जोडो यात्राका विरुद्ध व्यङ्ग्य पनि गर्दथे।

प्रोफेसर आशुतोष कुमारका अनुसार राहुल गान्धी आफ्नो मुद्दाको लडाइँको श्रेय अरू कसैलाई दिन चाहँदैनथे। अभिजीतको आपसँगको विगतले कांग्रेसलाई असजिलो पनि बनाउँछ।

राजदीप सरदेसाई भन्छन्, “सोमवारको संसद् मार्चमा सीजेपीको ठूलो हात थियो। सीजेपीमा एउटा नयाँपन थियो। अर्कोतर्फ यो मुद्दा त कांग्रेसले उठाएको थियो भन्ने राहुल गान्धीलाई लाग्न थाल्यो। आम आदमी पार्टी पहिलो दिनदेखि नै सीजेपीलाई समर्थन गरिरहेको छ। सीजेपीलाई आम आदमी पार्टीले टेकओभर गर्छ भन्ने कांग्रेसलाई लाग्छ। यस्तो अवस्थामा कांग्रेसले टेकओभर हुनुअघि नै अर्को मोर्चा खोल्यो।”

राजदीप भन्छन्, “विपक्षको नेताले प्रधानमन्त्रीको घरबाहिर प्रदर्शन गरेमा मिडियाले कभरेज दिनैपर्छ। यसको फाइदा पनि भयो। मिडियाले यसलाई उपेक्षा गर्न सक्दैनथ्यो।”

नरेन्द्र मोदी सत्तामा आएदेखि नै राहुल गान्धी उनलाई चुनौती दिन सक्षम छन् वा छैनन् भन्ने प्रश्न लगातार उठिरहेको छ।

संसद्को मनसुन सत्र शुरू हुनुअघि प्रधानमन्त्री मोदीले राहुल गान्धीमाथि निशाना साधेका थिए।

राहुल विरुद्ध आलोचनाहरू 

राहुल गान्धीका विरुद्ध मुख्य रूपमा दुई वटा आलोचना गरिन्छ। पहिलो कुरा उनी एउटा राजनीतिक घरानाबाट आउँछन्। भारतको राजनीति अब वंशवादबाट अघि बढिसकेको बताइन्छ । यसमा साधारण पृष्ठभूमिबाट आएका नेताहरूको उदय भएको छ। नरेन्द्र मोदीलाई यसको सबैभन्दा प्रमुख उदाहरणका रूपमा हेरिन्छ।

दोस्रो आलोचना राहुल गान्धी राजनीतिक रूपमा धेरै प्रखर छैनन् भन्ने गरिन्छ। कांग्रेस पार्टीले या त उनका यी कमीहरू देख्न सक्दैन वा केही नेताहरूले यो कुरा बुझे पनि पार्टी सामूहिक रूपमा राहुल गान्धीका साथै सोनिया गान्धी र प्रियंका गान्धीलाई नेतृत्व र विशेषाधिकारको स्थितिबाट हटाउने अवस्थामा छैन भन्ने तर्क दिइन्छ।

हालै यो राजनीतिक तर्कलाई इतिहासकार रामचन्द्र गुहाबाट महत्त्वपूर्ण बौद्धिक समर्थन मिलेको थियो। गुहा लामो समयदेखि नरेन्द्र मोदीका प्रखर आलोचक रहँदै आएका छन्। उनी भारतका सबैभन्दा सम्मानित इतिहासकार र चिन्तकहरूमा गनिन्छन्।

द टेलिग्राफमा प्रकाशित आफ्नो एउटा लेखमा गुहाले गान्धी परिवारलाई मोदीको पक्षमा रहेको बताएका थिए। गुहाको सबैभन्दा तिखो आलोचना राहुल गान्धीलाई लिएर छ। राहुल एक राम्रा मानिस हुन् भन्ने कुरा भने उनले स्वीकार गरेका छन्।

रामचन्द्र गुहाका आलोचनाहरू के-के हुन्? उनका अनुसार राहुल गान्धीमा अनुशासन, गम्भीरता र ठोस राजनीतिक अनुभवको अभाव छ।

राहुल गान्धीले अनुशासनको परिचय भारत जोडो यात्राका केही महिनाहरूमा मात्र दिएको गुहाको भनाइ छ। उनका अनुसार राहुल गान्धी मेहनत त गर्छन् तर निरन्तर गर्दैनन्। उनी बिच-बिचमा मात्र मेहनत गर्छन्।

यसको विपरीत बीजेपीमा उनका प्रतिस्पर्धीहरू नथाकीकन लगातार काम गरिरहन्छन्। राहुल गान्धीले जति ऊर्जा सोसल मिडिया प्लेटफर्म एक्समा खर्च गर्छन्, त्यति ऊर्जा आफ्नो पार्टीलाई तल्लो स्तरमा बलियो बनाउन लगाउनुपर्छ भन्ने गुहाको मान्यता छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?