+

लिग २ क्रिकेटमा नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

२०८३ साउन  ७ गते ९:२१ २०८३ साउन ७ गते ९:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ ।
  • युट्रेक्टमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।
  • लिग २ को अंकतालिकामा सुधार गर्दै शीर्ष स्थानमा उक्लिन नेपाललाई आजको जित निकै महत्वपूर्ण छ ।

७ साउन, काठमाडौं । नेदरल्यान्ड्समा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत शृङ्खलामा नेपालले आफ्नो दोस्रो खेलमा आज घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्दैछ ।

खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि युट्रेक्टमा सुरु हुनेछ । नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित यस शृखंलामा घरेलु टोलीको भने यो पहिलो खेल हो ।

नेपाल यसअघि आफ्नो पहिलो खेलमा नामिबियासँग पराजित भएको थियो । पहिलो खेलमा पराजित भएकोले नेपाललाई लिग २ को शीर्ष चारमा रहने सम्भावना कायमै राख्न आज नेदरल्यान्ड्स विरुद्धको खेल जित्नुपर्ने चुनौती छ ।

पहिलो खेलमा नेपालको शीर्ष अर्डर चल्न नसक्दा नेपाल १५७ रनमै अलआउट भएको थियो । नेपालविरुद्धको जितले नामिबियाले भने नेपाल समान अंक जोडेको छ ।

आठौं शृखंला खेलिरहेको नेपाल २९ खेलबाट २४ अंकसहित पाँचौं स्थानमा छ । नेपालका लागि अब शृखंलाको बाँकी तीन खेलसँगै यसपछिको अन्तिम शृङ्खला महत्त्वपूर्ण रहेको छ । २९ खेलबा६ नेपाल समान अंक जोडेको नामिबिया रनरेटमा नेपाल भन्दा पछि छ ।

लिग २ को शीर्ष ४ मा पर्न सके नेपाल ओडीआई विश्वकपको छनोटमा सिधै प्रवेश गर्नेछ । यस्तै शीर्ष ६ मा परे ओडीआई स्टाटस जोगिने पक्का हुन्छ ।

नेदरल्यान्ड्स २८ खेलबाट ३२ अंकसहित तेस्रो स्थानमा छ ।

नेपालले स्कटल्यान्डमा भएको लिग २ मा पछिल्लो पटक नेदरल्यान्ड्ससँग खेल्दा दुवै खेल जितेको थियो । त्यसैले नेपालसामु नेदरल्यान्ड्स विरुद्धको लय कायम राख्ने र विदेशी मैदानमा पनि राम्रो प्रदर्शन गर्ने दुवै चुनौती छ ।

नेपालले अहिलेसम्म नेदरल्यान्ड्ससँग ओडिआईमा ७ खेल खेल्दा ४ खेल जितेको छ भने नेदरल्यान्ड्सले ३ खेल जितेको छ ।

नेदरल्यान्ड्ससँग नेपालको विशेष क्षण समेत जोडिएको छ । सन् २०१८ मा नेपालले आफ्नो पहिलो ओडिआई शृखंला नै नेदरल्यान्ड्समा गएर खेलेको थियो । जहाँ पहिलो खेलमा नेदरल्यान्ड्स विजयी भएको थियो भने दोस्रो खेलमा नेपालले १ रनको रोमाञ्चक जित हात पारेको थियो ।

यस्तै सन् २०२४ फेब्रुअरीमा लिग २ अन्तर्गत काठमाडौंमै भएको शृखंलामा नेपाल र नेदरल्यान्ड्सले एक-एक खेल जितेका थिए । सन् २०२३ मा जिम्बाव्वेको हरारेमा भएको ओडिआई विश्वकप क्वालिफायरमा नेदरल्यान्ड्स विजयी भएको थियो ।

नेपालको टोली : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, विनोद भण्डारी, इशान पान्डे, भीम सार्की, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी, सन्दीप लामिछाने, अर्जुन कुमाल

नेदरल्यान्ड्सको टोली : स्कट एडवार्ड्स (कप्तान), म्याक्स ओ’डोड, सेड्रिक डे लान्ज, विक्रमजित सिंह, बास डे लिड, नोह क्रोएस, साकिव जुल्फिकर, लोगान भान बिक, रोलोफ भान डेर मर्वे, कायन क्लेइन, राएन क्लेइन, आर्यन दत्त, एलेक्स रोए, टिम प्रिन्जल,  जाच लायन-क्याचेट

नेपाली क्रिकेट टोली लिग २ क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय